0
पोखरा ९ चैत्र ।
धादिङ–पोखरा सम्पर्क समितिमा आवद्ध विभिन्न गाविस इकाइका अध्यक्ष, प्रतिनिधि तथा समितिका सल्लाहकारहरुले पोखरामा रहेका धादिङवासी र समितिको भविष्य छलफल गरेका छन् । हालै गठन भएको धादिङ–पोखरा सम्पर्क समिति सल्यानटार इकाइ समितिद्वारा फागुपूर्णिमाको अवसरमा आयोजित भेला तथा रमाइलो वनभोज कार्यक्रममा सहभागीहरुले समितिको भविष्यप्रति चिन्ता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरुले धादिङ जन्म भइ पोखराको जुन ठाउँमा जुनसुकै पेशा गरि बसेको भएपनि धादिङको पहिचान मेटिने र बद्नाम हुने काम गर्न नहुनेमा जोड दिएका थिए । उनीहरुले धादिङवासीको हकहितमा सक्रिय हुनुपर्ने संस्था पुराना गतिविधि बाहेक केही गर्न नसकेको समेत गुनासो गरेका थिए ।
कार्यक्रममा बोल्दै धादिङ–पोखरा सम्पर्क समितिका सल्लाहकार परिषद् सदस्य वीरबहादुर थापाले पोखरामा रहेका धादिङवासी र समितिको भविष्यप्रति चिन्ता प्रकट गर्दै समितिमा सबै धादिङवासीलाई साथमा लिएर अघि बढ्न सक्ने नेतृत्व आउनुपर्नेमा जोड दिए । थापा कार्यक्रममा व्यक्तिगत रुपमा सहभागी भएका हुन् । सल्यानटार इकाइले धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष झम्क सारु मगरलाई पत्र नै काटेर कार्यक्रमको प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको इकाइका अध्यक्ष नवराज इटनीले बताएको भएपनि समितिका अध्यक्ष सारु मगर भने सहभागी भएनन्। उनको प्रतिक्षामा सल्यानटार इकाइले लामो समय खर्च गरेपनि अध्यक्ष सारु मगर सहभागी नहुँदा र उनले कुनै पनि प्रतिनिधि नपठाउँदा नरमाइलो मान्दै सल्यानटार इकाइले प्रमुख अतिथि बिनानै कार्यक्रम संचालन गरेको थियो ।
कार्यक्रममा बोल्दै आगिन्चोक इकाइका अध्यक्ष हरि पन्तले जुन गाविस इकाइले जुन कार्यक्रम गरेपनि धादिङ–पोखरा सम्पर्क समितिको मर्ममा आधारित रहि गर्नुपर्नेमा जोड दिए। उनले धादिङवासी जहाँ रहेपनि आफ्नो इज्जत, प्रतिष्ठा पहिचानमा खलल पुग्ने काम कसैले नगर्न आग्रह गरे । धादिङ समितिका सल्लाहकार समेत रहेका पन्तले जुन इकाइले जे कार्यक्रम गरेपनि मूल समितिले सहयोग एवं समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिंदै इकाइ समितिहरु मूल समितिको सहयोगीको रुपमा रहनुपर्ने बताए ।
खरी इकाइका अध्यक्ष एवं धादिङ समितिका सल्लाहकार शेरबहादुर अधिकारीले मूल समितिलाई बलियो र दरिलो बनाउनका लागि इकाइहरु गठन गर्न समितिले पहल गर्नुपर्नेमा जोड दिए । ढोला इकाइका अध्यक्ष अर्जुन भट्ट र  उपाध्यक्ष यादुप्रसाद ढकालले धादिङ समितिको भविष्यका बारेमा सबै एक ठाउँमा बसेर गम्भीर छलफल गर्नुपर्नेमा जोड दिए ।
धादिङ समितिका सह–सचिव समेत रहेका नलाङ इकाइका सचिव शम्भु अधिकारीले धादिङ समितिलाई दीर्घकालिन रुपमा संचालन विभिन्न योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिंदै समितिको गतिविधिमा इकाइहरु सहयोग गर्न तयार रहेको बताए ।
सल्यानटार इकाइका अध्यक्ष नवराज इटनीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष आइतबहादुर कुमाल, सचिव राजु थापा लगायतले पनि बोलेका थिए । उक्त अवसरमा कार्यक्रममा सहभागीहरुलाई धादिङ सल्यानटारको पहिचान झल्कने गरि निर्माण गरिएको टि–सर्ट समेत उपहार स्वरुप प्रदान गरिएको थियो ।

Post a Comment

 
Top