0
बागलुङ नगरको फोहर उठाउने गाडी धौलागिरि अञ्चल अस्पतालमा आइपुग्यो र अस्पतालमा थुुप्रिएको फोहर उठाउन कर्मचारी सक्रिय भए ।   स्वास्थ्य संस्थाबाट निस्कने फोहरबाहेक अन्य खालका फोहर राख्ने ‘बकेट’मा औषधिका खाली सिसी, सुई, रगत लतपतिएका कपडा, कपास, औषधिका खोल र पञ्जा पनि छन् । अस्पतालबाट निस्केको सङ्क्रामक फोहर र अन्य साधारण फोहर उठाएर गाडी फेरि फोहर उठाउन नगरका चोकचोकमा डुल्छ । फोहरले भरिएपछि गाडी मालढुङ्गामा रहेको ‘डम्पिङ साइट’ पुग्छ । फोहर खनाउँछ, अनि फर्कन्छ । 
हालैको एक बिहान देखिएको दृश्य हो, यो । यसले, स्वास्थ्य संस्थाका फोहर व्यवस्थापनमा बागलुङको अवस्थालाई दर्शाउँछ । समाजलाई स्वास्थ्य र सरसफाइको ‘पाठ’ सिकाउने अस्पतालले नै फोहरमा लापर्बाही गरिरहेका छन् । फोहर व्यवस्थापनमा अस्पताल मात्रै नभएर अन्य सरोकार भएका पक्षबाट समेत हेलचेक्र्याइँ भइरहेको छ । वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्य संस्थाका फोहरको यथोचित व्यवस्थापन हुन सकेको छैन । फोहर उत्सर्जन गर्नेले स्वयम् व्यवस्थापन गर्नुपर्ने सरकारी नीतिको समेत स्वास्थ्य संस्थाबाट उल्लङ्घन भएको छ । अञ्चल अस्पतालले स्वास्थ्य संस्थाका फोहर व्यवस्थापन गर्न खोजे पनि त्यो अपूरो छ । जिल्लामा सञ्चालित निजी अस्पतालको आफ्नै व्यवस्थापन छैन । अन्य मेडिकल हल, क्लिनिक, प्रयोगशालाले समेत फोहर व्यवस्थापनमा मनपरि गर्ने गरेका छन् । फोहर व्यवस्थापन सम्बन्धी ऐन २०६८ र नियमावली २०६९ मा अस्पतालले आफैँ फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । 
यस विपरीत साधारण फोहर र स्वास्थ्य संस्थाजन्य फोहरसँगै उठाउने र विर्सजन गर्ने गरिएको छ । धौलागिरि अञ्चल अस्पतालमा सङ्क्रामक फोहर जलाउन ‘इन्सिनिरेटर’ राखिएको भए पनि स्वास्थ्यकर्मी, कर्मचारीको बेवास्ताका कारण सङ्क्रामक फोहर साधारण फोहरमा मिसिने गरेका छन् । निजी अस्पतालमा त ‘इन्सिनिरेटर’ नै छैनन् । विज्ञका अनुसार वातावरण र मानव स्वास्थ्यका लागि स्वास्थ्य संस्थाका फोहर घातक हुन्छ । जलवायु परिवर्तनमा समेत यसको प्रत्यक्ष सम्बन्ध रहने जलवायु परिवर्तन विज्ञ डा धर्म उप्रेती बताउछन् । स्वास्थ्य संस्थाबाट सङ्क्रामक फोहर निस्कने हुँदा त्यसले थप खतरा निम्त्याउने उनको भनाइ छ । “साधारण फोहरमा स्वास्थ्यजन्य फोहर मिसाउनु हुन्न, सिधै नदीमा फाल्ने गरेको पनि हामी देख्छौँ, त्यो ठूलो लापर्बाही हो,” डा उप्रेतीले भने–“फोहरले पानीमा एमोनियाको मात्रा बढाउँछ । अक्सिजन सोस्छ । माइक्रोन्युटेनजस्ता सूक्ष्म तत्वको मात्रा बढ्न गई पानीको गुणस्तर घट्छ ।” स्वास्थ्य संस्थाका फोहरलाई खुला ठाउँमा विसर्जन गर्न नहुने उनी बताउछन् । फोहर–प्रदूषणले वायुमण्डलमा कार्बनडाइ अक्साइको मात्रा बढ्न गई पृथ्वीको तापमान वृद्धि हुने र त्यसले जलवायु परिवर्तन गराउने विज्ञको तर्क छ । फेवाताल संरक्षण आयोजनाका प्रमुख महेन्द्र गोदारले फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्नुपर्ने बताउछन् । 
उनले स्वास्थ्य संस्थाबाट निस्कने फोहरलाई साधारण फोहरमा मिसाएर विर्सजन गर्नु वातावरण र मानव स्वास्थ्यमाथिको खेलवाड भएको धारणा राखे ।  स्वास्थ्य संस्थाबाट निस्कने प्लास्टिकयुक्त फोहरलाई खुला ठाउँमा जलाउँदा त्यसबाट ‘डायोक्सिन’ नामक विषालु क्यान्सरजन्य ग्यास हावामा फैलने उहाँको भनाइ छ । फोहर जल्दा निस्कने प्रदूषित धुँवा हावामा मिसिन गई त्यसबाट मानिसमा क्यान्सर, फोक्सो र स्वासप्रस्वाससम्बन्धी रोग लाग्ने बताइन्छ । प्रमुख गोदारका अनुसार खाली सिसी, औषधिका खोलजस्ता प्लास्टिकजन्य फोहरलाई त्यतिकै जमिनमा फाल्दा त्यसले माटोमा अम्लीयपना बढ्न गई अन्ततः उत्पादकत्व घट्ने गर्छ । 
उनले जैविक फोहर, सिसाजन्य फोहर र प्लास्टिकजन्य फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्नुपर्ने बताए । स्वास्थ्य संस्थाका फोहरको जोखिममा सबैभन्दा बढी फोहर सङ्कलन गर्ने कर्मचारी नै पर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । धौलागिरि अञ्चल अस्पतालका मेडिकल कन्सल्टेन्ट डा श्रीकृष्ण भट्टले स्वास्थ्य संस्थाका फोहरबाट सरुवा रोग प्रसारणको खतरा रहने बताए । सुरक्षितरुपमा त्यस्तो फोहरको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । फोहर सङ्कलन र व्यवस्थापनमा खट्ने जनशक्ति विशेषरुपमा सचेत हुनुपर्ने डा भट्टको सुझाव छ ।
ऐन नियम कागजमै सीमित
सरकारले फोहरमैला व्यवस्थापन सम्बन्धमा विभिन्न ऐन, नियम बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । फोहरमैला व्यवस्थापन ऐन २०६८ र नियमावली २०६९ को व्यवस्था मिचेर अस्पतालले फोहरसँग लापर्बाही गरिरहेका छन् । अस्पतालजन्य फोहर र अन्य साधारण फोहरसँगै मिसाउन र विसर्जन गर्न नपाइने कानुनी प्रावधान छ । ऐनले फोहर उत्पादन गर्नेले नै फोहरको यथोचित व्यवस्थापन गर्नुपर्ने किटान गरेको छ । अस्पतालबाट निस्केको फोहरका कारण कोही मानिस बिरामी परेमा उजुरी गर्न पाइने कानुनी व्यवस्था रहेको अधिवक्ता राम शर्मा बताउन् । उनका अनुसार स्वास्थ्य संस्थाका फोहर जभाभावी फाल्ने अस्पतालमाथि पनि कानुनी कारबाहीको व्यवस्था छ । नगर क्षेत्रको फोहर व्यवस्थापनमा जिम्मेवार संस्था नगरपालिका जवाफदेही हुनुपर्ने उनको भनाइ छ । “नगरक्षेत्रको फोहर व्यवस्थापनको अवस्थाबारे अनुगमन, नियमन गर्ने काम नगरपालिकाको हो,” अधिवक्ता शर्माले भने–“अस्पताललाई नगरपालिकाले सचेत बनाउनुपर्छ । ऐन नियमको पालना सबैतिरबाट हुनुपर्छ ।” बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले अस्पतालले फोहरको व्यवस्थापन आफैँ गर्नुपर्ने बताए । उनले नगरको फोहर उठाउने गाडीमा स्वास्थ्य संस्थाका फोहर मिसाउनु अस्पतालको लापर्बाही भएको टिप्पणी गरे । नगरपालिकाले हालै धौलागिरि फोहरमैला व्यवस्थापन तथा सरसफाइ सहकारीलाई फोहर व्यवस्थापनको जिम्मा लगाएको छ । सहकारीका अध्यक्ष सुधीर श्रेष्ठले स्वास्थ्य संस्थाका फोहर मिसाइए अस्पतालमा फोहर उठाउन नजाने बताए । “हामीले निगरानी बढाएका छौँ, अस्पतालले त्यस्तो फोहर थुपारेमा अबदेखि हामी उठाउन जान्नौँ,” अध्यक्ष श्रेष्ठले भने । अस्पताल व्यवस्थापनले भने नयाँ प्रशिक्षार्थी विद्यार्थीको लापर्बाहीले फोहर एकैठाउँमा मिसिने गरेको जवाफ दिने गरेको छ । 
सबैमा छैनन् ‘प्लासिन्टा पिट’ प्रसूति सेवा दिने स्वास्थ्य संस्थामा मानव तन्तु, अङ्ग र प्लासिन्टा (साल (नाल) को यथोचित विर्सजनको लागि ‘प्लासिन्टा पिट’ अनिवार्य बनाउनुपर्ने व्यवस्था छ । ‘प्लासिन्टा पिट’ नभएका स्वास्थ्य संस्थाले प्रसूति केन्द्र चलाउन नपाउने जिल्ला स्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठ बताउछन् । तर, जिल्लामा रहेका कतिपय स्वास्थ्य संस्थामा अहिले पनि ‘प्लासिन्टा पिट’ छैन । भएका स्थानमा पनि मापदण्ड अनुसारको पिट निर्माण गरिएको छैन । पिट बनाउँदा ३÷४ मिटर गहिरो, साढे एक मिटर फराकिलो, फलामको ढक्कन भएको, ग्यास बाहिर जान पाइप जडान गरिएको, प्रसूति कक्षको नजिक हुनुपर्ने जस्ता मापदण्ड राखिएका छन् । व्यवस्थित पिट नभएका संस्थामा सामान्य खाडल खनेर त्यस्तो फोहरलाई विर्सजन गर्ने गरिएको छ । नारायणस्थान स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले स्वास्थ्य चौकीमा ‘प्लासिन्टा पिट’ नभएको बताए । 
‘प्लासिन्टा’ लाई खाडल खनेर पुर्ने गरिएको प्रमुख शर्माले बताए । त्यस्तै, अन्य फोहरलाई आगोमा नष्ट गर्ने र गाड्ने गरिएको छ । अस्पतालको तुलनामा स्वास्थ्य चौकीमा न्यून मात्रामा फोहर निस्कने हुँदा व्यवस्थापनमा त्यति ठूलो समस्या नरहेको स्वास्थ्यकर्मी बताउँछन् । सरकारले प्रसूति सेवा दिने सबै स्वास्थ्य संस्थामा ‘प्लासिन्टा पिट’ निर्माणको बजेटसमेत दिने गरेको छ । प्रशासक श्रेष्ठले कतिपय स्वास्थ्य संस्थामा ‘प्लासिन्टा पिट’को व्यवस्थित प्रयोग हुन नसकेको स्वीकार गरे । उनले प्रसूति सेवा सञ्चालन गरेका जिल्लाका ३८ वटै स्वास्थ्य संस्थामा ‘पिट’ निर्माण गरिएको दाबी गरे । ‘प्लासिन्टा’ सही व्यवस्थापनका लागि पिट अनिवार्य बनाउनुपर्ने उनको भनाइ छ । त्यस्तो फोहरबाट सरुवा रोगको प्रसारण हुने खतरा रहेको स्वास्थ्यकर्मी बताउँछन् ।
के भन्छन्, जिम्मेवार निकाय
स्वास्थ्य संस्थाबाट निस्कने फोहरको यथोचित व्यवस्थापनका लागि सरोकार भएका पक्षसँग कुनै त्यस्तो ठोस योजना छैन । फोहर व्यवस्थापन हेर्ने नगरपालिका कार्यालयले एक सहकारीलाई त्यसको जिम्मा दिएको छ । नगरपालिकाका कार्यकारी अधिकारी युवराज अधिकारीले सबैखाले फोहरको उचित व्यवस्थापनका लागि समन्वय गरेर अघि बढ्ने बताए । धौलागिरि अञ्चल अस्पताल बाहेक जिल्लामा रहेका ६२ स्वास्थ्य संस्था, केही निजी अस्पताल र दर्जनौँ मेडिकल हल, क्लिनिकलाई फोहर व्यवस्थापनसम्बन्धी तालिम र सीप दिन आवश्यक देखिन्छ । धौलागिरि अञ्चल अस्पतालका मेडिकल कन्सल्टेन्ट डा श्रीकृष्ण भट्टले अस्पताल पूर्वाधार निर्माणको चरणमा रहेकाले पनि फोहरको प्रभावकारी व्यवस्थापन हुन नसकेको बताए । उनले साधारण फोहरमा स्वास्थ्य संस्थाका फोहर मिसाउनु अस्पतालको कमजोरी रहेको स्वीकारे । 
डा भट्टले अस्पतालमा आउने सर्वसाधारणलाई पनि फोहर व्यवस्थापनबारे ज्ञान दिनुपर्ने बताए। “हाम्रो पनि केही कमजोरी छ, जुन तहमा फोहरको व्यवस्थापन हुनुपर्ने हो त्यो भएको छैन,” डा भट्टले भने–“अस्पताल भवन निर्माणको चरणमा छ । सबै सेवा एउटै भवनबाट चलाउँदा पनि व्यवस्थित गर्न नसकिएको हो ।” डा भट्टका अनुसार सङ्क्रामक फोहर र साधारण फोहर एकै ठाउँमा मिसाइनु दुर्भाग्यपूर्ण हो । 
अस्पतालको फोहर व्यवस्थापनमा काम गर्दै आएका रमेश नेपालीले साधारण फोहरको ‘बकेट’मा पनि खाली सिसी, सुई फाल्ने गरिएको बताए । गाडीमा फाल्दा कहिलेकाहीँ छुट्टाइने गरे पनि सधैँ त्यो सम्भव नहुने उहाँको भनाइ छ । अस्पतालले भने फोहरलाई अति जोखिम, कम जोखिम र जोखिमयुक्त गरी तीन भागमा वर्गीकरण गरेर व्यवस्थापन गर्ने गरिएको दाबी गरेको छ । अस्पताल व्यवस्थापनले चाँडै नै फोहर व्यवस्थापनको थप योजना बनाउने जनाएको छ । रासस










Post a Comment

 
Top