0
गायिका कोमल ओलीले राम्रो पोइको लागि कहिले झ्वाँक तन्देरीलाई आह्वान गरिन् त कहिले शिवजी गुहारिन् । तर, के मिलने कुन्नी ? उनी अझै अविवाहित छिन् । आइतबार उनी अविवाहित ओली पोखरामा झुल्किइन् । पोखरा उद्योग वाणिज्य संघले यहाँको नयाँबजारमा आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला– २०७२ मा आउँदा उनी  ढाकाको कपडामा सजिएकी थिइन् । उनले पोखरेली सोल्टीहरुलाई आफ्नो अधर पिउन आग्रह मात्र गरिनन् भोली कुनै दिन ‘आइ लभ यु’ भन्ने आश्वासन पनि बाँडिन । 
 उनले सुरुमै शीरमा सिरबन्दी  भन्ने गीतमा दर्शकलाई नचाइन् । ‘तिमी सोल्टी म तिम्रो सोल्टिनी, जता सोल्टी उतै मन  गुल्टिनी’ भन्दै उनले दर्शकमाझ पुगेर नै सबैलाई मनोरञ्जन प्रदान गरिन् । माया बस्यो मुटुमा, ‘हरि ओम हरि’ भन्ने जस्ता गीतमा उनलाई दर्शकले राम्रै साथ दिए । पानी परेपछि खुलेको पोखरामा राधिका हमाल लगायतका कलाकारले पनि दर्शक नचाए ।
यता आइतबार संघले राम्रो नृत्य गर्ने एक जना दर्शकलाई गृहलक्ष्मी ग्याँसको भरिएको सिलिल्डर नै उपहार दिइयो । साँस्कृतिक उपसमितिका संयोजक मोहनबाबु खड्काले विजेता पोखरा खाल्टेमसिनाका धर्म गुरुङलाई ग्याँस उपहार प्रदान गरे । प्रजापति पराजुली र गायिका कोमल ओलीको रोहवरमा ग्याँस पाएपछि उनले खुसी व्यक्त गरे । यता मेलाको तेस्रो दिन उत्कृष्ट नाच्नेहरुलाई ग्याँस सिलिण्डरसहित चामलको बोरा, चाउचाउ लगायतका उपहार पनि प्रदान गरिएको थियो । उपहार दिने क्रम आउँदा दिनमा पनि जारी रहने साँस्कृतिक उप–समिति संयोजक मोहनबाबु खड्काले जनाए ।
 यता सोमबार मेलामा विभिन्न सात देशका साँस्कृतिक समूहद्धारा विशेष अन्तर्राष्ट्रिय साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । पपतर्फ  कन्दरा व्याण्डको लाइभ प्रस्तुति साथमा रवण व्याण्डको प्रस्तुति समेत रहने छ । हाँस्यतर्फ सविता गुरुङ, रतिमाया खड्काले दर्शकलाई हँसाउने छन् । लोकदोहोरीतर्फ नारायण रायमाझी, दुर्गा रायमाझी, चन्द्र शर्मा,प्रजापति पराजुली, जीवन दाहाल शिवहरि ढुंगाना, शंकर विरही गुरुङ, तारापति सुवेदी, प्रेमराज अधिकारी,टेक क्षेत्री लगायतका ख्यातिप्राप्त कलाकारहरु को प्रस्तुति रहने छ । वर्षाका कारण मेलामा केही असहजता उत्पन्न भए पनि अवलोकनकर्ताले देखाएको सहृदयताप्रति पोखरा उद्योग वाणिज्य संघले धन्यवाद ज्ञापन गरेको छ । संघका महासचिव तथा प्रचारप्रसार समिति संयोजक रवीन्द्रबहादुर प्रजुले मेलालाई सफल बनाउन सम्पूर्ण पोखरेलीहरुसँग आग्रह समेत गरे । यता मेला अन्तर्गत फागुन २२ गते प्रवेश टिकटमा दिइने कलर्स मोवाइल टिकट नम्बर २०४३ नम्बरको टिकटलाई प्राप्त भएको टिकट व्यवस्थापन उपसमिति संयोजक अमितराज मुल्मीले जनाए ।


Post a Comment

 
Top