0
दीपक घिमिरे
गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरको दक्षिणी मूलद्वार बेलहियामा एकाबिहानै मानिसको भीडभाड थियो । ती सबैका हातमा झाडु र ‘प्ले ब्यानर’ थिए । समूहको भीडमा सांसद् इश्तियाक अहमद खाँनको पनि उपस्थिति थियो । उनको हातमा ठूलो झाडु थियो । हेर्दा लाग्थ्यो बुद्धनगरीकै प्रवेशद्वार बेलहियाबाट कुनै आन्दोलनको सुरुवात त हुँदै छैन । अरु बेला अनेक खालका आन्दोलनका दृश्य देख्न पाइए पनि त्यो दृश्य भने आन्दोलनको नभई बृहत् सरसफाइ अभियानको रहेछ । सिद्धार्थनगर नगरपालिकाले नगरलाई सफा र सुन्दर बनाउनका लागि थालेको अभियानमा सभासद्देखि सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सरसफाइसम्बन्धी जनचेतनाको अभावमा नगरमा फोहरमैला बढेको भन्दै नगरपालिकाले सुरु गरेको सरसफाइ अभियानमा सांसद् खाँनदेखि यस क्षेत्रका प्रतिष्ठित उद्योगी, व्यापारी, समाजसेवी, नागरिक अगुवा, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि एवम् सञ्चारकर्मीको सहभागिता थियो । अभियानमा सहभागीले आफ्नो घरमा कहिल्यै कुचो नलगाएको भए पनि सरसफाइ अभियानमा भने झाडु लगाएको दृश्यले निकै रमाइलो बनायो । आइतबारदेखि सुरु भई पाँच दिनसम्म चल्ने यस अभियानको सांसद् आदित्यनारायण कसौधनले शुभारम्भ गरे । उनले भैरहवाको देवकोटाचोकमा जम्मा भएका सहभागीलाई अनावश्यक रुपमा फोहरमैला नफाल्न आग्रह गर्दै झाडु लगाएर अभियानको शुभारम्भ गरेका थिए । बुद्धनगरी सिद्धार्थनगरलाई बुद्धको मन जस्तो पवित्र र सुन्दर बनाउनुपर्नेमा जोड दिए । नगरलाई सुुन्दर र हराभरा बनाउने उद्देश्यका साथ अभियानमा नगरपालिकासहित लुम्विनीका क्रियाशील विभिन्न सङ्घसंस्थाको उत्साहजनक सहभागिता रहेको थियो । 
सधैँजसो कार्यक्रममा समाचार सङ्कलनका लागिमात्र सहभागी हुने पत्रकार उक्त अभियानको शुभारम्भको दिनदेखि यसमा लागे । भैरहवा र यस वरपरका क्षेत्रमा क्रियाशील पत्रकारको नवगठित संस्था लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकार पनि ब्यानर लिएर कार्यक्रममा सहभागी भए । यो दृश्य पनि नौलो थियो । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर फोहरमैलाले अस्तव्यस्त बनेपछि सिद्धार्थनगर नगरपालिकाले सुरु गरेको बृहत् सरसफाइ अभियानमा सभासद्सहित, शान्ति सुरक्षामा खटिने प्रहरी र सरकारी कर्मचारी अभियानमा जुटे । 
‘सभ्य नागरिक सफा सहर ः बुद्धको नगरी सिद्धार्थनगर’ भन्ने मूल नाराका साथ सुरु भएको बृहत् नगरस्तरीय सरसफाइ तथा जनचेतनामूलक कार्यक्रममा सयौँ जनाको सहभागिता रहेको थियो । 
बुद्धनगरी सिद्धार्थनगरलाई बुद्धको मन जस्तो पवित्र र सुन्दर बनाउने उद्देश्यकासाथ सुरु गरिएको अभियानमा दलका जिम्मेवार नेतादेखि आम सर्वसाधारणले स्वःस्फूर्त रूपमा सहभागिता जनाएका छन् । 
फोहरमैलाका कारण सधैँभरि आलोचना खेप्दै आएको सिद्धार्थनगर नगरपालिकाले आलोचनामुक्त हुन र नगरलाई सुन्दर तथा हराभरा बनाउने उद्देश्यले सरसफाइ अभियान सुरु गरेको हो । विश्व शान्तिको मुहान लुम्बिनी आउने स्थल मार्गको प्रमुख नाका बेलहिया नाकालगायत नगरका विभिन्न मुख्यमुख्य स्थल फोहरले कुरुप बनेपछि नगरवासीलाई निकै सास्ती पुग्नुका साथै विश्वमाझ निकै नराम्रो सन्देश प्रवाह भइरहेकाप्रति नगरपालिका मात्रै चिन्तित नभई सम्पूर्ण नगरवासी नै चिन्तित बन्नसके नगरलाई फोहरमैलामुक्त सहरका रूपमा विकास गर्न कुनै समस्या नआउने नगरपालिकाका कार्यकारी प्रमुख विष्णुदत्त गौतमले बताए । बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारमै फोहरमैलाले आम नगरवासी तथा पर्यटकलाई सताएपछि नगरपालिका नगरको सरसफाइका लागि जुटेको हो । 
सिद्धार्थनगर स्थल मार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्र्याउने नगरपालिका हो । भैरहवा हुँदै लुम्बिनी भित्रिने पर्यटकलाई स्वच्छताको अनुभूति दिलाउन एवम् सफा र सुन्दर नगरपालिकाका रूपमा विकसित गर्न यो कार्यक्रमलाई निरन्तरता दिइएको नगरपालिकाका कार्यकारी अधिकृत गौतमले उल्लेख गरे ।
उनका अनुसार गत वर्ष नगरपालिकाले भैरहवामा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानले जथाभावी फोहर फाल्ने नगरवासीको प्रवृत्तिमा केही सुधार आएको थियो । सोही अभियानको समीक्षा गर्दै नगरपालिकाले यस वर्ष पनि अभियान चलाउने निर्णय गरेको हो । 
अभियानअन्तर्गत नगर सफा गर्नुका साथै विभिन्न समूह बनाई घरदैलोमार्फत सचेतना फैलाउने कार्यसमेत गरिएको छ । सङ्घसंस्थाको अगुवाइ तथा नगरपालिका कार्यालयको समन्वयमा यी टोलीले घरघरमा पुगी चेतनामूलक पर्चा पम्पलेट बाँढ्नुका साथै सरसफाइतर्फ ध्यान दिन मौखिक रूपमा अनुरोध गरेका छन् । जथाभावी फोहर फाल्नेलाई नगरपालिकाले जरिवानासमेत तोकेको छ । तोकेको समय र स्थानबाहेक अन्यत्र फोहर फाल्नेलाई प्रथमपटक रु पाँच हजार, दोस्रोपटक रु १० हजार र त्यसपछि पटकैपिच्छे रु १५ हजारका दरले जरिवाना हुने नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत शेखर पन्थीले जानकारी दिए । भैरहवाको देवकोटा चोकबाट सुरु भएको पहिलो दिनको कार्यक्रम बैंकरोड, मिलन चोक, गल्लामन्डी हुँदै हनुमान मन्दिरमा गएर समापन गरिएको थियो । समापन कार्यक्रममा सांसद् कसौधनले नगरपालिकाको एक्लो प्रयासलेमात्र नगर सफा राख्न नसकिने र त्यसका लागि सम्पूर्ण नगरवासीले पनि आफ्नो घर, आँगन, टोल तथा सडक सफा राखी फोहरमैलामुक्त गर्नुपर्नेमा जोड दिनुभयो । अन्तिम दिन होटल निर्वाणादेखि मैत्रीपथ, मिलनचोक, नारायणपथ, बर्मेली टोल, बुद्धचोक हुँदै लुम्बिनी गेटमा पुगी समापन गरिने नगरपालिका कार्यालयले जनाएको छ ।




Post a Comment

 
Top