राजाराम पौडेल
कास्की जिल्ला अदालतमा गत माघ १ गतेबाट शुरु भएको फैसला कार्यान्वयन विशेष अभियान जारी छ । यो अभियान अन्तर्गत हाल सम्म १७ वटा लगत कट्टा भएको कास्की जिल्ला अदालतका तहसिलदार खुम प्रसाद भण्डारीले जानकारी दिए । यसरी लगत कट्टा हुँदा कुल १ वर्ष २ महिना २५ दिन कैद र नगद ३ लाख ९८ हजार २ सय ७९ असुल भएको उनले बताए । अभियानको टोलीले भोजराज भण्डारी, अमृत राना, भिमल बहादुर गुरुङ, सञ्जय हिताङ, देवी प्रसाद गौतमलाई पक्राउ गरी अदालतमा दाखिल गरी अदालतले कैद ठेकी कारागार कार्यालय कास्कीमा पठाइएको जनाएको छ । कास्की जिल्ला अदालतमा फागुन मसान्तसम्ममा १ हजार ७६ रुपैयाँ लगत उठ्न बाँकी रहेको अदालतको तथ्याङ्कले देखाएको छ । कास्की जिल्ला अदालतमा २ हजार १ सय ८६ वर्ष २९ दिन कैद र ८ करोड २९ लाख ४३ हजार ७ सय ९५ रुपैयाँ फछ्र्यौट हुन बाँकी रहेको देखिन्छ । सर्वोच्च अदालतले फैसला कार्यान्वयन विशेष अभियान गत वर्ष सफल भएपछि यस वर्ष थप आठ जिल्लामा लागू गरेको हो । सर्वोच्चले २०७१ कात्तिक १ गते देखि झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, सिराहा, सर्लाही, बारा, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, नवलपरासी, कपिलवस्तु र बाँकेमा सञ्चालन गरेको थियो । फैसला कार्यान्वयन विशेष अभियान केन्द्रिय अनुगमन समितिको गत पौष २६ गतेको निर्णय अनुसार यस पटक कास्की सहित महोत्तरी, रौतहट, चितवन, मकवानपुर, नुवाकोट, दाङ र कञ्चनपुरमा यस्तो अभियान गत माघ १ गतेबाट सुरु गरेको हो । कैद, दण्ड जरिवाना असुलउपर नभएसम्म राज्यबाट प्रदान गरिने नागरिकता, राहदानी, लाइसेन्स, इजाजतपत्र, टेलिफोन, धारा, बिजुली जडान, जग्गा तथा सवारी नामसारी हस्तान्तरणलगायत सबै प्रकारका सेवासुविधाबाट वञ्चित गर्ने निर्णय यस अघिनै भएको थियो । यो निर्णयले मात्र नपुगेर सर्वोच्चले फैसला कार्यान्वयनका लागि विशेष अभियान सञ्चालन गरेको हो । कास्की जिल्ला अदालतले सरकारी कार्यालयमा कैद, दण्ड जरिवाना अशुल उपर नहुनेहरुको लगत यसअघि नै पठाइसकेको जनाएको छ । कास्की जिल्ला अदालतमा गत फागुन मसान्त सम्म कुल १ हजार ७ सय ५४ जना व्यक्तिको कैद जरिवाना असुल उपर हुन बाँकी देखिएको छ । असुल उपर हुन बाँकी मध्ये ३३ जना विदेशी नागरीक रहेका छन् । फैसला कार्यान्वयन विशेष अभियानका लागि कास्की जिल्ला अदालतका नायब सुब्बा दामोदर आचार्य, डिठ्ठा महेशराज सुवेदी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक कृष्ण प्रसाद अर्याल सहित पाँच जनाको कार्य समूह बनाई खटाइएको तहसिलदार भण्डारीले जनाए ।
Post a Comment