गोल्डेन न्यूज संवाददाता
यही चैत्र १४ गते देखि १७ गतेसम्म मित्र राष्ट्र पाकिस्तानको फैसालावादमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रित महिला ह्याण्डवल प्रतियोगितामा सहभागि हुने नेपाली राष्ट्रिय टिमलाई सोमबार एक समारोहका बीच विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदमा आयोजना भएको विदाई कार्यक्रममा परिषदका सदस्य सचिव केशव कुमार विष्ट, नेपाल ह्याण्डवल संघका अध्यक्ष एवं दक्षिण एसियाली ह्याण्डवल महासंघका उपाध्यक्ष तेज बहादुर गुरुङ, संघका महासचिव सन्देश कुमार रेग्मी, कोषाध्यक्ष मिठाराम अधिकारी, मनोबैज्ञानिक प्रशिक्षक ईन्द्र गुरुङले नेपाली खेलाडीहरु सहितको १८ सदस्य टोलीलाई अविर तथा फुलमाला लगाएर सफलताको कामना गरेका हुन् । कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव विष्टले खेलकुदको विकासको लागि कुनै पनि अन्तराष्ट्रिय प्रतियोगितामा खेलाडीहरुलाई सहभागि गराउन आफुहरु कटिवद्ध भएको बताए । उनले भने “हामीसंग पर्याप्त मात्रमा श्रोत साधन नभए पनि खेलाडीहरुको सिप तथा क्षमता अभिबृद्धिको लागि कुनै विकल्प खोजेरै भए पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन बाट बञ्चित गर्दैनौं ।” सागमा भएको खेलबाट राम्रो सिप यसपालीको प्रतियोगितामा देखाउन आग्रह गर्दै सहभागि हुन जान लागेका खेलाडीहरुको सफलताको कामना समेत गरे ।
खेलाडीहरुलाई खेलसंगै मनोवैज्ञानिक प्रशिक्षको आवश्यक भएको नेपाल ह्याण्डवल संघका अध्यक्ष गुरुङले बताए । खेलाडीहरुलाई मनोबैज्ञानिक प्रशिक्षक ईन्द्र गुरुङले आवाज, अनुभव र चित्रणका बिषयमा केन्द्रीत गरी कुनै पनि खेलको समय अवधिमा एकै रफ्तारमा खेल खेल्न आग्रह गर्दै नेपालीहरुमा खेलमा सन्तुलन राखेर खेल्न नसक्दा कहिले काहि जित्ने खेलमा हार व्यहोर्नु परेको समेत बताए । रन्जना राईको कप्तानिमा १४ जना खेलाडी राष्ट्रिय टिममा रहेका छन भने उक्त नेपाली टिमको मुख्य प्रशिक्षक जिवन बहादुर बस्नेत, प्रशिक्षक टेक बहादुर विक, व्यबस्थापकमा प्रविन कुमार ठोकर तामाङ रहेका छन । त्यसैगरी पोखराका पत्रकार दिननाथ बराल रिपोटिङका लागि सहभागी हुदैछन । टीममा सशस्त्र प्रहरी वल एपिएफबाट र नेपाल आर्मीबाट ६÷६ जना खेलाडीहरु सहभागी भएका छन् ।
Post a Comment