0
गोल्डेन न्यूज संवाददाता
पोखराको रामघाटमा रहेको तमु प्ये लु संघ केन्द्रीय समितिको आयोजनामा विभिन्न जिल्लाहरुको अध्ययन, अवलोकन र अन्तक्र्रिया हुने भएको छ । कार्यक्रम यहि चैत्र १ गतेदेखि १५ गतेसम्म हुनेछ । संघले आइतबार पत्रकार सम्मेलन आयोजना गरि दिएको जनकारी अनुसार भ्रमणको सबै तयारी पुरा भएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष क्या. रुपबहादुर गरव्जु तमूले तमु जातिको मौलिक पहिचान र प्ये–ताँ ल्हु–ताँ बारेमा जनमानसले चासो लिएर बुझ्न खोजिरहेको हुँदा उक्त विषयमा प्रभावकारी कार्यक्रम ल्याइ  जनचेतना तथा जनजागरण ल्याउन र विभिन्न तहमा स्थापित शाखा तथा नेतृत्व वर्गमा संस्थागत धारणा, अर्थ उद्देश्य र सिद्धान्तको बारेमा जानकारी गराउन भ्रमण आयोजना गरिएको बताए । साथै संस्थागत विकासका लागि सबै शाखाहरुलाई एकआपसमा परिचय गराइ प्रगाढ सम्बन्ध कायम र सहकार्य गर्ने वातावरण सृजना गराउन र भौगोलिक रुपमा शाखाहरुको अवस्था एवं वस्तुस्थिति बुझ्नका लागि कार्यक्रम आयोजना गरिएको उनले बताए । 
अध्यक्ष तमुका अनुसार तमु जातिको मौलिक पहिचानसंग जोडिएको कुलधर्म, संस्कार, संस्कृति, परम्परा, भाषा, भेषभूषा लगायत ऐतिहासिक सम्पदा र संरचनाहरुको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धन गर्नका लागि भ्रमणका अवसरमा अन्तक्र्रिया हुनेछ । मौलिक पहिचान पुनःस्थापना गराउन र समग्र तमु समुदायको हकहित र अधिकार प्राप्तिका लागि संगठित भइ क्रियाशिल तमु प्ये ल्हु संघले प्ये–ताँ ल्हु–ताँ र मौलिक पहिचानको बारेमा जानकारी सहितको कार्यपत्र प्रस्तुत एवं वृहत छलफल हुने उनले बताए । भ्रमण टोलीले स्याङ्जा, रुपन्देही, नवलपरासी, चितवन, मोरङ, ताप्लेजुङ, कोठमाडौं, गोरखा, लमजुङ र तनहुँ जिल्लाका साथै रोल्पा, बर्दिया र सिन्धुपाल्चोकको अवस्थिति तथा क्होइवो, सामुदायिक भवन, जिल्ला इकाइ र क्षेत्रीय समितिको बारेमा जानकारी  लिनुका साथै विभिन्न समितिसंग परिचय गर्ने अध्यक्ष तमुले जानकारी दिए । भ्रमण टोलीमा जिल्लागत र क्होला भ्रमणमा गरि ८५ जना हुने बताइन्छ । भ्रमणमा १५ लाख रुपैयाँ खर्च लाग्ने अध्यक्ष तमुले जानकारी दिए । भ्रमणको सबै व्यवस्थापन केन्द्रीय समितिले गर्ने र जिल्लामा हुने कार्यक्रमको तयारी जिल्ला समितिहरुले गर्ने उनले बताए । अध्यक्ष तमुका अनुसार भ्रमण पूर्ण रुपमा अध्ययनमूलक र स्थलगत अध्ययन हुनेछ । भ्रमणको समीक्षा भने चैत्र १७ गते केन्द्रीय कार्यालयमा हुने उनले स्पष्ट पारे । क्होला सोंथरको भ्रमण चैत्र १९ गतेदेखि २६ गतेसम्म हुनेछ । 
पत्रकार सम्मेलनमा बोल्दै संघकी सचिव एवं संचारकर्मी शान्ति गुरुङ र संघका केन्द्रीय सदस्य एवं पत्रकार लोकेन गुरुङले भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Post a Comment

 
Top