0
गोल्डेन न्यूज संवाददाता
अन्तर समाज महासंघ राष्ट्रिय समिति नेपालको विधान परिवर्तन गरिने भएको छ । होमस्टेमा अग्रणी मानिएको लमजुङ्गको काउलेपानीमा शनिबार बसेको २३ औं बैठकले विधान परिवर्तन गर्ने निर्णय गरेको हो । अन्तर समाज महासंघको सदस्यमा सबै जिल्ला सम्पर्क समाजलाई समेट्ने गरी विधान परिवर्तन गर्न लागिएको महासंघका अध्यक्ष दीपेन्द्र राईले जानकारी दिए। हाल जिल्ला सम्पर्क समाजले पठाएको प्रतिनिधि महासंघको कार्यसमितिमा बस्ने परम्परा रहेकाले यसलाई परिवर्तन गरी जिल्ला सम्पर्क समाजको वर्तमान अध्यक्ष वा पूर्व अध्यक्ष मात्रै सदस्य बन्नसक्ने प्रावधान विधानमा राख्ने गरी छलफल अघि बढाईने उनले बताए । त्यस्तै, महासंघको अध्यक्ष बन्न एक कार्यकाल पदाधिकारी बन्नुपर्ने प्रावधान पनि राख्ने तयारी गरिएको राईले बताए । जिल्ला सम्पर्क समितिले पठाएको प्रतिनीधि जिम्मेवार नहुँदा महासंघ बलियो हुन नसकेकाले विधान परिवर्तन गर्नुपरेको समिति निकट श्रोत बताउँछ । 
त्यस्तै, बैठकले २०७३ सालको क्यालेन्डर प्रकाशन कार्यलाई तीव्रता दिनुका साथै महासंघको स्मारिका निकाल्ने निर्णय गरेको छ । ‘अन्तर समाज महासंघ माला’को नामबाट स्मारिका प्रकाशन गर्ने निर्णय भएको महासंघका महासचिव भानु भण्डारी ‘क्षितिज’ ले जानकारी दिए । 
पर्यटकीय तथा रमणीय गाउँ लमजुङ्गको काउलेपानीको पर्यटन प्रवद्र्धनमा सघाऊ पुगोस् भन्ने उद्दश्यले बैठक राखिएको कार्यक्रम संयोजक नारायण पौडेलले बताए । उनले जीवन्त संस्कृतिका लागि प्रख्यात काउलेपानीबाट ग्रामिण पर्यटनमा काम गर्ने संघसंस्थाले धेरै कुरा सिक्न सक्नुपर्ने बताए । महासंघमा हाल ४९ जिल्लाका सम्पर्क समाज आबद्ध रहेका छन् ।










Post a Comment

 
Top