बजारमा अहिले कालो बजारीको बिगबिगी छ । सामान्य अवस्थामा पाइने बस्तुहरुको मूल्य कृत्रिम अभाव सिर्जना गर्दै अत्यधिक रुपमा बढाउनु र जनता ढंग्नुलाई कालोबजारी भनिन्छ । कालोबजारी राज्यको नियम, कानून र ऐन बिपरित छ । तर अहिले यस्तो दृष्टान्त देखिन्छ कि राज्य नै कालो बजारी गर, सर्वसाधारण जनतालाई ठगी गरी अकूत सम्पत्ति कमाऊ भनेरै लागेको छ । केही दिनअघि मात्रै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले खुलेआम रुपमा उद्योगी तथा व्यपारीभन्दा कालोबजारी गर्नेहरुले राज्यलाई सघाएको उद्घोष गरे । राज्यको उपल्लो निकायमा बस्ने एकजना जिम्मेवार मन्त्रीले यसप्रकार तस्करहरुलाई नै मलजल हुनेगरी वक्तव्यबाजी गर्नु आफैंमा लज्जास्पद कुरो हो । हो, राज्य अहिले छिमेकी देश भारतले लगाउँदै आएको अघोषित नाकाबन्दीबाट अक्रान्त छ, मुलुकमा आयात निर्यात ठप्प हुँदा खर्बौं मूल्यको नोक्सानी मुलुकले व्यहोरिरहेको छ भने उद्योगधन्धा नचल्दा त्यहाँ कार्यरत लाखौं मजदुर हातमुख जोड्ने समस्याबाट पिरोलिरहेका छन् । मुलुकको उत्पादनशीलता करीब शून्यतामा झरिसकेको छ । यस्तो बेलामा राज्यले जस्तोसुकै हथखण्डा अपनाएर भएपनि बजार नियन्त्रण गर्नुपर्ने हो । विश्वका कयौं मुलुकमा हामीकहाँ जस्तो समस्या आयो । जापानमा एकताका चिनीको हाहाकार भयो, राज्यले जोजससँग चिनी छ त्यसबाट जफत गरी करीब तीन महिना मुलुकलाई धान्ने चिनी संकलन गरेको थियो । अहिले पनि काठमाडौं लगायत देशका बिभिन्न सहरहरुमा पेट्रोल लगायत डिजेल, मट्टीतेल, ग्याँसको चरम अभाव छ । काठमाडौंको कलंकी, बसपार्क, कोटेश्वर लगायतका क्षेत्रमा अहिले अघोषित पेट्रोल, डिजेल, मट्टीतेल र ग्याँसको डिजेल सञ्चालन रहेको पाइन्छ । यति ठूलो परिमाणमा पेट्रोलियम पदार्थ भित्रिएको छ कि त्यो कुनै पनि बेला बिस्फोट भयो भने त्यसले ठूलो जनधनको क्षति पुर्याउने अवस्था छ । तर राज्यपक्ष अभावमा पनि देश चलाउने घमण्ड देखाउँदै त्यस्ता हर्कतलाई छुट दिइरहेको छ । हुन त भारतले नाकाबन्दी लगाएपछि सवारीका साधन, यातायात एवं घरको चुल्हो नचलाउनुको बिकल्प नेपाली जनतासँग छैन । यद्यपि खतरा मोलेर गरिएको त्यस्त्तो कालोबजारी हुनुभन्दा नभएकै बेश हो । कम्तीमा जनताको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी राज्यको हो । यसतर्फ सम्वन्धित निकाय लाग्नैपर्छ । अर्को महत्वपूर्ण कुरो के हो भने तराई मधेस चार महिने नाकाबन्दी तथा छ महिने मधेस आन्दोलनबाट करीब सिथिल बनिसकेको अवस्था छ । राजनीतिक दलहरु आआफ्नै इगो लिएर अटसमटस गर्दै बसिरहेका छन् भने समस्यालाई कुन तवरबाट किनारा लगाउने भन्नेमा कोही पनि जागरुक भएको पाइदैन । यस्तो अवस्थामा अब त मुलुक बचाउन ढिलो भइसकेको छ । अहिले म अथवा मेरो पार्टी नभनीकन मुलुकमा विद्यमान रहेको समस्या टार्नका लागि सबै एकजुट हुनुको बिकल्प छैन । मधेसमा आन्दोलनरत दलहरुले पनि अब सहमतिमा आइ वार्ता र छलफलबाटै समस्यालाई किनारा लगाउनेतर्फ उद्यत हुनुपर्छ । समय आउँछ पर्खदैन बगेको खोलो फर्कदैन भने जस्तै भोलि त्यस्तो दिन नआओस् जतिबेला हामीबाट ठूलो बस्तु खोसिएको होओस् वा लुटिएको होओस् । आज सिके राउत जस्ता व्यक्ति मधेसमा पृथकतावादी आन्दोलन चर्काउने दाउमा छन् । त्यस्ता तथाकथितहरुलाई तह लगाउन र मुलुकमा दीगो शान्ति स्थापनार्थ सबै एकजुट भएर अगाडि बढ्नुपर्छ । मुलुकले भरखरै संविधान प्राप्त गरेको छ, संविधानको मर्म र भावनाले त्यतिबेला मूर्त रुप लिनेछ जतिबेला देश विकासमा अगाडि बढ्छ । त्यसकारण मुलुक चलाउने ठेका लिएर बसेकाहरुले अब तात्ने बेला आइसक्यो । जनता सामू गरेका वाचाहरु पूरा गर्नुपर्छ उनीहरुले । तत्कालका लागि अरु धेरै गर्न नसके पनि सम्वन्धित निकायले नाकाबन्दीका कारण बढ्दै गएको कालोबजारीलाई रोक्न सके मात्रै पनि जनताले ठूलो राहत महसूस गर्ने थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment