राजाराम पौडेल
पछिल्लो समयमा विभिन्न ठाउँमा मेला, महोत्सव लगायतका साँगीतिक कार्यक्रमको आयोजना भैरहेका छन् । यसरी आयोजना भएका कार्यक्रम लोकदोहोरी एल्बम विक्री नहुँदा पीडित कलाकारको आम्दानी गर्ने विकल्प रुपमा लिइन्छ । तर यस्ता कार्यक्रममा पहुँचवालाको हालिमुहालि बढ्दा कैयौं प्रतिभा ओझेलमा परेका छन् । जसका मारण आफ्नो प्रस्तुति राखेर साँगीतिक क्षेत्रमा अगाडि बढ्ने सपना बुनेका प्रतिभावान् कलाकारहरुको यात्रा संकटमा परेको छ । कार्यक्रममा सहभागी हुने अवसर पाएका केहि कलाकारको पारिश्रमिक समेत उचित नपाइएको र भेद्भाव हुने थाल्यो भनेर असन्तुष्ट बनेका छन् । महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइन्छ तर स्थानीय कलाकारलाई राम्रो स्थान दिनेतर्फ ध्यान दिइएको पाइँदैन । कतिपय कार्यक्रममा आयोजक र कार्यक्रम सञ्चालनको जिम्मा लिनेहरुको मिलेमतोका कारण यस्तो हुने गरेको स्रोत भनाइ छ ।
केही नाम चलेका स्थापित कलाकारले स्थानीय कलाकारलाई धेरै हेप्ने गरेको अनुभव नयाँ एवं प्रतिभा भएर पनि ओझेलमा परेका कलाकारको गुनासो छ । ती कलाकारले भने–‘यहाँ महिला कलाकारको आवाज भन्दा स्कीन हेरिन्छ । दोहोरी गीत प्रतियोगितामा पनि स्वच्छ प्रतिष्पर्धा हुँदैन । आजकाल महोत्सवमा दर्शक घट्दै जानुको एउटा कारण यो पनि हो ।’ ‘पोखरामा महोत्सव तथा कार्यक्रम धेरै हुन्छन् तर बोलाइने कलाकार सधंै एउटै हुन्छन् ।’ ती कलाकारले आक्रोशित हुँदै गोल्डेन न्यूज दैनिकसंग भने–‘विमलराज क्षेत्री, विष्णु खत्री, बीमा कुमारी दूरा, लक्ष्मी न्यौपाने, टीका पुन लगायतका चर्चित एवं स्थापित कलाकारलाई समेत स्थान दिइँदैन, पुरुषोत्तम न्यौपानेलाई वाइपास गरिन्छ किनकी उनीहरुको छाला बिक्दैन कला विक्छ उनीहरु पर्म लगाउन हिंडदैनन् । प्रतिष्ठानको एक केन्द्रिय सदस्य नयाँ तथा पुराना कलाकारले पाउनुपर्ने मात्रामा स्टेज पाउन नसकेको स्वीकार गर्छन् । राजधानीबाट विशेष आकर्षण भनेर बोलाइने कलाकारले भन्दा स्थानीय कलाकारले दर्शकलाई भरपुर मनोरञ्जन दिन सक्ने खुबी हुदाँहुदै स्थान नदिइएको उनले बताए । मेला महोत्सवको जिम्मा संस्थागत रुपमा नदिई व्यक्तिगत रुपमा दिंदा भेद्भाव बढी भएकोतर्क उनको छ ।
वि.स.२०६६ सालदेखि यो क्षेत्रमा संर्घष गरिरहेका अर्का एक कलाकार स्थानीय नयाँ तथा पुराना कलाकारले स्थान नपाएकोमा सहमत हुँदै यो समस्या समाधान हुन सहज नभएको बताउँछन् । उनले भने–‘यहाँका ठूला भनाउँदा कलाकारले निदाएको नाटक गर्ने गरेकोले यो समस्या समाधान हुन गाह्रो छ ।’ आयोजकको समेत मिलेमतो हुने गरेको भन्दै उनी यसरी गरिएको भेद्भाव लामो समय टिक्न नसक्ने बताउँछन् । उनले थपे–‘पक्षपात गर्ने गरिरहन्छन्, हेरौं कतिदिनसम्म टिक्छन् उनीहरु ।प्रतिष्ठानमा आवद्ध एक कलाकारका अनुसार कार्यक्रममा ठेक्का लिने ठेकेदारले एउटै कलाकारलाई पटक–पटक बोलाउने तर कला भएर पनि पहुँच नभएकालाई वास्ता नगर्ने प्रचलन छ । कार्यक्रममा पर्नका लागि पर्म लगाउने चलनले स्थानीय कलाकारले स्थान नपाएको उनको बुझाइ छ । कार्यक्रममा बोलाई हाले पनि पैसा थोरै दिने गरेको उनको अनुभव छ । यति हुदाँहुँदै पनि मलाई जति पैसा दिएपनि हुन्छ बोलाउनु भनेर आग्रह गर्ने कलाकारको संख्या पनि लामै रहेको उनले जानकारी दिए । आयोजकले समेत दर्शक तान्ने बाहानामा उत्ताउला गीत गाएर केहि दिन चर्चामा रहने कलाकारलाई स्थान दिँदा विकृति बढाउँदै आएको उनले बताए । उनले भने–‘दोहोरीलाई फोहरी बनाउँदै लगियो, टिपिकिल गीत गाउनेलाई गाह्रो छ ।’
पोखरामा नै रहेर केहि समयदेखि यसै क्षेत्रमा संर्घष गरिरहेकी एक गायिका लोकगीतको नाममा आएको विकृतिले समाजमा असर परेको दावी गर्छिन् । मेला र महोत्सवमा गाइने गीतमा छाडापन हुँदा त्यस्ता कार्यक्रम हेर्न पुग्नेलाई सुन्नै लाज लाग्ने गरेको उनको भनाइ छ । उनले भनिन्–‘कार्यक्रम संचालन गर्नेदेखि गीत गाउनेको चाला त्यस्तै, यस्ता गतिविधि नसच्चिए सम्म यो क्षेत्रमा सुधार हुन सक्दैन ।’ सञ्चारकर्मी समेत रहेका एक गायक दोहोरी क्षेत्रमा पहुँचवालाको मात्र हालिमुहाली बढेको तर पहुँच नहुनेको प्रतिभा ओझेलमा परेको दावी गर्छन् । मेला र महोत्सवमा सधंै एउटै कलाकारलाई अवसर दिने र यस्ता कार्यक्रममा अवसर पाउने स्थानीय कलाकारको पारिश्रमिक समेत ज्यादै न्यून हुने गरेको उनले दुःखेसो पोखे । महोत्सव आयोजकले काठमाडौंबाट आउने कलाकारले ३० देखि ४० हजार रुपैयाँसम्म पाउने तर स्थानीय कलाकारलाई ३ देखि चार हजा रुपैयाँ भन्दा नपाउने उनको गुनासो छ । उनले भने–‘गीत नै नहुने, गाउन पनि नसक्नेलाई दिन–दिनै स्टेजमा अवसर दिने, क्षमता भएकाले ठूला बडालाई खुट्टामानै ढोग्नुपर्ने अवस्था छ ।’ पाउने रकम पनि हस्ताक्षर नगरि खाममा हालेर दिने गरेको भन्दै उनले कुनै बेला त खाममा नै नराखी त्यतिकै हातमा नै रकम दिने गरेको बताए । त्यतिमात्र नभएर स्टेजमा बोलाउदाँ स्थानीय कलाकारको बारेमा केही नबोल्ने तर काठमाडांैबाट आउने कलाकारको खूब प्रशंसा गर्ने प्रचलन पनि रहेको उनले बताए ।
एउटा गीत गाएका कलाकार लाई चर्चित कलाकार भनेर स्टेज दिने तर दशकांैदेखि यो क्षेत्रमा अनवरत संर्घष गरेकालाई नव कलाकार भन्दै होच्याउने गरेकोप्रति धेरै कलाकारको असन्तुष्टि छ । ‘खरायो छिटो दौडिएपनि जित कछुवाकै भएझै सबैको पालो एकपटक आउने कलाकारहरुको विश्वास छ । हामीलाई आज ठाउँ दिए भोलि सम्मान गरिन्छ नदिए के हुन्छ समयले बताउछ, जाने एकैै ठाउँमा हो । कोहि ढिलो कोहि छिटो तर दिन सबैको आउँछ’– ओझेलमा परेका कलाकारहरु बताउँछन् । प्रतिष्ठानमा आवद्ध अर्का एक कलाकारले कार्यक्रमको जिम्मा लिने कलाकारले पर्म लाउन खोज्दा समस्या परेको बताउछन् । उनले भने–‘अरु ठाउँमा जसले जिम्मा लिन्छ उसलाई बोलाए पछि आफू जान पाइन्छ भनेर पर्म लाउछन् ।’ यो क्षेत्रमा नातावाद–कृपावाद गर्नेलाइ नै उल्टो वरिष्ठ भन्नु पर्नेे अवस्था आएको उनले गुनासो गरे । सोचेजस्तो पारिश्रमिक नपाउँदा मन नबुझि–नबुझि बाध्य भएर लिएर हिंड्नुपर्ने बाध्यता हुने गरेको उनले बताए । नेतृत्वमा पुगेकाहरुले बाँडेर खाने परम्पराका कारण यस्तो अवस्था आएको उनले बताए । यस्ता कार्यक्रममा कलाकारलाई पहिला–पहिला खाजा दिने, मायाको चिनो दिने गरेपनि अहिले त्यो हटेको उनले दुःखेसो गरे। प्रतिष्ठानको आवद्ध अर्का एक कलाकार यताकोलाई उता बोलाउने र उताकोलाई यता बोलाएर पर्म लगाउदा क्षमता भएकाले पनि अवसर नपाएको बताउँछन् । उनले भने–‘नेतृत्वमा रहनेले आफ्नो व्यक्तिगत पावरको सदुपयोग गर्दा यस्तो भएको हो ।’ आयोजकले नाम नै तोकेका कलाकारबाहेक अन्य कलाकार राख्दा स्थानीय कलाकारलाई स्थान दिनुपर्ने उनको भनाइ छ । काठमाडौंका कलाकार ल्याउनै हुन्न भनेर अडान लिन राम्रो नहुने भएपनि बढि भन्दा बढि स्थानीय कलाकारलाई स्थान दिन सकिने उको तर्क छ । यस्ता कार्यक्रममा प्रस्तुति राखेबापत कसले कति खायो भन्ने कुरा पत्तै नहुने उनको अनुभव छ । संयोजनको जिम्मा लिने व्यक्तिले बीचमा बसेर कमिशन खाने गरेको उनको आशंका छ । उनले भने–‘आर्थिक पारदर्शिता देखिदैन । आफ्नो हातको डाँडु पनिउँ व्यक्तिगत स्वार्थका लागि सदुपयोग गर्ने प्रवृत्ति छ ।’ एउटा महोत्सवमा लगेको कलाकारलाई नदो¥याई पालै–पालो अवसर दिने हो सहज हुने उनले बताए । एउटै पैसामा दुई दिनसम्म गीत गाउन लगाउने गरेको समेत उनको अनुभव छ । उनले भने–‘एक हजार रुपयाँ मात्रै दिएपनि रसिदमार्फत कर कट्टा गरि हस्ताक्षर नै गराए दिनुपर्छ ।’ आर्थिक पारदर्शिता नहुँदा कुन कलाकारले कति पाउँछन् पत्तो नै नहुने उनको भनाइ छ । लोकदोहोरी क्षेत्रमै संर्घष गरिरहेका एक कलाकार कोठे बैठक गरेर कलाकारको छनोट गर्दा सामान्य सुर तालको बारेमा जानकारी नभएकाले समेत मौका पाएको तर क्षमतावान कलाकारले स्थान नपाएको बताउछन् । १३ दिनको महोत्सवमा कोही १३ दिन नै त कोही ८ दिन पुग्ने तर कला, गला र क्षमता भएका कलाकारलाई स्थान नदिने गरिएको उनी बताउँछन् । महोत्सवमा प्रस्तुति राखे बापत एक हजारदेखि एकहजार पाँचसय रुपैयाँ भन्दा बढी नदिने गरेको उनको गुनासो छ ।
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहाल भने यो क्षेत्रमा पहिलाको तुलनामा निकै सुधार भएको दावी गर्छन् । उनले भने–‘राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीको जिम्मामा आएका हरेक कार्यक्रम पारदर्शी छन्, कलाकारको पारिश्रमिक पनि पहिला भन्दा बढेको छ ।’ आफ्नो कार्यकालमा प्रतिष्ठान सामाजिक कार्यमा समर्पित रहँदै आएको र प्रतिष्ठानको अक्षयकोषमा रकम थप्न समेत सफल भएको उनको भनाइ छ । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष शिवहरि ढुगांनाले कास्की प्रतिष्ठानले कलाकारलाई अवसर प्रदान गर्न पहलकदमी मात्र नभइ कार्यक्रममा सहभागी हुने कलाकारको आम्दानीमा समेत वृद्धि गराउन सफल भएको बताए । उनले आर्थिक पारदर्शिता पहिला भन्दा अहिले हुने गरेको बताए । उनीहरुले यसो भनिरहँदा नेतृत्वमा रहेकाहरुले कलाकारको हकहितका लागि आवश्यक पहल गर्नुको सट्टा आफ्नो स्वार्थमा मात्र काम गर्ने गरेको कारण यस क्षेत्रमा विकृति बढेको बताइन्छ । यस क्षेत्रमा आयोजना हुने मेला र महोत्सवमा पहुँचवाला कलाकारले मात्र दैनिक अवसर पाउने गरेको देखिन्छ । त्यति मात्र नभएर उसकै आग्रहमा बाहिरबाट कलाकार बोलाउँदा बाहिर आयोजना हुने कार्यक्रममा समेत उसले सजिलै अवसर पाउँदै आएको बताइन्छ ।
Post a Comment