0
गोल्डेन न्यूज संवाददाता
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मिनी सम्मेलन सोमबारदेखि पोखरामा सुरु भएको छ । आफ्नो स्थापानको तीन दशकपछि सार्कलाई गति दिने भन्दै दुई वर्षमा एक शिखर सम्मेलन गर्ने नीति १८ औं शिखर सम्मेलनले लिएको थियो । त्यसको एक बर्षपछि मिनी सम्मेलन सुरु भएको हो । शिखर सम्मेलनपछिको मध्यावधि समिक्षा गर्न सबै सदस्य मुलुकलाई सहमत गराएर सार्कको वर्तमान अध्यक्ष नेपालले यो सम्मेलन आयोजना गरेको हो । पोखरामा भाग लिन अन्य सात मुलुकका अधिकारीहरु आउने क्रम जारी छ । कतिपय हवाई मार्गबाट पोखरा गएका छन भने कतिपय राजधानीमा आई सडक मार्गबाट पोखरा गइरहेका छन् । हामी दक्षिण एसियाली हौ भन्ने बाहेक खासै उपलब्धी हात पार्न नसकेको सार्कको यो विदेशमन्त्री स्तरीय अर्थात इन्टर समिटले गत शिखर सम्मेलनमा भएका प्रतिवद्धता कहाँ पुगे भन्नैमा नै छलफल गर्ने हो,’ मन्त्रालयका अधिकारीहरुले बताए । यसपटक सार्क किन अघि बढ्न सकेन भन्नेमा पनि सदस्य राष्ट्रहरुले आ–आफ्नो धारणा राख्नेछन् । जुन ऊर्जाको साथ १८ औं शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको थियो, त्यो अनुरुपको काम हुन नसकेको गुनासो अधिकारीहरु बताँउछन् ।  ती अधिकारका अनुसार सार्कको सामुन्ने यतिबेला देखाउन सकिने र मिल्ने कुनै ‘उल्लेखनीय उपलब्धि’ छैन् । विश्वका रहेका सयौं अन्तर सरकारी स्तरको क्षेत्रीय संगठनमा सार्क एक असफल संस्थाको रुपमा चित्रण हुँदै गएको अवस्थामा यसको कार्यावन्यन पक्षमा जुट्न सबै लाग्नुपर्ने विज्ञहरुको सुझाव छ । जुन उद्देश्यका निम्ति सार्क स्थापित थियो त्यो उद्देश्यमा कति अघि बढेको छ त्यसको समिक्षा विदेशमन्त्री स्तरीय बैठकमा हुन जरुरी छ । सार्क महाशाखा प्रमुख तथा कार्यक्रम समितिका अध्यक्ष मणि भट्टराईभन्छन, ‘यसअघि भएका प्रतिवद्धता अनुरुपको कामलाई कसरी अघि बढाउने भन्ने विषयमा नै छलफल केन्द्रित छ । विभिन्न प्रतिवेदन पेस हुने र आगामी दिनमा गर्नपर्ने कार्यहरुको तालिका तय गर्ने । शिखर सम्मेलनको टुंगो लगाउने । अघि बढाउने भनिएका कार्यक्रम किन बढेन भन्नेमा छलफल गर्ने हो ।  सार्कको गतिविधि प्रायः शिखर सम्मेलनमा मात्र देखिने भनिरहेको अवस्थामा यो बैठकले बीचमा समिक्षा  गर्ने गर्छ । सार्क स्थापनामा सक्रिय भूमिका निर्वाह गरेको नेपाल अध्यक्ष रहेको अवस्थामा केही गरौ भन्ने भावनाले अघि बढेको भनिए पनि मुलुकको आन्तरिक कारणले पनि प्रभावित गर्दै आएको थियो । सार्कको मुख्यालय काठमाडौंमा छ भने नेपाल अध्यक्ष रहेकै अवस्थामा सार्कको महासचिव पनि नेपालबाट छन् । यो समयमा धेरै काम गर्न सकिने थियो, तर काम अघिबढ्न नसकेको छैन भन्नेमा परराष्ट्र अधिकारीहरु बताउछन । १८ औं शिखर सम्मेलनपछि के भयो भनेर खोज्ने हो भने समिक्षा गर्ने विषय छैन तर पनि राख्नै पर्ने भएकोले सरकारले यो बैठक राखेको हो, एक अधिकारीले बताए ।  हरेक शिखर सम्मेलनका प्रतिबद्धता घोषणापत्रका रुपमा बाहिर आउछ त्यसको हरेक लाइन पढ्ने हो भने सार्क निकै माथि गएको र विश्वकै उत्कृष्ठ संगठन जस्तो देखिन्छ जुन ब्यवहारमा छैन् । गतबर्षको शिखर सम्मेलनमा ३६ बुँदे घोषणापत्र जारी भए तर त्यसको कार्यावन्यनको प्रक्रिया समेत अघि बढ्न सकेको छैन । सार्कमा निर्णय हुने तर कार्यावन्यनमा नआउने पुरानो परिपाटीलाई यो मिनि शिखर सम्मेलनले चिर्ने दावी परराष्ट्र अधिकारीहरुको छ । ‘अव सार्क घस्रिदैन, दौडिन्छ,’ सार्क हेर्ने एक अधिकारीले भने, ‘विहिबार हुने मन्त्री स्तरीय बैठकले आगामी यात्राको आधारहरु तय गर्नेछ । सार्कलाई आसियना र युरोपेली महासंघसंग स्तरमा पुग्ने लक्ष्य लिइएको पछिल्लो घोषणापत्रले देखाउछ तर कायावन्यन नहुदा त्यस्तो देखिदैन । पर्यवेक्षकको भूमिका स्पष्ट नहुनु, लगानी केमा गराउने भन्नेमा सदस्य राष्ट्र बीच तालमेल नहुनु पनि समस्या हो । विश्वमा अघि बढिसकेका संगठनहरु भन्दा पनि मजबुद आधार प्रतिवद्धता लिएर अघि बढेको सार्कमा हालसम्म एक हजार भन्दा बढी समान प्रकृतिका मुद्दामा आधारित सामुहिक प्रतिवद्धता जारी भए पनि त्यसमा सफलता मिलेको छैन । सन् १९८५ मा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान रहेकामा ९ वर्षअघि अफगानिस्तान थपिएको हो । यसमा आठ सदस्यसँगै नौ पर्यवेक्षकमा चीन, अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, मौरिसस, इरान, म्यानमार र इयू छन् । सार्क विकास बैंकको उपयोगिता हुन नसक्नु, खुलेका केन्द्रहरु बन्द र गाभ्ने काम गर्दै साघुरियाउनु, केन्द्र तथा अन्य कार्यालय राख्न सदस्य मुलुकबीच प्रतिशपर्दा हुनुले पनि यसको उल्लेखय प्रगति नहुनु हो ।
आपसी यातायात सञ्जाल सुदृढ पार्ने ‘भेहिकल एग्रिमेन्ट’ भएपनि कार्यावन्यनमा ढिलाई हुनु उर्जा हव, साझा ब्यापार, साझा सार्क भिसा, दुरसंचार, सडक तथा हवाई संजाल, आतंकबाद नियन्त्रणमा सहकार्य, लगायत कैयौ मुद्दामा काम अघि बढ्न सकेको छैन । बेरोजगारीको समस्या, विदेशीयका युवाहरुको साझा समस्या समाधानमा जोड दिन पनेृमा पनि सार्क अघि बढ्न जरुरी छ । युवा चार्टर, विभिन्न १६ एजेण्डागत समिक्षाले पनि यसलाईअघि बढाउने बताएकोले यसको कार्यावन्यनमा सदस्य लागि पर्ने संकेत देखिएको छ ।
पहिलो दिन चार प्रतिवेदन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को इन्टर समिटमा विभिन्न विषयगत चार प्रतिवेदनहरु प्रस्तुत भएका छन् । सदस्य राष्ट्रका सार्क मामिला हेर्ने सहसचिवस्तरको कार्यक्रम समितिको बैठकमा सार्क विश्वविद्यालय, विकास कोष, आर्विटेशन काउन्सील र रीजनल स्टायन्डर्ड अर्गानाइजेशनको कार्यक्रम प्रतिवेदन प्रस्तुत भएका हुन । बैठकको अध्यक्षता गरिरहेका सहसचिव मणि भट्टराइले पहिलो चरणमा पेश भएका चार एजेण्डामा छलफल आरम्भ भएपनि सर्वसम्मत निर्णयहरू भइनसकेको बताए । ‘यसअघिको ५१औं कार्यक्रममा समितिले गरेको बैठकको निर्णयको समीक्षा गर्दै कार्यान्वयन भए नभएको विषयमा छलफल भयो,’ उनले भने,–‘प्रस्तुत एजेण्डाहरूमा सर्वसम्मत निर्णय भइ सकेको छैन ।’ सार्क मुलुकअन्तर्गत शिक्षा, व्यापार, मध्यस्थता र क्षेत्रीय सहयोग आदानप्रदानका लागि संगठनहरू बीचको सहकार्य बारे आएका प्रतिवेदनमाथि छलफल थालिएको छ । सार्क युवाचार्टर लगायतको विषमया छलफलअघि बढेको छ । उनका अनुसार सोमबार प्रस्तुत विषयहरूबारे सहसचिवस्तरीय बैठक मंगलबार पनि हुनेछ । मंगलबार पनि विविध विषयमा छलफल भएर प्रतिवेदन बनाउने र बुधवार हुने स्थायी समितिको बैठकमा पेश गरिने भट्टराइले बताए । अन्तिम दिन विहीबार विदेश मन्त्रीस्तरीय बैठक भएर कार्यक्रम सकिनेछ । सूचना समन्वय अभाव मिनी सार्क बैठकको सूचना दिनका लागि यहाँ बैठकस्थलमा सूचना केन्द्र राखिएको छैन । बैठक सुरू भएको होटल ग्राण्डमा कडा सुरक्षाबीच सोमबार अधिकारीहरू ले विहान १० बजे पत्रकारलाई तस्बिर खिच्नका लागि ३ मिनेटमात्रै प्रवेश गर्न दिए । यसैगरि बैठकमा छलफल भएको विषयबारे जानकारी दिन साँझ ६ बजे बोलाएर सहसचिव भट्टराईले ३ मिनेटमा आफ्ना भनाइ सिध्याए ।  ‘पाहुनालाई समय दिन ढिला भयो’ भन्दै उनले सञ्चारकर्मी सँग दोहोरो सवालजवाफको मौका दिएनन् । पत्रकार सम्मेलनमा कुनै प्रेस नोट वितरण गरिएन । सहभागीका नामावली पनि वितरण गरिएको छैन् । यसैबीच राजधानी वाहिर पहिलो पटक पोखरामा आयोजना गरिएको सार्क विदेशमन्त्रीस्तरीय बैंठकको लागि सडक मर्मत, सजावट, स्वागतद्वार निर्माण, सरसफाई, बृक्षारोपण लगायतका काम गरियो । हतार–हतारमा बाटो चक्ल्याउनेदेखि होडिङवोर्ड हटाउने, विरुवा रोप्ने, गेट बनाउने काम भए। विमानस्थलदेखि कार्यक्रम स्थल पोखरा ग्राण्डसम्मको सडक फराकिलो बनाउने, सांग्रिला भिलेज रिसोर्ट छिर्ने भित्री बाटोको मर्मत सहित स्वागत गेट र अन्य सजावटमा झण्डै २० लाख रुपैयाँ खर्च भएको पोखरा उप–महानगरपालिकाले जनाएको छ । छोटो समय भएकाले हतार–हतारमा पूर्वाधार निर्माण तथा अन्य तयारी गर्दा जोखिम मोलेर काम गर्नु परेको उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले बताए । ‘यो बैंठककै लागि भनेर केन्द्रबाट छुट्टै बजेट प्राप्त भएन, पोखरा उप–महानगरपालिकाले आफ्नै स्रोत र साधनबाट सम्पूर्ण तयारी पूरा गरेको छ ,’ उनले भने –‘हामीले जोखिम लाई समेत मोलेर तयारी गरेका छौं।’ पोखरा उप–महानगरपालिकाले विभिन्न चार वटा स्थानमा स्वागतद्वार राखेको छ भने पत्रकार महासंघ कास्की, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद् लगायतका संस्थाले पनि छुट्टा छुट्टै स्वागतद्वार राखेका छन् । एउटा स्वागतद्वार निर्माण गर्दा कम्तिमा पनि १५ हजार रुपैयाँ खर्च भएको अधिकारीले बताए ।







Post a Comment

 
Top