नेपालको सुरक्षित नीति फितलो बन्दै जाँदा गोप्य सूचनाहरु चुहिन थालेका छन् । नेपालमा खासै प्रयोगमा नआएको ड्रोन क्यामेराको अवैध प्रयोग गरेर देशका गोप्य सूचना संकलन भईरहेका छन् । जसमा विदेशी नागरिकहरुको संलग्नता पाईएको छ । भूकम्प प्रभावित र हिमाली क्षेत्रमा उडाईएका ड्रोन क्यामेराहरुले अहिले नेपाली सेनाको मुख्यालयदेखि मन्त्री क्वाटरसम्म पुगेका छन् । गत मंगलबार स्वास्थ्यमन्त्री रामजनम चौधरीको पुल्चोकस्थित क्वाटर अगाडि ड्रोन क्यामेरा खस्नुले देशको आन्तरिक सुरक्षामा गंभीर प्रश्न समेत उठाएको छ । रुखमा ठोक्किएर खसेको ड्रोन क्यामेरा मन्त्री क्वाटरको तस्बिर र भिडियो खिच्न उडाएको भन्नेमा अब दुई मत छैन । अनुमति बिना ड्रोन क्यामेरा उडाउन नपाउने कानून प्रावधान भएपनि ड्रोन क्यामेरा उडाएर नेपालीलाई आतंक पार्ने काम भने रोकिएको छैन । ड्रोन क्यामेरा उडाएको यो घटना भने नौलो होइन । यसअघि पनि अवैध तरिकाले ड्रोन उडाएको आरोपमा पक्राउ गरि छाडिएका थुप्रै घटनाहरु छन् । पछिल्लो समय ड्रोन क्यामेराको आतंक बढ्दै जाँदा गृहमन्त्री शक्ति बस्नेत समेत झस्किन पुगेका छन् । मन्त्री क्वाटरसंगै नेपाली सेनाको मुख्यालय परिसरमा ड्रोन क्यामेरा उडाउनुले नेपालको सुरक्षा मामिलाबारे जासुस गर्ने काम भएको छ । सेनाको मुख्यालयमा ड्रोन क्यामेरा उडाएको आरोपमा पक्राउ परेका दुई चिनियाँ पत्रकार बिना कार्बाही रिहा भएका थिए । चिनियाँ नागरिक मात्रै होइन म्याग्दी जिल्लाको दग्नाम–९ स्थायी घर भई ह्वाईट हिमाल टेलिभिजन नेटवर्कका क्यामेराम्यान धनपाल थापालाई ड्रोन क्यामेरा प्रयोग गरी तस्बिर र भिडियो खिचेको आरोपमा दिक्तेलस्थित हाटडाँडामा पक्राउ गरिएको थियो । भने, हिमाल पारिको जिल्ला मुस्ताङबाट पनि जर्मन नागरिकलाई पक्राउ गरिएको थियो । नेपालमा त्यतिविधि प्रयोगमा नआएको यो क्यामेरा कसले र के प्रयोजनका लागि प्रयोग गरिरहेको छ भन्ने विषयमा प्रहरी नै अन्योलमा रहने अवस्था छ । यतिमात्रै होइन, अवैध रुपमा ड्रोन क्यामेरा प्रयोग गर्नेलाई कुन मुद्धा चलाउने भन्नेमै प्रहरी अनभिज्ञ छ । मन्त्री क्वाटरमा फेलापरेको ड्रोन क्यामेरा नेपाल रोवटिक सोसाइटीको रहेको अनुसन्धान पछि खुल्न आएको छ । नेपालको सुरक्षामा गंभीर असर गर्ने काममा प्रयोग भएका ड्रोन क्यामेरा विदेशीकै किन नहुन उनीहरुलाई आवश्यक अनुसन्धान गरी कार्बाही दायरामा ल्याउन जरुरी छ । भूकम्पपछि नेपाल सरकारले नेपाली संस्कृति लोप हुने भन्दै ड्रोन क्यामेरा उडाउन रोक लगाएको छ । तर, प्रयोग भने दिनानुदिन बढ्दै गएको छ । नेपाल सरकारको कमजोर सुरक्षा रणनीतिका कारण ड्रोन क्यामेरा नेपालको विद्यमान कानुनविपरित प्रयोग भईरहेका छन् । नेपालको सुरक्षा व्यवस्थालाई नजिकबाट नियाली कमजोर बनाउन ड्रोन प्रयोग नहोला भन्न सकिदैन । नेपालको बढ्दो सुरक्षा चुनौतिप्रति संवेदनशिल हुँदै नेपाल सरकारले अवैध ड्रोन क्यामेरा उडाउनेलाई सशक्त कार्वाहीको दायरामा ल्याउनु पर्छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment