गोल्डेन न्यूज संवाददाता
कास्कीमा एक सय २९ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका र समयमा परीक्षा दस्तुर वापतको रकम नबुझाएकाहरु फारम भरेर पनि परीक्षामा सहभागी हुन नपाएको जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएको छ । कास्कीमा अघिल्लो वर्ष एक सय ५९ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका थिए । चैत्र १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षामा यो बर्ष कास्कीबाट साढे ११ हजार भन्दा बढी परीक्षार्थी सहभागी हँुदैछन् । जिल्ला शिक्षा कार्यालयका अनुसार नियमित तर्फ १० हजार चार सय ६७ र आंशिक तर्फ १२ सय ३ गरी कुल ११ हजार ६ सय ७० परीक्षार्थी सहभागी हुने भएका हुन् । नियमिततर्फ परीक्षामा सहभागिता जनाउनेमा पाँच हजार तीन सय ८१ छात्रा र पाँच हजार दुई सय १५ छात्र छन् । परीक्षामा दृष्टिविहिन १०, सुस्त श्रवण १२, वाल सुधार गृहमा रहेका १२ र कारागारमा रहेका ३ जना परीक्षार्थी पनि सहभागी हुने परीक्षा शाखा प्रमुख गोविन्द पोखरेलले पिसपोखरालाई जानकारी दिए । कास्कीमा ३० वटा परीक्षा केन्द्र तोकिएको छ । आइतवार सम्म सवै केन्द्रमा उत्तर पुस्तिका पुगिसकेको र कास्की क्षेत्रनम्बर १ अन्तर्गत ७ वटा केन्द्रको प्रश्नपत्र पनि सम्बन्धित स्थानमा पुगिसकेको पोखरेलले बताए । परीक्षामा ३० वटा केन्द्रको लागि ३० जना केन्द्राध्यक्ष, ५५ जना सहायक केन्द्राध्यक्ष , निरिक्षक ५ सय ६५, सहयोगी २ सय ५५ र सुरक्षाकर्मी २ सय १० जना खटिनेछन् । एउटा परीक्षाकेन्द्रमा ७ जनाको दरले सुरक्षाकर्मी खटिने बताइएको छ । यो बर्षको एसएलसीमा देशभरका एक हजार ४ सय ४३ परीक्षाकेन्द्रबाट ६ लाख १५ हजार पाँच सय ५३ परीक्षार्थी सहभागी हुदैछन् । परीक्षा चैत्र २९ गते सम्म सञ्चालन हुनेछ । परीक्षाको मर्यादा विपरित क्रियाकलाप गर्नेलाई एक लाख सम्म जरिवाना, ६ महिना कैद वा कसुरको मात्रा हेरेर दुवै सजाय पनि हुनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
Post a Comment