0
हालै सम्पन्न १३औं महाधिवेसनबाट काँग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए । महामन्त्री र कोषाध्यक्ष र खुल्ला केन्द्रीय सदस्यहरुको पनि मतगणना सकिएर नेतृत्व आइसकेको छ । केन्द्रीय सदस्य तर्फको मतगणना सकिन एकसाता बढी लाग्यो । २५ खुला सदस्यका लागि ९० जना र समावेशी तर्फको उमेदवार सहित गरेर ३ सय ५० जना भन्दा धेरै उम्मेदवार भएको कारण मतगणनामा झण्झट भएको बुझिएको छ । यता केही बर्ष देखि नेपालकै निर्वाचन आयोगले विद्युतीय मतदान मेसिन प्रयोगमा ल्याएको छ । पहिलो र दोश्रो संविधानसभाको निर्वाचनमा काठमाडांै लगायतका केही स्थानमा त्यस्ता मेसिनको प्रयोगले निर्वाचन गरिएको थियो । विद्युतीय मेसिनबाट मतदान र मतगणना गर्दा २÷४ घण्टामै मतगणना सकिएको थियो । सविधान सभाको उपनिर्वाचनमा बाग्लुङ जस्तो दुर्गम जिल्लामा पनि विद्युतीय मेसिनबाटै मतगणना भएको थियो । तर देशको सबैभन्दा ठूलो राजनीतिक दल काँग्रेसको महाधिवेसनमा गरिएको झण्झटिलो मतपत्र र मतगणना पद्धतीले कार्यकर्तामा निरासा छाएको छ । हुनपनि महाधिवेशन शुरु भएको दुइ साता हुन लाग्यो । मतगणना थालेको पनि एकसाता बढी समयमा केन्द्रीय सदस्य तर्फको परिणाम आयो । यस्तो किन भयो ? के यो भन्दा छिटो गणना गर्न मिल्ने प्रविधि विकास गर्न नसकेर हो ? कि निर्वाचन आयोगले ल्याएको मेसिन बारेमा काँग्रेस अनविज्ञ भयो ? केन्द्रीय सदस्यका उमेदवारहरुले रोवोटबाट भोट मागेका थिए भने त्यही सदस्यको मतदान पानी राख्ने हिलट्याँकीमा भयो र मतगणना महिना दिनमा नसकिने गरेर चलेको छ । यसबाट सर्वसाधारणले के बुझ्छन् भने काँग्रेसले पुरानै पद्धतिलाई मात्र आत्मसाथ गरेको छ । नयाँ प्रविधि बारेमा एकपटक पनि छलफल समेत गरेको छैन । डिजिटल प्रविधि आइरहेको समयमा पनि यस्तो काम गर्दा जो सुकैलाइ पनि झण्झट लाग्नु स्वभाविकै हो । निर्वाचन आयोगका एक अधिकृतले पनि यो कामबारेमा टिप्पणी गरेको सामाजिक संजालमा भेटियो । तसर्थ नयाँ प्रविधिबारे किन उनीहरुले चासो देखाएनन् ? युवा पुस्ता आउन नदिने दाइ काँग्रेस प्रवृत्तिले कतै प्रविधिमा पनि जान नदिएको त होइन ? देशभरका सबै निर्वाचन क्षेत्रमा संसद र स्थानीय निकायको निर्वाचन समेत विद्युतीय मेसिनबाट गर्ने तयारी गर्नुपर्ने समयमा ठूलो दलको एक महिने लामो महाधिवेसनबाट देश आधुनिकतामा जान नसकेको प्रष्ट देखिन्छ । त्यसोत अहिले काँग्रेसको महाधिवेशन भयो, कुनैबेला अन्य दलको पनि अधिवेशन हुनेछन् । त्यतिबेला उनीहरुले पनि अहिले आलोचना गरेर पुरानै प्रविधिमा गए भने लाजमर्नु हुनेछ । किनकी एमालेको महाधिवेशनमा पनि मतपत्र चोरिए, अलपत्र अवस्थामा मतपेटिका भेटियो भन्ने प्रतिक्रिया आएको थियो । समग्रमा दलका अगुवाले के बुझ्न जरुरी छ भने विश्वका घटना एक÷दुई मिनेटमै जान्न सकिने परिवेशमा हाम्रो मतपरिणाम आउन एक महिना कुर्नुपर्ने अवस्था सिर्जना हुनुलाइ लज्जास्पद रुपमा लिनै पर्छ । अवका दिनमा यस्तो नहोस् भन्नका लागि दलहरुले प्रविधिमा ध्यान दिने र प्रयोग गर्न जान्ने बन्न पनि जरुरी छ ।

Post a Comment

 
Top