0
गोल्डेन न्यूज संवाददाता
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आगामी बैठक यसैवर्ष नोभेम्बरको ८, ९ र १० तारीखमा पाकिस्तानमा हुने भएको छ । सम्मेलनमा पाकिस्तान मा हुने यसअघि नै तय भएपनि त्यसको तिथि भने पोखरामा जारी सार्क राष्ट्रका विदेशमन्त्री स्तरीय बैठकले बिहीबार टुङ्गो लगाएको हो । त्यस्तै सार्कको विपद व्यवस्थापन सम्बन्धी केन्द्र कहाँ राख्ने विवाद पनि टुङ्गएिको छ । भारत र पाकिस्तानको त्यसमा दावी रहेपछि त्यसलाई टुक्रयाएर वातावरण र उर्जा पाकिस्तानमा र विपद व्यवस्थापन भारतमा राख्ने सहमति भएको बैठक स्रोतले जनाएको छ । बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधामन्त्री एवम् सो बैठकको अध्यक्षता गरेका परराष्ट्रमन्त्री कमल थापाले पोखरा बैठक कोशेढुङ्गा भएको दाबी गरे । उनले सार्कका आगामी शिखर सम्मेलन हरेक २ वर्षको नोभेम्बर महिनामै गर्ने निर्णय गरेको बताए । सार्क इकोनोमिक भिजन लक्ष्य प्राप्तिको लागि सार्क सदस्य राष्ट्रका गभर्ननरले गर्ने निर्णयको समीक्षा गर्दै अघि बढ्ने निर्णय गरेको बताए । साफ्टा र साफ्टिजलाई प्राथमिकताका साथ बढाउने मन्त्री थापाले जानकारी दिए। उनले सार्कलाई अझै प्रभावकारी बनाउने गरी स्पष्ट दृष्टिकोणका लागि अघि बढ्न सदस्य राष्ट्रका सहभागी सहमत भएको बताए । यसैबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यस क्षेत्रको विकासको बाधक नै गरीबी भएको बताएका छन् । उनले गरिबीको चुनौतिलाई कम्युनिष्ट शैलिमा भने,–‘दक्षिण एसियाको साझा शत्रु नै गरिवी हो । आपसी सहकार्यमा अभाव हो ।’ पोखरामा आयोजित सार्कको मिनि शिखर सम्मेलन अन्तर्गत बिहीबार ३७ औं मन्त्रीस्तरीय वैठकको औपचारिक उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । उनले यस क्षेत्रमा रहेको एक अर्ब ६० करोड जनताको अवस्था सुदृढ गर्नका लागि सहकार्यमा जोड दिदैं गरिबी र पछौटेपन सार्क मुलुकका साझा शत्रु  रहेको बताए । ‘गरिबी निवारणका निम्ति सार्कका देशहरुबीच आपसी सहकार्य कार्यावन्यन तहमा आउन आवश्यक छ,’ उनले भने–‘यस क्षेत्रसंग क्षमता, धैर्यता र बृहत स्रोत हुँदा–हुदै पनि किन गरीबी नामको शत्रुमाथि जित हासिल गर्नसकेका छैनौं यो नै हाम्रो चुनौति हो ।’ उनले थपे,–‘यसका लागि हामीले आपसी समन्वयलाई प्रगाढ बनाएर अघि बढ्न सक्नुपर्छ । सडक र रेल संजाललाई यस क्षेत्रमा ब्यापक पारेर मात्र समृद्धिको सपना पुरा गर्न सकिन्छ । यस क्षेत्रमा एकले अर्कामा सहकार्य गर्न सक्ने विषयहरु पूर्वाधार विकास, सकारात्मक सोच, विज्ञता, सूचना तथा सञ्चार, प्रविधि लगायतका क्षेत्रमा यी देशहरुबीच आपसी सम्वन्ध र समझदारी भएमा विकास टाढा छैन’, उनले भने,–‘यस्तो गर्न सके हामीले विश्व यसक्षेत्रको उपस्थिति   गरिमामय बनाउन सक्ने छौं । यस क्षेत्रका एक मुलुकलाई समस्या पर्दा अर्कोले सघाउने संस्कार उदाहरणीय रहेको चर्चा गर्दै नेपाल महाभूकम्पको चपेटामा पर्दा सदस्य मुलुकले देखाएको सदासहायताको पनि उनले प्रशंसा गरे । यस्तैप्रकारको भावना लिएर सार्क सदस्य मुलुकहरु अघिबढ्न पर्नेमा उनले जोड दिए । प्रधानमन्त्री ओलीले नेपालमा हालै घोषणा भएको नयाँ संविधान बारे समेत उदघाटनसत्रमा जानकारी दिए । नेपालको नयाँ संविधान जारी प्रकृया र कार्यावन्यन पक्ष उदाहरणीय रहेको भन्दै उनले यसबाट लोकतन्त्र संस्थागत गर्दै मुलुकलाई समृद्ध बनाउन सघाउ पुग्ने बताए । उनले भूकम्पका बेलामा नेपाललाई सहयोग गरेकोमा सबै देशलाई आभार व्यक्त गरेका छन् ।  विदेश मन्त्रीस्तरीय वैठकको अध्यक्षता गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले स्थल, जल र वायु मार्गबाट सार्क सदस्य मुलुकलाई एकअर्कासंग आवद्ध पारेर अघि बढ्नुको विकल्प नभएको बताए । व्यापार विस्तार लगायत आर्थिक उन्नतिका कार्यक्रम सञ्चालन गर्नका लागि सकड, जल र वायु संजालले एक अर्कामा जोड्नुु नै पर्ने हुनाले अहिलको बैठक यसमा नै केन्द्रित रहेको उनले स्पष्ट पारे । बुधबार निर्धारण भएका कार्यसूचीमा सार्कले विगतमा गरेका निर्णयको कार्यान्वयन सदस्य राष्ट्रले स्वीकार गरेका तर कार्यान्वयन नगरेका कार्यक्रम प्रभावकारी रुपमा लागू गर्नुपर्ने, निधारित समयमा नै सार्कका गतिविधि हुनुपर्ने जस्ता विषयमा ध्यान दिएर सार्कलाई अघि बढाउन पर्नेमा परराष्ट्रमन्त्री थापाले जोड दिए । उनले कतिपय सम्झौता भएर लागू हुन नसकेको र सम्झौता नभएका सबैलाई प्राथमिकता दिदै अघि बढ्न पर्ने बताए । उनले पोखरा नेपालको एक सुन्दर नगरी हो । यो पर्यटकिय शहरमा सबैलाई सधै स्वागत रहेको समेत बताए ।  बैठकमा भारतका विदेशमन्त्री सुष्मा स्वराज, श्रीलंकाकी विदेशमन्त्री मंगला समरावेरा, माल्दिभ्सका विदेशमन्त्री डुन्या मौमुन, बंगलादेशका विदेशमन्त्री अबुल हसल मोहम्मद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेश मन्त्री हिक्मत खालिद कार्जाइ र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी छन् । बैठकमा सार्कका महासचिव अर्जुनबहादुर थापाले यस क्षेत्रलाई सार्क मुलुकलाई एकताको सूत्रमा आबद्ध गर्दै अघि बढ्न क्रियाशील रहेको बताए । नेपालको राष्ट्रिगान बजाएर आरम्भ भएको उक्त कार्यक्रममा मन्त्रिपरिषद्का वरिष्ठ सदस्य, सांसद, सार्क सदस्य मुलुकका विदेश मन्त्रालयका सचिव तथा उच्च पदस्थ अधिकारी र नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख लगायतको उपस्थिति थियो । सुरक्षाकर्मी विरामी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठकको सुरक्षाका लागि खटिएका प्रहरी विरामी परेका छन् । परराष्ट्र मन्त्रालले खानाको व्यवस्था गरेको होटलको खानाले प्रहरीहरुलाई पखाला लागेको हो । परराष्ट्र मन्त्राले प्रहरीलाई कार्यक्रम भएको होटल ग्रान्ड भन्दा अन्यत्र नै खानाको व्यवस्था गरेको थियो । खानाका कारण प्रहरीहरुलाई पखला चल्दा ५० भन्दा बढि सुरक्षा कर्मीलाई पखला लागेको प्रहरीका एक अधिकृतले जानकारी दिए । उनले १ सय जना जतिलाई परराष्ट्रले खानाको व्यवस्था गरेको बताउदै खाना राम्रो नहुदा आधा जतिलाई पखला चलेको उनले बताए । २४ सै घण्टा खटिनु पर्ने प्रहरीलाई परराष्ट्रले खानाको व्यवस्था गरेको हो तर राम्रो खानाको व्यवस्थापन अधिकृतले भने । उनले पखला लागे पनि औषधि खादै खटिएको बताए ।

भारत–पाक छलफल, विदेशमन्त्रीहरु आज स्वदेश फर्किने

विदेशमन्त्रीहरुको ब्रेकफास्ट बैठकमा सार्कलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा अनौपचारिक छलफल भएको छ । सबैलाई ग्रान्डीबाट फिस्टेल लजमा विहानै लगिएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले उनीहरुलाई ब्रेकफास्ट गराएका हुन् । उक्त छलफलमा सार्कको क्षेत्रीय केन्द्रहरु बन्द भएको र गाभिएको विषयले प्रवेश पाएको थियो । वातावरण तथा विपत ब्यवस्थापन केन्द्र कुन मुलुकमा राख्ने भन्ने विवाद मिलाउन छलफल अघि बढेको थियो । पाकिस्तान सार्कको ११ केन्द्र मध्ये सूचना केन्द्र, मानव संसाधन केन्द्र र सार्क अनुसन्धान केन्द्र खारेज भइसकेको छ । गभिने चार केन्द्र वन व्यवस्थापन, विपद् व्यवस्थापन, तटीय क्षेत्र व्यवस्थापन र जलवायु अनुसन्धान केन्द्रलाई आपसमा गाभेर एउटै सार्क वातावरण तथा विपद् व्यवस्थापन केन्द्र बनाइएको भए पनि कुन मुलुकमा राख्ने भन्नेमा अन्यौलता कायम छ । यसको विषयमा बसेको कार्यक्रम समिति बैठक पटक पटक असफल भएको थियो । विदेशमन्त्रीहरुका अध्यक्षको रुपमा रहेका थापालाई पनि सुष्माले बोलाएर उक्त प्रस्ताव टुंगोमा पु¥याउने र सार्कलाई अघि बढाउन आवश्यक रहेको बताएकी छन् । अन्य विषयमा पनि उनीहरु बीच खुलेर कुराकानी भएको फिस्टेलमा उपस्थित एकले बताए । 
विदेशमन्त्रीहरु शुक्रबार विहान स्वदेश फर्कने
सार्कको विदेश मन्त्री स्तरीय बैठकमा सहभागी हुन आएका सबै टोली शुक्रबार विहान स्वदेश र्फकने छन । भारतीय विदेशमन्त्री सुष्मा स्वराज पोखराबाट सिधै गोरखपुर जाने भए पनि अन्य सबै काठमाडौं पुग्ने र त्यहाबाट स्वदेश र्फकने कार्यक्रम रहेको परराष्ट्र अधिकारीले बताए । कतिपय उच्चअधिकारीहरु भने स्थलमार्ग बाट काठमाडौं जाने भएका छन । उनीहरुमध्ये धेरैले फुर्सदको समयमा पोखराको सबै स्थान घुमेका छन । कतिपय विहानै सराङकोट पुगे । भने केहीले फेवा तालमा बोटिङ समेत गरे । मन्त्री स्तरबाट भने फिस्टेलमा जान वारीबाट पारी बोटमा गर्ने बाहेक अन्य घूमफिर हुन सकेको छैन । शुक्रबार विहान फेवातालमा वाकाथुन गर्ने र बोटिङ गर्ने कार्यक्रम रहेको भए पनि त्यो स्थगन भएको अधिकारीहरुले बताए । बेलुका साइड सिनमा उनीहरु बाहिर निस्कने पनि बताइएको छ ।

Post a Comment

 
Top