0
गोल्डेन न्यूज संवाददाता
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठकको पूर्वसन्ध्यामा  हिजोदेखि पोखरामा जारी कार्यक्रम समितिको ५२ औँ बैठक आज हुने स्थायी समितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदन अनुमोदन गर्दै मंगलबार सम्पन्न भयो । बैठकले साउथ एशियन युनिभर्सिटी, सार्क डेभलपमेन्ट फन्ड, सार्क आर्विटेसन काउन्सिल, साउथ एशियन रिजनल स्टाण्डर्डस् अर्गनाइजेसन लगायत नयाँ विषयको रुपमा सामुदायिक वनको प्रतिवेदन उपर छलफल गरी एजेन्डालाई अन्तिम रुप दिएको छ । त्यसै गरि कृषि, भेटेनरी, कृषि बैक, योजनामा आधारित सहयोग, आतंकवाद र लागू औषध, सूचना र संचार, सार्क क्षेत्रीय केन्द्रको प्रशासन र आर्थिक विषय, सार्क इनर्जी सेन्टरको क्रियाकलाप, क्षेत्रीय योजना परिषद् स्थापना, सार्क क्यालेन्डर पुनरावलोकन बारे छलफल भएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव सम्मिलित उक्त बैठकको निर्णय स्थायी समितिमा लैजाने एजेन्डाबारे निर्णयस्वरुप अन्तिम रुप दिइएकोे परराष्ट्र मन्त्रालय सार्क महाशाखा प्रमुख एवं कार्यक्रम समिति संयोजक सहसचिव मणिप्रसाद भट्टराईले जानकारी दिए । सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा सहसचिव भट्टराईले दिएको जानकारी अनुसार विभिन्न ८ विषयका प्रस्तावमाथि छलफल भएको छ । उनले छलफल अत्यन्तै सौहार्दपूर्ण र उत्साहजनक भएको र पोखरा बैठकले सार्क सदस्य राष्ट्रलाई अझै मजबुद हुने बताए । बैठक अध्यक्षता परराष्ट्र मन्त्रालय सार्क महाशाखा प्रमुख भट्टराईले गरेका थिए । बैठकमा फिप्टी–सेकेन्ड अफ द प्रोग्रामिङ कमिटी अन्तर्गत ८ राष्ट्रका परराष्ट्र मन्त्रालयका सहसचिव लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो । प्रत्येक सदस्य राष्ट्रबाट ३ देखि ५ जनासम्मको सहभागिता थियो । बैठकमा ३७ जना सहभागी थिए । बुधबार तेस्रो दिन स्थायी समिति बैठक हुनेछ । अन्तिम दिन ४ चैतमा परराष्ट्र मन्त्रीस्तरीय बैठक संचालन हुनेछ ।
परराष्ट्र मन्त्रीपरिषद्को दिनको बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उ्द्घाटन गर्ने कार्यक्रम छ । मन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद काजाई मंगलबार पोखरा आएका छन् । यसैबीच पोखरामा जारी सार्क मन्त्रीस्तरीय बैठकका दौरान भारत र पाकिस्तानबीच द्विपक्षीय वार्ता हुने भएको छ । भारतीय मिडियाका अनुसार बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानका प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार सर्ताज अजिजबीच वार्ता हुनेछ । भारतीय उच्च स्रातलाई हवाला दिँदै लेखिएको छ, ‘स्वराज र अजिजबीच चैत ४ गते पोखरामा वार्ता हुने भनिएको छ । यद्यपि यस विषयमा भारतीय पक्षले आधिकारिक जानकारी दिएको छैन ।’ भेटका दौरानका अजिजले भारतीय विदेशमन्त्री सवाराजलाई यसै वर्ष पाकिस्तानमा हुने सार्क सम्मेलनमा भाग लिनका लागि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको भारतीय समकक्षी नरेन्द्र मोदीलाई निम्तो हस्तान्तरण गर्ने बताइएको छ । अजिजले यही विषयमा सम्मेलनमा भाग लिन आएका अन्य देशका प्रतिनिधिहरु सँग पनि भेट गर्नेछन् । १९ औं सार्क शिखर सम्मेलन यही वर्षको नोभेम्बर महिनामा पाकिस्तानको इस्लामाबादमा हुने भनिएको छ । गत वर्षको डिसेम्बर ९ मा दुई देशले विस्तृत द्विपक्षीय संवादको थालिने गर्ने घोषणा गरेपछिको पहिलो वार्ता हुनेछ । मन्त्रीस्तरीय बैठककै दौरान भारतका विदेश सचिव एस जयशंकर र पाकिस्तानी समकक्षी अइजाज अहमद चौधरीबीच पनि वार्ताको वातावरण मिलाइदै गरेको समाचारमा उल्लेख छ । जनवरी २ मा भारतको पठानकोटमा भएको आतंकवादी हमलापछि दुई देशबीचको सम्बन्ध चिसिएको छ । यसअघि डिसेम्बर २५ का दिन मोदीले सरिफको जन्मदिनमा लाहोरको आकस्मिक भ्रमण गरेका थिए ।









Post a Comment

 
Top