बेल्जियमको राजधानी ब्रसेल्सदेखि करिब ११ किलोमिटर टाढा रहेको जामेन्तम अन्तर्राष्ट्रिय विमानस्थलमा गत मंगलबार भएको शक्तिशाली बम विस्फोटको विश्व मानव समुदायले निन्दा र भत्र्सना गरिरहेको छ । उक्त घटनामा करिब ३५ जनाको मृत्यु भएको छ र सयौँ व्यक्ति घाइते भएका छन् । उक्त घटनास्थल युरोपियन युनियनको बैठक स्थल पनि हो । विमानस्थल र मेट्रो स्टेसनमा इस्लामिक स्टेटद्वारा प्रतिशोधात्मक शैलीमा उक्त विस्फोटन गराइएको थियो । निर्दोष नागरिकहरुलाई यसरी अप्रत्याशित ढंगले हत्या गरेर आइएसले अत्यन्त आततायी र निन्दनीय काम गरेको विश्व जनसमुदायको अभिमत छ । स्मरणीय कुरा के छ भने पेरिस हमलाका मुख्य योजनाकार सलाह अब्देशलम पक्राउ परेको चौँथो दिनमा उक्त घटना घटेको हो । धर्मको आडमा विश्वलाई नै थर्काउने आइएसको लक्ष्य र आफ्ना नेता पक्राउ परेको विरोधमा सो समूह अहिले घाइते बाघजस्तै बनेर मानव हत्यामा उत्रेको छ । वर्तमानमा विश्व मानव समुदाय अहिले लगभग एक भएको छ भने यौटालाई परेको दुःख र आपत्तिलाई सबैले आफैँलाई परेको ठान्ने गर्दछन् । त्यसबाहेक, बेल्जियमका विभिन्न सहरमा करिब पाँच सय नेपाली विभिन्न पेसा र व्यवसाय गरेर बसिरहेको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ । अहिलेसम्म बेल्जियममा सबै नेपाली सुरक्षित रहेको दूतावास र गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले जानकारी दिएका छन् । यति हुँदाहुँदै पनि हामी नेपालीलाई उक्त दुःखदायी घटनाले आहत र स्तब्ध बनाएको छ । विश्वमा आतंकवादले नराम्रोसँग प्रभाव विस्तार गर्दै लगेको र हिंसालाई नै उसले आफ्नो प्रमुख हतियार ठानेको अनुभव गरिएको छ । तर, यथार्थ के हो भने यसरी नरसंहार गरेर कसैको सिद्धान्त र विचार परिवर्तन गराउन सकिँदैन । रगतको खोला बगाउनेहरु विगतको विश्व इतिहासमा पराजित भएर गएका छन् । आइएसले पनि यो इतिहास र तथ्य घटनालाई स्मरण गर्नु जरूरी देखिएको छ । अब हाम्रा हातहरु संगठित अपराध युद्धलाई सदाका लागि त्यागेर विश्व शान्ति र मानव कल्याणका लागि समर्पित हुनु परेको छ । हत्या र हिंसाले कहिल्यै पनि मानिसको भलो गर्न सक्तैन । अफगानिस्तानसँगको युद्धमा तालेवानले भोग्नु परेको हार मानवीय क्षतिलाई सम्झेर आइएसले अब मानवता विरोधी हतियार त्यागेर विश्व मानव कल्याणमा आफ्नो सिर्जनशील क्षमता र शक्ति खर्च गर्नु आवश्यक देखिएको छ । युद्धले अर्को युद्ध र घृणाले अर्को घृणा जन्माउँछ भन्ने स्थापित मान्यतालाई आत्मसात् गर्न अब इस्लामिक स्टेटले ढिलो गर्नुहुँदैन । जति ढिलो ग¥यो, त्यो उसैका लागि आत्मघाती र प्रत्युत्पादक सावित हुनेछ । बेल्जियममा घटेको यो दुःखद् घटना अन्यत्र दोहोरिन नदिन युरोपियन र एशियाका राष्ट्रहरुले अब थप सुरक्षा सतर्कता अपनाउनु आवश्यक देखिएको छ । आत्मघाति ठानिएको बेल्जियमको विस्फोटनले हामी सबैलाई धर्मको पागलपनविरूद्ध सचेत हुन पाठ सिकाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment