नेपाली कांग्रेसका पुराना नेता दूर्गा सुवेदीलाई गत शुक्रबार नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले भेट्न बोलाएका थिए । सो भेटमा डा. भट्टराईले नयाँ शक्तिको सम्मानित नेता भएर बसिदिन गरेको आग्रहलाई सुवेदीले अस्वीकार गरे । यद्यपि सुवेदीले नेपाली कांग्रेस परित्याग गरेको धेरै वर्ष बितिसकेको छ । बिराटनगरका चर्चित कांग्रेस नेता सुवेदीलाई काठमाडौंको धापासीस्थित उनकै निवासमा पुगेर हामीले कांग्रेस किन परित्याग गर्नुभयो भन्ने प्रश्न सोध्यौं । उनले बीपी कोइरालासँग कुटाकुट भएको स्मरण सुनाए । त्यसपछि हामीले शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शशांक कोइरालाका बारेमा सोध्यौं, जसको जवाफ उनले यसरी दिए ः
म भद्रगोल जेलमा हुँदा रामचन्द्र पौडेलसँग सँगै बसेको थिएँ । रामचन्द्र, शेरबहादुर देउवा, किसुनजी सबै सँगै थियौं । अनि केपी ओली, मोहनचन्द्र अधिकारी पनि त्यहीँ थिएँ । रामचन्द्र पौडेल कोही न कोहीसँग सैद्धान्तिक कुरामा बहस गरिराख्थे । शेरबहादुर गाँजा खाएर बस्थे । हरिबोल भट्टराई र शेरबहादुरहरुको एउटा टिम थियो, एउटा कोठामा बस्ने गाँजा खाने । रामचन्द्र पौडेलचाँहि सिके प्रसाई, मोहनचन्द्र अधिकारीहरुसँग छलफल गर्थे । बारम्बार उनी त्यही गर्थे, अर्को कुरा जान्दैनथे । सिके प्रसाईले किताब ल्याइदिनुहुन्थ्यो, उनी पढिरहन्थे । जेलमा म एक्लै ल्याइएको थिएँ, मैले उनीहरुसँगै ‘डिपेन्ड’ हुनुपथ्र्यो । मलाई सिके प्रसाई, सरोज कोइरालाहरुले नुहाउने साबुन, तौलिया किनिदिन्थे ।
रामचन्द्रलाई मन्त्री भएपछि चिनियो
जेलमा रामचन्द्र पौडेललाई देख्दा मलाई के लाग्थ्यो भने संस्कृत पाठशाला पढेर आएका यिनी साँच्चै नै सिरियस छन् । र, यिनी जनताको मनमा बस्छन् भन्ने लागेको थियो । ०४६ सालको आन्दोलनसम्म पनि यिनै त्यसै गरी बोल्थे, व्यवहार गर्थे । तर, रामचन्द्र जब मन्त्री भए, त्यसपछि यिनले आफ्ना मान्छेलाई मात्रै भर्ती गर्न थाले । नेपालका मन्त्री भएनन्, तनहुँका मात्रै मन्त्री भए उनी ।
मैले एकदिन उहाँलाई भनें, ओ रामचन्द्रजी, तपाईले यसरी तनहुँका मान्छेलाई मात्रै नोकरी दिएर तपाईको इमेज बन्दैन । तपाईले मन्त्री हुँदा पूर्वको एउटा, पश्चिमको एउटा मान्छे पनि राख्नोस् न । ती मान्छेहरु तपाईलाई काम आउलान् । रामचन्द्र पौडेलजी सभामुख हुनुभो । सभामुख भएपछि लङ्ग कोट लगाएर आउनु भो । लङ्ग कोट लगाएको, भित्र टाई लगाएको, एकदमै भएर आउनुभो । मैले भनें, ए रामचन्द्रजी, यो त विदेशी ड्रेस हो । तपाई सभामुख हुनुहुन्छ, सभामुखको आफ्नै प्रतिष्ठा हुन्छ । आफ्नै गरिमा हुन्छ, किन तपाई यस्तो लगाएर हिँड्नुहुन्छ ? कि टोपी लगाउँनोस्, कि दौरा सुरुवाल लगाउनोस् । पदमा रहुञ्जेल पदको हैसियतमा रहनोस् । मैले यो भनेपछि उहाँले ‘ह्या तपाई खाली आदर्शको कुरा गर्नुहुन्छ, त्यसरी चल्दैन’ भन्नुभयो । त्यसपछि मैले भनें–त्यसो भए अब तपाईको पनि चल्दैन ।
किनभने घर बनाउन पनि कहीँ न कहीँ सैद्धान्तिक आधार हुन्छ, जीवन चलाउन पनि सैद्धान्तिक आधार हुन्छ । तपाई जुन पृष्ठभूमिबाट आउनुभएको छ, त्यसैमा हिँड्नोस्, एउटा प्रतीक हुनुहुन्छ । कृष्णप्रसाद भट्टराई सरलताको प्रतीक भएर जानुभो । मनमोहन अधिकारीले प्रधानमन्त्री हुँदा बूढापाकालाई भत्ता दिएर प्रतीक बनेर गए । आफ्नो गाउँ आफैं बनाऔं भने । गाउँका बूढापाकाले अहिले पनि सम्झन्छन् मनमोहनलाई । यस्तो केही नगर्ने र खाली पदमा मात्रै बस्ने हो भने तपाई केही गर्न सक्नुहुन्न ।
अब शेरबहादुरले राम्रो काम नगरेको अवस्थामा रामचन्द्र त्यसको विकल्प बन्न सक्छन् । देउवाले पार्टीलाई नयाँ उर्जा दिन सकेनन् भने रामचन्द्रको अझै पनि एकपल्ट सम्भावना छ ।
शेरबहादुर चलाख छन्, तर ‘जाँड पार्टी’ ले चिनिन्छ
शेरबहादुरको के छ भने उनी नेविसंघको महासचिव हुँदा देश घुमे । सबैले चिने । यसरी उनले जरा गाढे । रामचन्द्रजीले सकेनन् । देशभरिबाट मान्छेहरु टिप्नुपर्थ्यो नि । एउटा पनि त्यस्तो मान्छेलाई रामचन्द्रजीले सपोर्ट गरेनन् । उनले तनहुँबाहेक अरुतिरका मान्छे नै देखेनन् । शेरबहादुर केमा चलाख छन् भने आफ्नो भलो हुनका लागि उनी जोसँग पनि तयार छन् । राजासँग पनि तयार छन्, जनतासँग पनि तयार छन् । आफ्नो भलाइ हुनुपर्रुयो, म बाँच्नु वा सर्भाइभ गर्छु भन्यो भने उनले काँही पनि छाड्दैनन् । यस्तो डाइनामिक्स नेपालको फोहोरी राजनीतिमा काम लाग्छ । यहाँ जुन डर्टी पोलिटिक्स छ, यसमा शेरबहादुरै ठीक छन् ।
शेरबहादुरले अब पद पाइसके पछि धेरै कुरा सोच्नुपर्छ । कांग्रेसको एउटा लिगेसी छ, भट्टराई छन्, गणेशमान छन्, अब त्यो परम्परालाई जोड्ने त्यस्तो नेता को हो ? शेरबहादुर हो कि होइन ? अब देखाउन सक्नुपर्छ । होइन भने अब कांग्रेस तहस–नहस हुन्छ । तर, देउवासँग यस्तो सोचाइ नै भएन । जाँड पार्टीले नै चिन्छ उनलाई । जहाँ गए पनि त्यही गर्छन् । जिल्लामा गयो भने त्यहीँ जाँड पार्टी गरिहाल्छन् । अहिले त्यो जमातको पार्टी हो नेपाली कांग्रेस । अहिले नेतृत्वमा आएको टीम त्यही हो ।
शशांक जन्मँदैका जर्नेल !शशांक लिगेसीबाट त आएका हुन् नि । वीपीको छोरा नभएको भए उनी यहाँ आइपुग्ने थिएनन् । जन्मँदै जर्नेल । म जेलमा पर्दा वा पार्टीको काम गर्दा शशांक डाक्टरी पढ्दै थिए । अहिले कांग्रेस कस्तो भइसकेको छ भने सत्तामा हुँदा ८र१० हजार मान्छेले दलाली काम गरेर खाएका थिए ।
कर्मचारीलाई सरुवा गरिदिन्छु भन्यो, पाँच हजार रुपैयाँ लियो, कसैलाई सरुवा रोकिदिन्छु भनेर पाँच हजार रुपैयाँ लियो । यसै गरेर बसेका थिए मान्छे यहाँ । ती कांग्रेसका कार्यकर्ताहरु हुन् । तिनीहरु सत्ताविना रन्थनिएका छन्, छटपटिइराखेका छन् । अहिले तिनीहरुलाई सत्ता चाहिएको छ । अनि तिनीहरुकै प्रेसरले नेपाली कांग्रेस सत्तामा जान्छ । जान्छ जान्छ, तिनीहरुकै प्रेसरबाट जान्छ ।
जस्तो राजतन्त्रको लिगेसी छ, कांग्रेस पनि प्रजातन्त्रको लिगेसी त हो नि । कांग्रेस हुनका लागि कसैलाई सम्झाउनुपर्दैन । यसको थ्यौरी पनि आवश्यक पर्दैन । तर, अहिले आर्दश हैन, अर्थमा गयो कांग्रेस । अहिले बुथ कमिटीबाट आउनका लागि ५ लाख । जिल्ला समितिको सदस्य बन्नका लागि १५ लाख । अनि कुन वर्ग आउँछ कांग्रेसमा ? को आयो पार्टीको नेतृत्वमा भन्दा त्यहाँको शोषक फटाहा र जाली आउने भयो । कि तस्कर आउने भयो । अरुसँग पैसा छैन । पैसा त कि तस्करसँग हुन्छ, कि शोषकसँग हुन्छ । ती मान्छेमात्रै आउँछन् ।
आदर्शले चुनाव जित्दैन कांग्रेसले । कुनै प्रचार पनि गर्नुपर्दैन, किन्ने हो । मत किन्ने, मत बेच्ने । पार्टीको तलदेखि माथिसम्म नै ‘पोलुटेड’ भएर आयो । ‘पोलुटेड’ भइसकेपछि त्यसैले अन्तिम निर्णय निकाल्छ, त्यो खत्तमै भएर जान्छ । तर, यो भोट प्याट्रन धेरै दिन चल्दैन । अहिले पार्टीलाई नयाँ उर्जा दिनुपर्ने आवश्यकता छ । नेपाली कांग्रेसले आदर्शको राजनीति छाडेको छ ।
वीपीले मलाई कुटे
ओखलढुंगा काण्डमा मसँगै बसेका बच्चाहरु राम–लक्ष्मण मारिइसकेपछि मैले पार्टीमा कुरा उठाएँ । म बनारसमा दुई दिनसम्म खानै नखाइकन बसें । त्यसपछि वीपीलाई गएर भनें–तपाईको छोराचाँहि पढ्ने, अनि गरीबका छोरालाई चाहिँ मर्न पठाउने ? गिरिजाबाबु किन जानुभएन ओखलढुंगा ? सुशील कोइराला त्यहाँ किन गएनन् ? किन पठाउनुभएन उनीहरुलाई ? वीपीले त्यस्तो हुँदैन, बच्चाहरु पढ्छन्, पछि काम गर्छन्, ओखलढुंगाको लडाइँ असफल भयो, अनि तिमी यस्तो कुरा गर्छौ भन्नुभयो ।
उहाँको जवाफ मलाई चित्त बुझेन । मैले भनें–तपाईले आफ्ना सन्तानलाई चाहिँ बचाउने, भोलि यिनीहरुलाई शासक बनाउनुहुन्छ भन्ने थाहा छ मलाई । तपाईले राम–लक्ष्मणहरुलाई मराएर यस्तो घातक काम गर्नु भो, म तपाईको पार्टीमा बस्दिँन । त्यहाँ तपाईको कोही आफन्त मरेको भए म यो कुरा गर्ने थिइँन । तपाईको छोरो
(शशांक) भोलि शासक हुन्छन् । शेखर त्यहीँ पढ्दैछन्, सुजाता कोलकातामा पढ्दैछिन् । यिनैले भोलि गएर हामीलाई शासन गर्छन् । यस्तो पार्टीमा म किन बस्छु ? मलाई चाहिएन यो पार्टी । त्यसपछि त त्यहाँ कुटाकुटै भयो नि । मलाई हाने । कुटे । मुख छाड्छौ ? भन्दै वीपी आफैंले मलाई हाने । मैले कितावमा लेखिदिएको छु । नेपालयले छाप्दैछ मेरो त्यो किताब ।
माओत्सेतुङकी श्रीमती मारिइन, छोरो पनि मर्रुयो । वीपीचाँहि बनारसमा बसेर जनताका, गरीबका छोराछोरी मराउने ? फेरि त्यो ओखलढुंगा सेनासँग जित्ने ठाउँ थिएन । १५र२० जना मान्छेले सेनाको त्यत्रो ब्यारेकसँग लड्न सक्छ ? सेनासँग लड्ने तागत थियो उनीहरुसँग ? दाहालहरुलाई पठाएर त्यो नचाहिने काम के गरेको ?
राजालाई गलाउन खोजेका थिए, आफैं गले
वीपीले त्यो प्रेसरको पोलिटिक्स गरेको हो क्या । राजालाई दबाव दिने । मैले गरें भनेर देखाउँने अनि राजासित सम्झौता गर्ने । त्यो रहेछ वीपीको रणनीति । तर, यसबाट राजालाई दबाव पनि भएन, राजा प्रेसरमा पनि परेनन् । अनि वीपी आत्मसमर्पण गर्न भारतबाट नेपाल आए । बडो बुद्धिमत्तापूर्ण तरिकाले वीपीले आत्मसमर्पण गरे । र, पार्टीलाई बचाए । त्यहाँ (भारत) मा बसेर त्यसै खस्रक्क हुनुभन्दा नेपाल जान्छु भनेर राम्रो निर्णय गरे । राम्रो काम गरे । कतिपयले उनलाई दक्षिण भारत गएर बस भनेका थिए । उनी नेपालमा आए । मलाई जेलमा भेट्दा उनले भनेका थिए ।
मैले नेपाली कांग्रेस त्यही ओखलढुंगा काण्डपछि छाडेको हुँ । म अहिले बाँचेको छु, यसैमा मलाई एकदमै सन्तुष्टि छ । जुन दिन ओखलढुंगामा राम–लक्ष्मण मारिए, त्यसको भोलिपल्टै मैले कांग्रेस छाडेको हुँ । त्यसपछि त म पक्राउ परिहालें । प्लेन हाइज्याकिङको मुद्दामा म जेल परें । त्यो ठूलो अन्तर्राष्ट्रिय मुद्दा हो ।
वीपीलाई दबाव दिन हामीलाई पक्राउ गरियो । दबावका लागि हामीलाई बन्धक बनाएको हो पञ्चायतले । म लगायत ५र७ जनालाई पक्राउ गरियो । सुशील कोइराला पनि त्यहीबेला पक्राउ परे । मनहरी बराल, विनोद अर्याल, बसन्त भट्टराईलगायत पक्राउ प¥यौं । र, अन्त्यमा
प्रचण्डले सकेनन्, बाबुरामसँग खाका छैन
प्रचण्ड काठमाडौं पहिलोचोटि आउँदा धेरै मान्छेले स्वागत गरेका थिए । राजाको भन्दा ठूलो मास उनको पक्षमा थियो । तर, उनले यो साख बचाउन सकेनन् । उनी चुनाव नलडी सेरेमोनियल भएर बस्नुपर्थ्यो । तर, उनमा त ‘पावर हङ्गर’ रहेछ । उनले केही गर्न सक्दैनन् । बाबुरामले नयाँ शक्तिमा लागौं भनेर मलाई बोलाउनुभएको थियो । मैले तपाईको पार्टीमा लाग्दिँन भनें । मैले राजनीति गर्दा पढिरहेका मान्छे अहिले कांग्रेसमा शासक बनेका छन् । तपाईहरुकोमा पनि त्यही भयो ।
मैले उहाँलाई भनें,तपाईले अहिले पनि जनताका कुनै इस्यु पक्डिनुभएको छैन । किसानमा तपाईले के गर्नुहुन्छ, मजदुरमा के गर्नुहुन्छ ? के दिनुहुन्छ तपाईले ? कसरी उत्थान गर्नुहुन्छ ? यसको केही पनि खाका छैन उहाँसँग । व्यक्तिगत रुपमा तपाईहरुभन्दा कम खराव नेता हो । तर, तपाईसँग स्पष्ट खाका छैन । तपाईसँग आएका मान्छेहरु आ–आफ्नै स्वार्थले आएका छन् ।
हामी इन्भर्टर किनेर बसेका छौं, बिजुलीको पनि बिल तिर्छौं । पानीको बिल पनि तिर्छौं, तर पानी किनेर खान्छौं । यो इस्यु त इस्यु हो नि । यो इस्यु उठाउनोस् त, हामी उभिन्छौं । बाबुरामले तपाई अभिभावक भएर बसिदिनोस् भन्नुभयो, मैले भनें, म त्यसरी बस्ने मान्छे होइन, मलाई त फ्रन्ट लाइन चाहिन्छ । म त सक्रिय राजनीति गर्ने मान्छे हुँ । मैले बाबुरामलाई यही भनें ।
मेरो भित्री मन के छ भने कसैले जनताको पक्षमा आवाज उठाएको दिन त्यसको पक्षमा उभिन्छु । तल्लो वर्गको उत्थान गर्नका लागि कसैले साँच्चै नै हात हाल्छ भने म त्यसलाई सहयोग गर्न तयार छु । साँच्चै नै कसैले तल्लो वर्गका लागि काम गर्छ भने म सक्रिय भएर लाग्न पनि तयार छु । तर, मेरो मान्यता के छ भने शासक बन्ने हो भने डेमोक्रेटिक विधिबाट बन्नुपर्छ । यसका लागि हुने राजनीतिक मुभमेन्टहरु सभ्य र सुशील हुनुपर्छ । गान्धीले गरेजस्तै जनताको विश्वास जित्ने खालको हुनुपर्छ । गान्धी सुरुमा एक्लै थिए । उनी हरेक गाउँमा जान्थे, जहाँ फोहोर छ, त्यहाँ जान्थे ।
(साभार ः अनलाइन खबर)
Post a Comment