0
गोल्डेन न्यूज संवाददाता
पोखराको महेन्द्रपुलमा रहेको पोखरा सार्वजनिक पुस्तकालयमा सूचना अधिकृतको रुपमा कार्यरत श्याममोहन आलेलाई शुक्रबार बिदाई गरिएको छ । उनी पोखराबाट काठमाडौं बसाइँ सर्ने भएपछि उनलाई बिदाई गरिएको हो । पोखरामा पुस्तकालय व्यवस्थापन को विज्ञको रुपमा परिचित आलेले १२ वर्षदेखि उक्त पुस्तकालयमा काम गर्दै आएका थिए । त्यस अघि उनी पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा रहेको क्षेत्रीय पुस्तकालयमा कार्यरत थिए । १२ वर्ष अघि सन् २००४ मा अमेरिकी दूतावासले आफ्ना विभिन्न गतिविधिहरु पोखरा क्षेत्रमा संचालन गर्नका लागि पोखरा सार्वजनिक पुस्तकालयलाई अमेरिकी कर्नरको रुपमा संचालन गर्दै आएको छ । हाल पुस्तकालयमा अमेरिकासंग सम्बन्धित विभिन्न सूचना र जानकारीहरु श्रव्यदृश्य माध्यममा समेत पाउन सकिन्छ । यसका साथै पुस्तकालयमा १२ हजार ५ सय बढी विभिन्न पुस्तक र ६५ भन्दा बढी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरु उपलव्ध छन् । पुस्तकालयमा विशेषगरि साहित्य, शिक्षा, विज्ञान, धर्म संस्कृति, राजनीति र व्यवस्थापन लगायत विभिन्न विधाका पुस्तक र पत्रपत्रिकाहरु अध्ययन गर्न पाठकहरु आउने गरेका छन् । 
पुस्तकालयका लाइवेरियन रामचन्द्र कार्कीका अनुसार उक्त पुस्तकालयमा दैनिक २ सय बढी पाठकहरु पुस्तक र पत्रपत्रिका अध्ययन गर्न आउने गरेका छन् । पुस्तकालय संचालक समितिका सदस्य शिरोमणि बरालले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै पुस्तकालयलाई पश्चिमाञ्चल क्षेत्रकै नमूना पुस्तकालय बनाउनका लागि गुरुयोजना तयार गर्न संचालक समिति लागिरहेको बताए । शुक्रबार अमेरिकी कर्नरको १२औं स्थापना दिवसको अवसर पारेर सूचना अधिकृत आलेको बिदाई गरिएको हो । कार्यक्रममा पुस्तकालयका अध्यक्ष डा. विश्व श्रेष्ठले पोखरा क्षेत्रमा विभिन्न सूचना र जानकारी संग्रह गरिएको महत्वपूर्ण पुस्तकालय भएपनि राज्य र स्थानीय निकायबाट अपेक्षा गरेअनुरुप सहयोग नपाएको गुनासो गरे । पुस्तकालयका पूर्व अध्यक्ष विश्वरत्न शाक्यले पोखरेली पाठकलाई अमेरिका लगायत विभिन्न मुलुकको शैक्षिक एवं अन्य आवश्यक जानकारी प्रदान गर्न पुस्तकालय सफल भएको बताए । कार्यक्रममा पुस्तकालयका सदस्य सचिव अर्जुन श्रेष्ठले सूचना अधिकृत आलेले पुस्तकालयको विकासमा पु¥याएको योगदान र पुस्तकालयका गतिविधिका बारेमा जानकारी गराएका थिए । कार्यक्रम पुस्तकालयका सह–सचिव सूर्य क्षेत्रीले पनि बोलेका थिए ।




Post a Comment

 
Top