गोल्डेन न्यूज संवाददाता
रंगहरुको पर्व होली पोखरा घुम्न आएका विदेशी पर्यटकले पनि धुमधामको साथ मनाएका छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा एकै ठाँउमा जम्मा भएर एक आपसमा रंग दल्दै विदेशीले नेपालीहरुसँग आत्मीयता साटेका छन् । रेष्टुरेण्ट एण्ड वार एसोसिएसन रेवान पोखराले होली पर्वको वेला पोखरा आएका पर्यटकलाई एकै ठाँउमा जम्मा गरेर यसरी होली खेल्ने चाजोपाँजो मिलाउछ । विगतमा जस्तै यो वर्ष आयोजित होली फेष्टिवलमा विदेशी पर्यटकको सहभागिता उल्लेख्य थियो । होलीको रंगमा रंगिएका कतिपय पर्यटक अघिल्ला बर्षपनि सहभागि थिए भने अधिकांश पर्यटक पहिलो पटक यसरी रंगिएका थिए । अमेरिकाबाट पोखरा घुम्न आएका जोडीले होलीको रंगमा पहिलोपटक रंगिदा निकै खुसी लाग्नुको साथै अनौठो चाडको रुपमा अनुभव सुनाए । एक आपसमा रंग दलेर आत्मीयता साटासाट गर्ने पर्वको रुपमा होलीलाई लिइन्छ । नेपाल घुम्न आएका विदेशीसँगको यो आत्मीयताले पोखरा सहित समग्र नेपालको पर्यटन प्रबद्र्धन हुनेमा पर्यटन व्यवसायी ढुक्क छन् । नेपाल सरकारद्वारा गठित राष्ट्रिय पर्यटन प्रबद्र्धन समितिका सदस्य गोविन्दराज पहारीले नेपाली चाडपर्वमा विदेशी सहभागिता बढ्दै जादा पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।
रेवान पोखराले बर्षेनी आयोजना गर्दै आएको होली फेष्टिवलमा विदेशी पर्यटकको सहभागिता पनि बढ्दै गएको छ । भूकम्प र नाकावन्दीको कारण पर्यटक आगमनमा कमी भएको आभाष भैरहेका बेला होली फेष्टिवलमा पर्यटकको सहभागिता देखेर थप उर्जा पलाएको आयोजक संस्थाका अध्यक्ष गोपीवहादुर भट्टराईले बताए । नेपाली कला संस्कृतिको माध्यमबाट पर्यटन प्रबद्र्धनको लागि पोखरेली पर्यटन व्यवसायीले यसरीनै विदेशी पर्यटकको सहभागितामा मुख्य चाडपर्व मनाउँदै आएका छन् ।
ह्याप्पी होली, थ्याङ्क्यु अेली
होली पर्व मनाइरहँदा पोखरेलीले एक आपसमा हयाप्पी होलीमात्र भनेन् थ्याङ्क्यु ओली पनि भने । विशेषगरि पोखरेली र समग्र पश्चिमाञ्चल वासीको सपनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग गरेको ऋण सम्झौताले थप खुसी तुल्लाएको छ । चीनसँग सोमबार मात्र ऋण सम्झौता भएको र मंगलबार परेको होलीलाई पोखरेलीले एकसैसाथ खुसी आपसमा साटेका हुन् । उनीहरुले होलीमा शुभकामना दिदै ओलीलाई बधाई दिएका थिए । लेकसाइडको कार्यक्रममा भेटीएका पर्यटन व्यवसायी सुर्य भुजेलले भने – ‘पोखरेलीको सपना साकार भएको छ, विमानस्थल निर्माणका लागि ऋण सम्झौता भएको छ, यो हाम्रो लागि अत्यन्त खुसीको कुरा हो ।’ उनले थपे –‘यो होलीको खुसीमा हामी सबैलाई हयाप्पी होली र थ्याङ्क्यु ओली भन्छौ ।’ त्यस्तै अर्का पर्यटन व्यवसायी गोविन्द राज पहारीले पनि होलीको अवसरमा विमानस्थलको ऋण सम्झौता भएको खुशीयाली भन्दै ह्याप्पी होली थ्याङ्क्यु ओली भन्दै थिए । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको लागि ऋण सम्झौता भएसँगै यहाँका पर्यटन व्यवसायी, पोखरा उद्योग बाणिज्य संघ, निजी क्षेत्र लगायत सरोकारवालाहरुले सम्झौताको स्वागत सँगै सरकारलाई धन्यवाद दिएका छन् ।
अनाथसंग होली ः अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीले यस पालीको होली अनाथ बालबालिका सँग मनाएका छन् । पोखरा–१६ वाटुले चौरमा रहेको अन्नपूुर्ण आत्म निर्भर बाल आश्रमका बालवालिकाहरुलाई स्टेशनरी साम्रगी हस्तान्तरण गर्दै कमिटीले यसपालीको होली मनाएको हो । कार्यक्रममा होलीको शुभकामना दिदै अनेरास्ववियुका केन्द्रय उपाध्यक्ष रश्मी आचार्यले अनेरास्ववियुले उठाउने मुद्धा बालबालिकाको लागि भएको भन्दै अव अनेरास्ववियुले प्रत्येक जिल्लाबाट एक जना विपन्न वालवालिकालाई दश कक्षा सम्म निशुल्क पढाउने अभियान चलाएको बताए ।
उनले अनेरास्ववियुले स्थापना देखी नै विद्यार्थीको हितका लागी लड्दै आएको भन्दै अझ धेरै शैक्षिक मुद्धालाई उठाएर अनेरास्ववियु देशकै ठूलो नेता विद्यार्थी सङ्गठन बन्न चाहेको बताए । कार्यक्रममा वोल्दै अनेरास्ववियु भुगोल जिल्ला कमिटीका अध्यक्ष शेखर गौतमले अनाथ बालबालिका पनि हाम्रै समाजको हिस्सा भएको भन्दै आफूले सक्दो सहयोग गरि होली मनाएको बताए । त्यस्तै आश्रमको तर्फबाट बोल्दै आश्रमकी कर्मचारी चन्द्रा थापाले यहाका बालबालिकामा आफै गरै र सक्षम बनै भन्ने मान्यतामा अगाडि बढेको भन्दै आश्रमबाट बालबालिकाले सैद्धान्तिक मात्र नभई व्यवहारिक ज्ञान पनि पाउने बताईन । कार्यक्रममा अनेरास्ववियुले करिब आठ हजार बराबरको स्टेसनरी सामाग्री आश्रमलाई प्रदान गरेका थिए ।
४० जना पक्राउ ः पोखरामा होली खेल्ने क्रममा जथाभावी गर्ने ४० जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३५ पुरुष र पाँच महिला छन् । रंगहरुको पर्व होली मनाउने क्रममा मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने, जथाभावी रंग दल्दै हिंड्ने, लोला हान्ने, उच्छृङखल गतिविधि गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कास्कीका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ गरिएका ब्यक्तिहरु उपर छानविन भइरहेको कास्की प्रहरीले जनाएको छ ।
यसैगरी पोखराका विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुले एकसाथ होली मनाएका छन् । सामाजिक जागरणका लागि नारी अभियान पोखराले विकृतिलाई हटाउँ, संस्कृतिलाई जोगाउँदै सभ्य समाज निर्माण गरौ भन्ने उद्घोषका साथ होली मनाएको हो । पत्रकार, अधिकारकर्मी, विभिन्न राजनीतिक दलका नेता, उद्यमी, इञ्जिनीयर, समाजसेवी, आमा समूह टोल विकास संस्थाका प्रतिनिधिहरु, व्युटिसिएन, लगायतका सवै क्षेत्रका महीलाहरु एकै स्थानमा भेला भएर पहीलो पटक पोखरामा होली मनाएका हुन् । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले हरेक धर्म संस्कृति र सस्कारका विकृति विसंगति हटाउनुपर्नेमा जोड दिइन । कार्यक्रममा ंसयोजक अञ्जु केसी, सह–संयोजक ममता गुरुङ र उर्मिला पौडेलले पनि बोलेका थिए ।
Post a Comment