0
उपेन्द्र झा
मधेशको आगामी कार्यक्रम के हुने भन्ने बिषयमा दलहरूको क्रान्तिकारी नाराहरू त छँदैछ । तर युवा शक्तिमा देखिएको आक्रोश, अविश्वास, निराशा आदिले विकल्पका मार्ग खोज्ने प्रयासहरू पनि अघि बढेको छ । मधेश आन्दोलन पटक पटक यथास्थितिवादी शक्तिहरूको शिकार भइरहँदा यसलाई गन्तव्यमा पु¥याउने युवाहरूको दृढता सशक्त रूपमा रहेको सबैले देखिसकेका छन् । मधेशी युवाहरू मधेश आन्दोलन स्थगित भएदेखि नयाँ उर्जा संकलन गरि संगठित हुने दायित्वबोधको दबाबबाट प्रेरित भई पुनः जुट्न बाध्य भएका छन् ।
मधेश आन्दोलनलाई नयाँ सोचका साथ अगाडि बढाउने बाध्यात्मक परिस्थिति आइपरेको अनुभवका साथ युवाहरू मधेशको राजनीतिलाई यथास्थितिको दलदलबाट निकाल्न आवश्यक रहेको स्वीकार्दछन् । नयाँ ढंगको सोचका आधारमा कार्यक्रमलाई राज्यसत्ता विरूद्ध उतार्ने अबको आन्दोलन परिष्कृत हुन जरूरी छ । होइन भने नेताहरूको स्वार्थपूर्तिमा प्रयोग हुने आन्दोलनमा मधेशी युवाहरू शहादत त दिन्छन् तर यसको गुणात्मक उपलब्धि भने केही हुँदैन । शहादत दिएको सूची लामो होला तर मधेशले पाउने वास्तविक अधिकारबाट सधैं वञ्चित नै रह्नु पर्ने राजनीतिक विश्लेषकहरूको आँकलन छ ।
शदियौंदेखि भेदभावको उत्पीडन भोगि रहेको मधेशको परिवर्तनको चाहना बलियो भएपछि मधेश आन्दोलनको जन्म भयो । यसले बलपूर्वक राज्य समक्ष आफनो माँग राख्न सफल भयो । संविधान सभाको स्थापना गराएर मधेशको मुद्दालाई व्यापक छलफल गरायो । राज्यको साजिशका कारण मधेशका मुद्दाहरू सम्बोधन हुन सकेन तर यसले मधेशको समस्यालाई नजीरको रूपमा स्थापित गरायो । मधेशको भेदभावलाई हटाउन नचाहेका शासकहरूको लागि सिरदर्द बनेको छ मधेश आन्दोलन । परिवर्तनको मदमा मात्तिएको मधेश अधिकारबिना शान्त बस्ने पक्षमा नरहेकोले राज्य विरूद्धको मधेश आन्दोलन सम्बोधन नहुञ्जेलसम्म चलि रह्ने छ ।
मधेशप्रति राज्यसत्ताको चर्को अन्तर्विरोधले जहाँ मधेशलाई परिवर्तनको पक्षमा दृढतापूर्वक उभ्याई रहेको थियो भने आन्दोलनको जग पनि बसी रहेको थियो । मौका पाएर विस्फोट भएको मधेशले एकातिर सयकडौं बलिदान दिएर आन्दोलनलाई रक्तबाट सिंचित गरेको छ भने परिवर्तनको जागृति ल्याउन मधेशको हावापानीलाई पनि उत्तेजित पारि दिएको छ । परिवर्तनका चाहना राख्ने मधेशको अब एकमात्र लक्ष्य रहेको छ–अधिकार प्राप्ति । बलिदान वा अधिकार – मधेशको एकमात्र आधार । अब त मधेशको आन्दोलनलाई दलले मात्र होईन, मधेश स्वतः आन्दोलित हुने कुरा भर्खरैको आन्दोलनले साबित गरि सकेको छ । मधेश जहाँ आफनो अधिकारप्रति सजग छ त्यहीं युवाशक्तिलाई पनि बलिदानी आन्दोलनको लागि तयार गरि सकेको छ । मधेश आन्दोलनलाई दलहरूले स्थगित गरेपनि मधेश नेतृत्वको खोजिमा लागि परेको छ । आन्दोलन मधेशको आवश्यकता हो । दलहरूको उपयोगको वस्तु होईन । अहिले दलहरू जसरी भीषण आन्दोलनको कुरा गरि रहेको छ यो मधेशको आवश्यकतालाई बुझेरै भनेको हो । अधिकारको सम्बोधन नभएसम्म संघर्ष चलि रहने यथार्थ त सबैले स्वकार्नै पर्छ ।
मधेशको माँगलाई नेपाली काँग्रेसले पनि सम्बोधनको आश देखाएर आफनो जीतको भरपूर फायदा उठाएको छ । सभापतिका प्रत्याशी द्वय शेरबहादुर देउवा र रामचन्द्र पौडेलले आफनो जीतसंग मधेशको समस्यालाई जोडेर चुनाव लडे । म जीतें भने मधेशको समस्यालाई हल गरेर छाड्छु भन्ने अभिव्यक्तिका साथ चुनाव लड्दा शेरबहादुर देउवाले आफनो प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई ५२२ मतले पराजित गरि विजय हासिल गरेको छ । के मधेशको सवाललाई नेपाली काँग्रेसका नयाँ सभापति शेरबहादुर देउवाले हल गर्न सक्ला ? बिल्कुलै होईन । यो त राजनीतिक स्टन्टवाजी हो । मधेशको समस्याप्रति शासकवर्ग गम्भीर भएको भए संविधान सभाको ८ वर्षमा मधेशले सुखद अनुभूति गर्न सक्दथ्यो । तर संविधान सभाका ८ वर्ष मधेशको लागि कालरात्रि नै सावित भयो ।
अनुदार सरकारको व्यवहार र मधेशका राजनीतिक अगुवाहरूको वैचारिक फिसलन नै मधेश आन्दोलनका असफलताका कारक तत्व हुन् । यस पटक मधेश आन्दोलनले प्राप्त गरेको बलियो आधार फेरि पाउन मुश्किल नै देखिन्छ । यसरी सशक्त रूपमा रहेको मधेश आन्दोलन निष्कर्षविहीन कसरी बन्यो ? यसको समीक्षात्मक छलफल हुन जरूरी छ । आन्दोलन अवश्यम्भावी रहेकोले परिष्कृत आन्दोलनका लागि एउटा ठोस रणनीति आउन जरूरी छ । दोश्रो पंक्तिको नेतृत्व समूहमा यसको छलफल आवश्यक रहेको देखिन्छ ।
आन्दोलन गर्ने समूह र पार्टी संचालन गर्ने समूह फरक फरक तत्व हुन् । यी एकै सिक्काका दुई पाटा हुन् । एकै ठाउँमा रहेपनि दुवै विपरित दिशातिर फर्केका हुन्छन् । आन्दोलन गर्नु एउटा विषय हो भने पार्टी चलाउनु अर्को विषय । यहाँ एउटै शक्तिले दुवै भूमिका निर्वाह गरेको छ । आन्दोलनलाई गन्तव्यसम्म पु¥याउने एउटा स्वतन्त्र विचार हो भने पार्टीे असंख्य बन्धनमा बाँधिएको परतन्त्र विचार हो । यसको सिमित घेरा छ । घेरालाई तोडेर यो स्वच्छन्द रूपले अगाडि बढ्न सक्दैन । पार्टी संचालन गर्ने शक्ति नै संघर्ष संचालन गर्ने अभिभारा लिएको कारण आन्दोलन विफल हुँदै आएको छ । नयाँ शक्ति एउटा उद्देश्य बोकि संघर्ष गरि रहेको हुन्छ । संघर्षलाई गन्तव्यमा पु¥याउने एकमात्र उद्देश्यका साथ त्यो शक्ति प्रेरित रहेकोले उसको अर्को बाध्यात्मक परिस्थिति हुँदैन जसबाट उसमा विचलन आओस् । पार्टी संचालन गर्नेहरू अनेक बन्धनमा बाँधिएकाले आन्दोलनलाई संचालन गरे पनि ऊ सिमित घेरामा आन्दोलनलाई राख्न बाध्य रहेको हुन्छ । पार्टी संचालन गर्नेहरूको आन्दोलन व्यक्तिगत स्वार्थ पूर्तिको माध्यम बन्नुको कारण यही हो । अधिकार प्राप्तिका लागि उठाईएको आन्दोलन सो दिशामा बढ्न नसक्नु नेतृत्वको कमजोरिका कारण हो ।
माओवादी संघर्ष आमूल परिवर्तनको दिशामा सशक्त रूपमा बढेको कदम थियो । यसले राज्यसत्तालाई हल्लायो पनि । तर जब त्यो शक्ति पार्टीको रूपमा आयो, त्यसपछि छिन्नभिन्न हुँदै किनारा पनि लाग्यो । न उसको संघर्ष उपलब्धिमूलक बन्न सक्यो न पार्टी नै एकढिक्का रह्न सक्यो । आन्दोलन  आम जनताको सहभागितामा हुन्छ भने पार्टी कार्यकर्ताको जमातले संचालन गरेको हुन्छ । पहिलो मधेश आन्दोलन जनताले गरेको थियो र निर्णायक पनि बन्यो । आफनो माँगले संवैधानिक दर्जा पाएको अवस्थामा जनताले यसको पूर्णता दिने अभिभारा राजनीतिक अगुवाहरूलाई सुम्पेको थियो ।
राज्यसत्तामा पुगी असिमित मनोकाँक्षा पूरा गर्ने मधेशका अगुवाहरू अनेक अदृश्य शक्तिहरूको घेरामा बाँधिएको अवस्थामा संचालन गरेको मधेश आन्दोलन स्वतन्त्र हुन सक्दछ ? अधिकार दिलाउने स्वतन्त्र आन्दोलनको नेतृत्व ऊ गर्नै सक्दैन । जनताले अधिकार आन्दोलन गरि दिएपछि मात्र उसको भूमिका शुरू हुन्छ । यहाँ त “आफै बोक्सी आफै झाँक्री” को अवस्थामा मधेश आन्दोलन अलमलिई रहेको छ । पार्टी अगुवाहरू क्रान्तिकारी नारा दिएर अधिकार दिलाउने भ्रम त फैलाउँछन् तर अनेक बहानामा आन्दोलनलाई निर्णायक हुन दिंदैनन् । 
आफनो स्वार्थ पूर्तिको अवस्थासम्म आन्दोलन चलाउने मधेशका अगुवाहरू यसलाई कहिल्यै निष्कर्षमा पु¥याउन सक्दैन । निष्कर्षमा पु¥यायो भने पछि के का लागि राजनीति गर्ने ? राजनीति गर्न “इश्यु” त चाहियो । आन्दोलन गन्तव्यसम्म पुग्न नसकेका अनेक कारण मध्ये मधेशको नेतृत्व गर्ने राजनीतिक पार्टीका अगुवाहरू प्रमुख कारण हुन् । यिनी राज्यसत्ताप्रति जति आक्रोशित रहेपनि चरित्र भने संदिग्ध नै रहेको विगतका घटनाक्रमले देखाई सकेको छ ।
६ महिनाको लामो आन्दोलनलाई बिना निष्कर्ष फिर्ता लिने तथाकथित नेताहरूले यसको मधेशमा के प्रतिक्रिया हुने भन्नेबारे किञ्चित पनि सोचेन । मधेश आन्दोलनले सबै शक्तिलाई एकीकृत गरि रहेको बेला नेता भनाउँदाहरूले आफनो पराक्रमको नतिजा ठानेर आत्मविभोर भई रहँदा अहिले विश्वासघाती, अवसरवादी तथा गद्दार आदि संज्ञाबाट विभूषित भई रहेका छन् । मधेश आन्दोलनको विशालता देखेर ठूला पार्टी परित्याग गरि मधेशको प्लेटफारममा आएर आन्दोलन गर्ने मधेशीहरूलाई नेतृत्वले घरको नघाटको अवस्थामा पु¥याएको छ । आफनो ठाउँ लिएर बसेकाहरू यताको नउताको भएपछि नेतृत्वको विचारहीनताबाट पूर्ण नैराश्यता भोग्न बाध्य छन् । युवाशक्ति किंकत्र्तव्यविमुढ भएर वैकल्पिक मार्गको खोजीमा भौंतारि रहेका देखिन्छन् । नेताहरूको क्रान्तिकारी नारामाथि आफनै कार्यकर्ता नकारात्मक टिका टिप्पणी गरि रहेका छन् । आन्दोलनप्रति समर्पित मधेशका युवाहरू नेतृत्वको ढुलमुले चरित्रबाट वाक्क दिक्क मानेका छन् । के गरोस् वैकल्पिक मार्ग नभेटाएसम्म यही फिसलनको राजनीतिलाई स्वीकार गर्ने बाध्यता छ । मधेशमा जतिसुकै राजनीतिक अन्योल आएपनि आन्दोलनको विकल्प नरहेको सबैले स्वीकारेका छन् । 
शान्तिपूर्ण आन्दोलनलाई दृढताका साथ अगाडि बढाउने चाहना सबैको भएकोले अहिले वैकल्पिक मार्गको खोजिमा सबैको ध्यान जानु स्वाभाविक हो । मधेशमा आन्दोलनको प्रवल महत्वाकाँक्षालाई परिस्थितिले जन्माई दिएको छ । यही महत्वाकाँक्षाले एकीकृत रूपमा रणनीति पनि तय गर्छ र आन्दोलनको नेतृत्व पनि गर्छ । ०६३ सालमा आन्दोलनको नेतृत्व गर्ने फोरम पार्टीको रूपमा आएपछि तहस नहस भएको सर्वविदित छ । आन्दोलन सफलतापूर्वक हाँकेको फोरम विभाजित हुँदै आफनो अस्तित्व नै गुमाई सकेको छ ।
त्यसकारण आन्दोलन संचालन गर्ने नयाँ शक्तिलाई मधेश खोजिरहेको छ । नयाँ शक्तिले नै आन्दोलनलाई गन्तव्यसम्म पु¥याउन सक्दछ । अहिलेको आवश्यकता आन्दोलनलाई सफल गराउनेतिर अग्रसर हुनुपर्ने हो । कुन पार्टीले सफलता लिने भन्ने विषय बिल्कुलै गौण हो । असफलताकै खरानीमा सफलताको सुन पाइने आशमा युवा शक्ति समर्पण भावमा अगाडि बढ्नुपर्दछ । 
(मधेश दर्पण फिचर सेवा)



Post a Comment

 
Top