0
गोल्डेन न्यूज संवाददाता
यस वर्षको एसएलसी परीक्षा आज बिहीबारदेखि सुरु हुदैछ । बिहीबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष देशभरका एक हजार ४ सय ४३ परीक्षाकेन्द्रबाट ६ लाख १५ हजार पाँच सय ५३ परीक्षार्थी सहभागी हुँदैछन् । चैत्र २९ गतेसम्म सञ्चालन हुने परिक्षामा पश्चिमाञ्चलबाट मात्र एक लाख ७ हजार ९ सय ९४ परीक्षार्थी सहभागी हुने क्षेत्रीय शिक्षा निर्देशनालय पोखराले जनाएको छ । जस मध्य नियमित तर्फ ८७ हजार एक सय ५३ र आंशिक तर्फ २० हजार ८४ तथा प्राविधिक तर्फका ७ सय ५७ विद्यार्थीले परीक्षा दिदैछन् ।पश्चिमाञ्चलका १६ जिल्ला मध्य सबैभन्दा बढी रुपन्देहीबाट १४ हजार ८ सय ८८ तथा सबैभन्दा कम मनाङबाट ६९ परीक्षार्थी सहभागी हुने निर्देशनालयका उपनिर्देशक घनश्याम पौडेलले जानकारी दिए । परीक्षाको लागि यो क्षेत्रमा ३ सय ८५ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षार्थी भएको रुपन्देहीमा ५२ र सबैभन्दा कम रहेको मनाङ तथा मुस्ताङमा एकरएक परिक्षा केन्द्र तोकिएको छ । पश्चिमाञ्चलमा यो वर्ष पाँच वटा परीक्षा केन्द्र थप भएका हुन् । विद्यार्थी संख्या पनि अघिल्लो वर्षको भन्दा बढी छ । अघिल्लो वर्षको एसएलसीमा यो क्षेत्रबाट एक लाख दुई हजार ६ सय परीक्षार्थी सहभागी भएका थिए । कास्कीमा यो बर्ष ३० वटा परीक्षा केन्द्रमा साढे ११ हजार भन्दा बढी परीक्षार्थी सहभागी हुदैछन् । जिल्ला शिक्षा कार्यालयका अनुसार नियमित तर्फ १० हजार चार सय ६७ र आंशिक तर्फ १२ सय ३ गरी कुल ११ हजार ६ सय ७० परीक्षार्थी सहभागी हुने भएका हुन् । नियमिततर्फ परीक्षामा सहभागिता जनाउनेमा पाँच हजार तीन सय ८१ छात्रा र पाँच हजार दुई सय १५ छात्र छन् । परीक्षामा दृष्टिविहीन १०, सुस्त श्रवण १२ , वाल सुधार गृहमा रहेका १२ र कारागारमा रहेका ३ जना परीक्षार्थी पनि सहभागी हुने परीक्षा शाखा प्रमुख गोविन्द पोखरेलले जानकारी दिए । परीक्षामा ३० वटा केन्द्रको लागि ३० जना केन्द्राध्यक्ष, ५५ जना सहायक केन्द्राध्यक्ष, निरिक्षक ५ सय ६५, सहयोगी २ सय ५५ र सुरक्षाकर्मी २ सय १० जना खटिनेछन् । एउटा परीक्षाकेन्द्रमा ७ जनाको दरले सुरक्षाकर्मी खटिने बताइएको छ । यस बर्षको एसएलसीमा देशभरका एक हजार ४ सय ४३ परीक्षाकेन्द्रबाट ६ लाख १५ हजार पाँच सय ५३ परीक्षार्थी सहभागी हुदैछन् । परीक्षा चैत्र २९ गते सम्म सञ्चालन हुनेछ । परीक्षाको मर्यादा विपरित क्रियाकलाप गर्नेलाई एक लाख सम्म जरिवाना, ६ महिना कैद वा कसुरको मात्रा हेरेर दुवै सजाय पनि हुनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।



Post a Comment

 
Top