गोल्डेन न्यूज संवाददाता
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा सुविधा सम्पन्न होटल पोखरा गुडविल सञ्चालनमा आएको छ । सुरुको एक महिना २५ प्रतिशत छुट दिने गरी गुडविल ग्रुप अन्तर्गत होटल सञ्चालनमा आएको हो । बुधवार आयोजित पत्रकार सम्मेलनमा ग्रुपका प्रबन्ध निर्देशक मदन केसीले तीन वर्षको मिहनेत र परिश्रमबाट होटल सञ्चालनमा ल्याएको बताए । होटलमा दुई वटा स्वीट, ६ वटा सुपर डिलक्स, ३२ वटा डिलक्स र एउटा फेमिली रुम सहित ४१ कोठा छन् । केसीका अनुसार होटलका सबै कोठाहरु वातानुकुलित छन् । होटलमा मिनी वार, फ्रि वाइफाई, टिभि र टेलिफोन सहितका सेवा उपलब्ध छन् । होटलमा लिफ्टको पनि व्यवस्था छ ।
गुडविल ग्रुप अन्तर्गत होटल सहित गुडविल ट्राभल, गुडविल ट्रेकिङ, गुडविल स्पा एण्ड ब्युटी पार्लर, रेष्टुरेन्ट एण्ड वार, कफि एण्ड आइसक्रिम, सपिङ्ग सेन्टर पनि सञ्चालनमा ल्याएको केसीले जानकारी दिए । होटल भित्र सुविधा सम्पन्न कर फ्रेन्स हल, मिटिङ्ग हल सहित अन्डरग्राउण्ड पार्किङको पनि ब्यवस्था छ । होटलमा रुफ टप गार्डेन पनि छ जहाँबाट फेवाताल सहित हिमाली श्रृङ्खला स्पष्ट देख्न सकिन्छ । होटल सञ्चालनमा आएको अवसरमा एक महिना सम्म २५ प्रतिशत छुटको व्यवस्था गरिएको केसीले बताए । होटलमा रहेको स्वीट रुमको विदेशीका लागि एक रातको एक सय १० डलर र नेपालीको लागि ८ हजार रुपैयाँ पर्नेछ ।
त्यस्तै सुपर डिलक्समा विदेशीलाई ६० डलर तथा नेपालीका लागि ४५ सय रुपैयाँ पर्नेछ । डिलक्स रुमको लागि विदेशीलाई ४० डलर र नेपालीको लागि तीन हजार रुपैयाँ पर्ने केसीले जानकारी दिए । होटलमा अहिले २९ जनाले रोजगारी पाएका छन् । आगामी दिनमा कर्मचारीहरु थप्नुको साथै होटलका सेवा सुविधामा पनि बृद्धि गरिने बताइएको छ । होटल सञ्चालनको लागि ११ करोड रुपैयाँ लागत अनुमान गरिएपनि देशको पछिल्लो अबस्थाले केहि ढिला हँुदा खर्च बढ्न गएको केसीले बताए । होटलमा केसीको एकल लगानी छ ।
Post a Comment