0
गोल्डेन न्यूज संवाददाता
नेवा खलः कास्कीले छैटौँ पटक पोखरामा आयोजना गर्न लागेको मिस नेवाः पोखरा ११३६ को प्रतिभा प्रस्फुटन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी १९ जना प्रतिस्पर्धीहरुले आफुमा अन्र्तनिहित प्रतिभालाई प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिस्पर्धीहरु सेलिका श्रेष्ठले धिमेबाजा, सन्जु श्रेष्ठ, सन्ध्या श्रेष्ठ, श्रेयङ्का श्रेष्ठ, मौनता कर्माचार्य, एनि श्रेष्ठले भाषणकला, निशा श्रेष्ठ, अस्मिता श्रेष्ठ र सदिक्षा मल्लले नेवारी नाच प्रस्तुत गरेका थिए । यसैगरि एलिशा जोशी, सुरक्षा तझ्याले खिन बाजा, ज्योती श्रेष्ठले बाँसुरीबादन, सुबी तण्डुकारले कुमारी नाच तथा दिपिका श्रेष्ठले नेपाली गीत प्रस्तुत गरेका थिए  । अन्य प्रतिस्पर्धीहरुमा सुष्मा श्रेष्ठले नेवारी सँस्कृति बारे भनाई, अनिशा तझ्याले हस्तकला, अस्मिता बज्राचार्य र करिश्मा शाईले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै नेवा खल कास्कीका उपाध्यक्ष  गणेशबहादुर श्रेष्ठले नेवारी मौलिक सँस्कृति, भाषा, भेषभूषा, कला रहनसहनको संरक्षण सम्बद्र्धन र नेवार समुदायका युवतीहरुलाई यसवारे अवगत गराउदै, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको बताए । सो अवसरमा कार्यक्रमका संयोजक सुविन्द्र श्रेष्ठले भाषा र संस्कृतिनै हरेक जातीको मुल पहिचान हुने हुँदा यसको जगेर्ना गर्न घरपरिवारमा आफ्नै मातृभाषा बोल्नुपर्ने र संस्कृतिको बारेमा आफ्ना सन्ततिलाई पनि जानकारी गराउनुपर्ने कुरामा जोड दिए ।  आउदो चैत्र ६ गते शनिबार पोखरा सभागृहमा अन्तिम चरणको प्रतिस्पर्धा हुने मिस नेवाः पोखरा ११३६ का विजेताले ४० हजार नगद, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । यसरी नै बेष्ट कम्प्लेक्शन, बेष्ट स्माइल, बेष्ट ट्यालेण्ट, बेष्ट पर्सनालिटी, बेष्ट फोटोजेनिक, बेष्ट भ्युअर च्वाइस टाइतलका साथमा जनही ५ हजार रुपैयाँ, प्रमाणपत्र र उपहार प्रदान गरिने छ । यसैबीच मिस नेवा पोखरा ११३६ को अवलोकन भ्रमण हालै सम्पन्न भएको छ । सुविन्द्र श्रेष्ठको मूल संयोजकत्वमा भएको मिस नेवा पोखरा ११३६ का सहभागीहरुलाई नेवारी संस्कृतिको अवलोकन तथा जानकारी दिने उद्देश्यले काठमाडांै वुङमती, कीर्तिपुर, भक्तपुर, पाटन लगायत विभिन्न ठाउँहरुमा भ्रमण गरीएको थियो । भ्रमणको क्रममा किर्तीपुर वुङमतीमा नेवा दे दवु को तर्फबाट स्वागत कार्यक्रम राखिएको थियो । नेवा दे दवु का अध्यक्ष श्री नरेश ताम्राकारज्यूको अध्यक्षतामा भएको कार्यक्रम कवि तथा साहित्यकार राजभाई जकमी, मुल संयोजक सुविन्द्र श्रेष्ठ तथा सहभागीको तर्फबाट एलीशा जोशीले आ–आफ्नो धारणा राखेका थिए । ललितपुर पाटनमा ज्यापु समाजको तर्फबाट ज्यापु समाजका अध्यक्ष प्रेम महर्जनको अध्यक्षतामा मिस नेवा पोखरा ११३६ का सहभागीहरु लाई स्वागत गरिएको थियो । कार्यक्रममा ज्यापु समाजका अध्यक्ष प्रेम महर्जन, उपाध्यक्ष शान्तमान मर्हजन, मिस नेवा ११३६ का सहभागीका तर्फबाट सेलीका श्रेष्ठ, मुल संयोजक सुविन्द्र श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम पश्चात ज्यापु गुठीको संग्रहालय, पाटन दरवार स्क्वायर लगायत विभिन्न ठाउँहरुको अवलोकन गरेका थिए । भक्तपुरमा सुरेन्द्र गोसाइको नेतृत्वमा भक्तपुरका पुरातात्विक भवनहरु लगायत ऐतिहासिक महत्वका मठ मन्दीरहरुको पनी अवलोकन गर्ने कार्यक्रम राखिएको थियो । कार्यक्रममा प्रालिका अध्यक्ष  नरेशवीर शाक्य, वरिष्ठ फोटो पत्रकार राजभाई सुवाल, हाँस्य कलाकार रवि दंगोल  हाँस्य अभिनेतृ मन्जु श्रेष्ठ, न्हु ज गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ, मूल संयोजक सुविन्द्र श्रेष्ठ लगायतले पनि बोलेका थिए ।











Post a Comment

 
Top