गोल्डेन न्यूज संवाददाता
गजलकार तीर्थमान अथाहसागरको दोस्रो गजल सङ्ग्रह नदी जस्तो जिन्दगी शनिबार पोखरामा लोकापर्ण गरिएको छ। गजल सन्ध्या पोखराको आयोजनामा तनहुँका गजलकार अथाहसागरको नदी जस्तो जिन्दगी नेपाली गजलको पुनर्जागरण कालका अभियान्ता गजलकार ज्ञानुवाकर पौडेलले लोकापर्ण गरे। सङ्ग्रह गजल सन्ध्या पोखरा, नेपालले प्रकाशन गरेको हो। सङ्ग्रहको लोकापर्ण गर्दै पौडेलले निरन्तर साधना र सिर्जनशीलताले मात्रै साहित्यिक जीवन सार्थक हुने बताए। ‘रहर गरेर मात्रै हुँदैन, साहित्यका लागि साधना, सिर्जनशीलता र निरन्तरता चाहिन्छ’–पौडेलले भने–‘अथाहसागरको नयाँ गजल संग्रह त्यसैको उपज हो, जसले घरदेश बाहिर रहेर पनि निरन्तर साहित्यमा लागे।
साँघुरो गल्लीबाट नेपाली गजल फराकिलो राजमार्गमा पुगेको र सशक्त बन्दै गएको भन्दै पौडेलले के, किन र कसका लागि सिर्जना कोर्ने भन्ने बुझेर साहित्यकर्ममा लागे सफल भइने बताए।
कृतिको परिचर्चा गर्दै शुक्ला साहित्य संगम, दुलेगौंडाका अध्यक्ष जनार्दन दाहालले अथाहसागरको गजल सङ्ग्रहमा देशको राजनीतिक बेथिति, त्यसले उत्पन्न गराएको देशप्रतिको वितृष्णा, प्रदेशियताका युवाको भावना, सामाजिक विकृति, देश र माटोको माया तथा माया–प्रेमका विषय बिम्बात्मकरूपमा आएको बताए। कृतिमा केही त्रुटी रहे पनि समग्रमा सङ्ग्रह राम्रो बनेको उनको भनाइ थियो।
स्रष्टा परिचय दिँदै गजलकार रूपिन्द्र प्रभावीले तनहुँमा हरफ साहित्यिक अभियान, गजल सञ्जीवनीलगायतका विभिन्न साहित्यिक अभियानको नेतृत्व गरेका अथाहसागरले १२ वर्षपछि दोस्रो कृति प्रकाशन गरेको बताए।
२०६० सालमा ‘वर्तमान बिझाउँदा’ गजल सङ्ग्रह बजारमा ल्याएका अथाहसागर सिर्जनशील र एक साधक भएको बताउँदै को कहाँ बसेर कार्यक्रम गर्छ भन्नेभन्दा पनि साधना, निरन्तरता ठूलो कुरा भएको उनको भनाइ थियो। स्रष्टा अथाहसागरले पछिल्लो एक दशकमा देशबाहिर र भित्र आफूले देखेको समयको चित्रलाई सङ्ग्रहमा उतारेको बताए।
हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष गजलकार पुष्प अधिकारी ‘अञ्जली’ले देशबाहिर रहेरका नेपालीहरुले नेपाली साहित्यमा ठूलो योगदान पु¥याएको बताए। कार्यक्रममा गजलकार दीपक समीप, लक्ष्मण थापा, दीलिप दोषी, अमृत सुवर्णकार, आरजु विष्ट सल्यानी लगायतले शुभकामना दिए। रोजगारीको शिलशिलामा हाल युएइमा कार्यरत अथाहसागरको नदी जस्तो जिन्दगी गजल सङ्ग्रहमा ७२ गजल समावेश छन्।
सन्ध्याकी अध्यक्ष बिर्सना बस्नेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अमृत सुवेदीले स्वागत र सचिव मोहन भण्डारीले सञ्चालन गरेका थिए।
यसैबीच, प्रत्येक महिनाको दोस्रो शनिबार सन्ध्याले गर्दै आएको नियमित गजल वाचनको एक सय ५४ औं श्रृङ्खला पनि गरिएको छ। रचना वाचनमा लक्ष्मी थापा, त्रिपुरा पौडेल, शरण आँसु, सन्दीप गौतम, विशाल थापा, उदीपराज ढुङ्गाना, त्रुपकलगायत करिब दुई दर्जन गजलकारले गजल वाचन गरेका थिए।
Post a Comment