0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मंगलबार आफ्नै निवासमा चियापान कार्यक्रम राखेर सभापति शेरबहादुर देउवासहित नयाँ नेतृत्वलाई निम्त्याए । देउवाले पनि पौडेलको हात उठाएर नेता–कार्यकर्ता एवं सञ्चारकर्मीमाझ जितको खुसी साटे । त्यसको अघिल्लो दिनमात्रै देउवा र पौडेलबीच बुढानीलकण्ठस्थित देउवानिवासमा ‘वान टु वान’ वार्ता भएको थियो, जुन वार्ताबारे धेरैले सुइँको पाएनन् । सोही वार्तापछि चुनावी तिक्तता मेट्ने प्रयासमा पौडेलले आफ्नै निवासमा चियापनका लागि देउवालाई बोलाएका हुन् । कांग्रेसको १३ औं महाधिवेशनमा पार्टी सभापति पदका तीन उम्मेदवार थिए । तर, प्रतिस्पर्धा देउवा र पौडेलबीच भएको थियो । दोस्रो चरणमा चुनाव जित्दै देउवा कांग्रेसको सभापति बने । पौडेल बरिष्ठ नेता बनेर बस्न बाध्य भए ।
के भयो ‘वान टु वान’ वार्तामा ?
सभापतिमा निर्वाचित भएपछि देउवाले आफ्नो समूह र अरु नेताहरुसँग पनि कुराकानी थालेका छन् । त्यसैक्रममा सभापतिमा पराजित सांस्थापन समूहका नेता पौडेलसँग पनि उनले कुराकानी गरेका हुन् । स्रोतका अनुसार पौडेलसँगको भेटमा देउवाले आफूले अब सबैलाई मिलाएर लैजाने आश्वासन दिएका छन् । पौडेलले भने कसरी मिलाएर लैजानुहुन्छ भन्दै देउवासँग ठोस प्रस्ताव मागेका छन् । बूढानीलकण्ठको भेटपछि रामचन्द्र पौडेलले देउवासँग ‘संसदीय दलको नेता मागे’ को चर्चा कांग्रेसमा निकै छ । तर, देउवा र पौडेल निकटवर्तीहरुले यसलाई अस्वीकार गरेका छन् । पौडेलनिकट एक नेताले भने– ‘सभापतिले सबैलाई मिलाएर लैजान्छु भनेपछि पौडेलले कसरी मिलाउनुहुन्छ भनेर सोध्नुभएको हो, आफ्ना लागि कुनै पद मागेको होइन ।’ देउवा निकट एक नेताले पनि पौडेलले सबैलाई कसरी मिलाएर लैजानुहुन्छ भनेर प्रस्ताव मागेको तर, कुनै विशेष पद नमागेको बताए ।
देउवाले देलान् त ?
पौडेलले मुखै खोलेर नमागे पनि यो विषय बहसमा आएको छ । सबैलाई मिलाएर लैजाने देउवालाई मौका आएको भन्दै केहीले पौडेललाई संसदीय दलको नेता बनाउन सुझाएका पनि छन् । विश्लेषक पुरुषोतम दाहालले एक अन्तरवार्तामा सभापति हुने देउवाको इच्छा पूरा भएको र पौडेलको इच्छा प्रधानमन्त्री हुने भएकाले अब दलको नेता बनाउन सल्लाह दिएका छन् । कांग्रेसको विधानमा सभापति नै संसदीय दलको नेता हुनुपर्छ भन्ने छैन । दहालले भनेजस्तै देउवा तीनपटक प्रधानमन्त्री भइसकेका छन् । रामचन्द्र पौडेल १७ पटक प्रयास गर्दा पनि प्रधानमन्त्री हुन सकेका छैनन् ।
उसो भए देउवाले पौडेललाई संसदीय दलको नेता बनाउँला त ? यो सम्भावना निकै कम छ भन्छन् कांग्रेसका एक नेता । उनले भने,–‘जतिबेला सभापतिको चुनाव दोस्रो चरणमा गयो, त्यसबेला नै पौडेलले कुनै सहमति गरेको भए सम्भव थियो । आजका दिनमा चुनाव जितेर आइसकेपछि त किन बनाउलान् र देउवाले पौडेललाई संसदीय दलको नेता ?’
देउवा निकटवर्तीहरुले सार्वजनिक रुपमा नै अबको संसदीय दलको नेता र प्रधानमन्त्री देउवा नै हो भन्न थालिसकेका छन् । बालकृष्ण खाँड, मीन विश्वकर्मा देउवा टिमका प्रभावकारी नेताहरु हुन् र उनीहरुले नै अब देउवा आफैं संसदीय दलको नेता बन्नुपर्छ भन्ने सन्देश दिन थालेका छन् ।
यसले पनि देउवाले पौडेललाई संसदीय दलको नेता दिने सम्भावना निकै कम छ भन्ने अनुमान गर्न सकिन्छ । यद्यपि संसदीय दलको चुनाव गर्ने सुरसार भएकाले त्यसबेलासम्म यो अवस्थामा फेरबदल नै हुन्न भन्न सकिन्न । पौडेल निकटवर्तीहरुले भने सभापतिका अर्का उम्मेदवार कृष्ण सिटौलालाई संसदीय दलको नेता दिन खोजिएको त होइन भन्ने आशंका गरेका छन् । देउवाले कसैलाई काखा र पाखा नगर्ने भनिरहेका बेला रामचन्द्र पौडेललाई समेत भूमिकाविहीन हुन नदिने चुनौती उनका सामू खडा भएको छ । 
७ जना केन्द्रीय सदस्य मनोनित
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले १३ औं महाधिवेशनमा आफूसँग पराजित रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहितका सात जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। कांग्रेसका नवनिर्वाचित सभापति देउवाले पार्टीको विधानले दिएको अधिकार प्रयोग गरी बुधबार पौडेल र सिटौलासहितका ७ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्। देउवाले मनोनित गरेका केन्द्रीय सदस्यहरुमा अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव, उमाकान्त  चौधरी र नरहरि आचार्य रहेका छन्। आचार्य बाहेकका अरु सबै महाधिवेशनमा पदाधिकारीमा पराजित नेताहरु हुन्।
आचार्य भने महाधिवेशनको मुखमा विरामी परेका कारण उम्मेद्वार बनेका थिएनन्। पार्टीको केन्द्रीय निर्वाचन समितिले बुधबार पार्टी मुख्यालयमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरणका लागि गरेको कार्यक्रममा देउवाले मनोनित सदस्यहरुको नाम घोषणा गरे।
देउवाले ७ जना केन्द्रीय सदस्य मनोनित गरेसँगै काँग्रेसको केन्दीय समिति ७१ सदस्यीय भएको छ। फागुन २० गतेदेखि २४ गतेसम्म भएको महाधिवेशनले तीन जना पदाधिकारी र ६१ जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो। काँग्रेसको विधानले सभापतिलाई २१ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएको छ। सभापतिले एक जना उपसभापति, एक जना महामन्त्री र एक जना सह–महामन्त्री केन्द्रीय सदस्यमध्ये बाट मनोनित गर्ने व्यवस्था पनि छ। नवनिर्वाचित सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गर्नु पहिले निवर्तमान कार्यवाहक सभापतिका हैसियतले लिखित मन्तव्य राख्दै रामचन्द्र पौडेलले संविधानको कार्यान्वयन र पार्टीको संस्कारलाई अक्षुण राख्न सभापति देउवालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। पौडेलले पार्टीभित्र आदर्श र निष्ठाको राजनीतिलाई प्रमुखता प्रदान गर्न महाधिवेशन प्रतिनिधि हरुले दिएको मतलाई प्रेरणाको रुपमा लिइ क्रियाशिल रहने बताए। कार्यक्रममा नवनिर्वाचित महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एक ढिक्का बनाउन आफूले सबै किसिमको प्रयास गर्ने र यसमा आफूलाई सबैको सहयोग चाहिने बताए। कार्यक्रममा निर्वाचित पदाधिकारी र निवर्तमान कार्यवाहक सभापति रामचन्द्र पौडेलले एकताको सन्देश दिने गरी आपसमा हात समाएर नेता तथा कार्यकर्तालाई अभिवादन गरेका थिए। केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीबाट प्रमाणपत्र बुझेसँगै नवनिर्वा्चित सभापति देउवाले बुधबार नै पदभार ग्रहण गरेका छन्। निवर्तमान कार्यवाहक सभापति पौडेलले देउवालाई माला लगाएर पद् हस्तान्तरण गरेका थिए।





Post a Comment

 
Top