0
सूर्यराज आचार्र्य
कुनै पनि शहरको सार्वजनिक यातायात सेवाको गुणस्तरले शहरी यात्राको सहजता र प्रभावकारिता जनाउने मात्र नभई शहरको समग्र छविको प्रतिनिधित्व गर्दछ। विदेशीले अन्तर्रा्ष्ट्रिय एअरपोर्टबाट निस्कनेबित्तिकै प्रयोग गर्ने ट्याक्सी, बस या रेल सेवा सार्वजनिक यातायातकै अङ्ग हुन्। विदेशी पर्यटक, बिजनेसम्यान या लगानिकर्ता जो भएपनि गन्तव्य देशको ‘सभ्यपन’ को पहिलो अनुभव सार्वजनिक यातायातको सेवाको स्तरमार्फत् बटुल्छन्। काठमाडौंका हकमा सार्वजनिक यातायातको अवस्था अत्यन्त नाजुक रहेको जगजाहेरै छ। यसका विविध कारण र निराकरणका उपायका बारे बहस जारी छ। काठमाडौं उपत्यकाको जनसंख्या केही दशक मै ६०÷७० लाखको हाराहारीमा पुग्ने आँकलन गरिएको छ। जनसंख्यासँगै आर्थिक विकास र सम्वृद्धिले पनि गति लिने अपेक्षा छ। निजी सवारी साधनको प्रयोग बढ्दो क्रममा छ। तर अव्यवस्थित शहरीकरण, साँघुरा सडक र बढ्दो ट्राफिक जामलाई दृष्टिगत गर्दा सार्वजनिक यातायातको अवस्थामा आमुल सुधार गर्न अनिवार्य भएको छ। यसकालागि समग्र शहरी बससेवामा तत्काल आधुनिकिकरण, कम्तिमा ३र४ वटा मुख्य रुट समेटेर मेट्रो रेलको गुरुयोजना तयारी र पहिलो मेट्रो रेल लाइन अबको १०र१२ वर्षमा सञ्चालन गर्ने लक्ष्यका साथ आयोजनाको अध्ययन र डिजाइन गर्ने लगायतका नीतिगत पहल लिनु जरुरी छ। 
काठमाडौंमा हाल सञ्चालित बस र माइक्रोबस सेवाको स्तर निकृष्ट तहमा झरेको छ। शहरका प्रमुख रुटमा समेत सार्वजनिक यातायातका मुख्य साधनका रुपमा गुडिरहेका माइक्रोबस भित्र कोचिएका यात्रुको अवस्थाले हाम्रो राजधानी शहरको यातायात व्यवस्थापनको पद्धति उपर यसबारेमा समान्य ज्ञान हुने जो कोहीलाई जिब्रो टोक्न बाध्य पार्दछ। शहरी सार्वजनिक यातायातका लागि कुनै पनि दृष्टिले उपयुक्त नहुने यस्ता सवारी साधनलाई कसरी र किन अनुमति दिइयो? काठमाडौंमा गुड्ने सार्वजनिक बस समेत जिर्ण र थोत्रा छन्। कतिपय बस त लामो रुटमा चलेर थोत्रिएपछि काठमाडौंका शहरी रुटमा चलाइएको छ। जबकि राजधानीका सडकमा चल्ने बस तुलनात्मक रुपमा नयाँ र स्तरीय हुनु पर्ने हो। 
माथि उल्लेखित समस्याका बाबजुद् काठमाडौं उपत्यकाको सार्वजनिक बस यातायातलाई सुधार गर्दै आधुनिकिकरणतर्फ लिने केही आशलाग्दा पहलहरु देखिएका छन्। एसियाली विकास बैकको सहयोगले सञ्चालित आयोजना अन्तर्गत नेपाल सरकारले समग्र सार्वजनिक यातायात प्रणालीको रुट वर्गिकरण र डिजाइन गरी प्रमुख रुटमा सार्वजनिक यातायातका साना सवारी साधनलाई ठूला बसले प्रतिस्थापन गर्ने नीति अपनाएको छ। यसै सन्दर्भमा साझा यातायात र महानगरपालिकाको संयुक्त लगानीमा गुणस्तरीय सेवायुक्त ठुला बस खरिद गर्ने प्रक्रिया शुरु भइसकेको छ। हालै मात्र निजी क्षेत्रको महानगर यातायात प्रालिले ३९ वटा नयाँ र आधुनिक प्रविधियुक्त बस चक्रपथ परिक्रमा रुटमा सञ्चालनमा ल्याएको छ। निजी क्षेत्रको यो पहल काठमाडौंको सार्वजनिक यातायात सुधारका लागि साँच्चै आश लाग्दो छ। 
महानगर यातायातले बससेवा उद्घाटन गरेको भोलिपल्ट नै यो पंक्तिकारले उक्त बसमा यात्रा गरेको थियो। समाचारमा उल्लेख भएअनुसार नै बस नयाँ र आकर्षक थिए। बस चालक र परिचायिका युनिफर्ममा थिए। परिचायिकाको यात्रुसँगको व्यवहार निकै शिष्टतापूर्ण थियो। बस रोक्नका लागि यात्रुले थिच्न मिल्ने बटमको व्यवस्था थियो। बसमा सिसिटिभी क्यामरा र वाईफाई जडान थियो (तर यी उपकरणहरु संचालनमा थिएनन्, र व्यवस्थापकले सेटअप भैसकेपछि एकरदुई दिनमै संचालनमा आउने बताए।) त्यस्तै यी बसमा यात्रुले बसको लोकेसन मोबाइल एप्समार्फत् थाहा पाउने प्रणाली समेत जडान हुनेछ। 
महानगर यातायात बससेवाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको निजी क्षेत्रको आफ्नै पहलमा हालको नियमन पद्धतिले तोकेकोभन्दा उच्च प्रविधि र गुणस्तरीय बससेवा बजारमा ल्याउनु हो। यो कम्पनीले अरु नया‘ बस सेवामा ल्याउने लक्ष्य पनि राखेको छ। थोरै संख्याका माइक्रोबस या मिनीबस मात्र स्वामित्वमा रहेका सयौं साना यातायात कम्पनी या व्यवसायीका लागि आधुनिक प्रविधिको प्रयोग सहज हुककदैन। धेरै बस सहितका ठुला कम्पनीले भाडा संकलनका लागि स्मार्ट कार्ड लगायतका आधुनिक प्रविधि सहजै अपनाउन सक्छन्। ठूलो लगानीसहितका ठूला कम्पनीको संलग्नताले गर्दा सार्वजनिक यातायात व्यवस्थापनमा व्यवसायिकता र उद्यमशिलताको विकास भई बससेवा यात्रुहरुको सुविधा र माग उपर बढी संवेदनशील हुन पुग्छ। महानगर यातायात प्रालिको नया‘ बससेवाको सञ्चालनसँगै काठमाडौंको सार्वजनिक बससेवा यो दिशातर्फ उन्मुख हुन सक्ने राम्रो सम्भावना देखिन्छ।
महानगर यातायात बससेवाको माथि उल्लेखित पक्षहरुमा यस पंक्तिकारको झट्ट र छोटो मूल्याङ्कन एकदमै सकारात्मक रह्यो। तर केही प्राविधिक पक्षमा भने सुधारको जरुरत देखिएको छ। बसको सिट लेआउटका बारेमा भने शहरी यातायातमा यात्रु चाप र यात्राको प्रकृतिलाई आवश्यक मात्रामा ध्यान नपुरÞ्याइएको देखियो। खासगरि बसको साइजअनुसार सिटको संख्या अलि बढी र यात्रु उभिने ठाउकक थोरै छ। शहरी यातायात प्रणालीमा समान्यतया ‘पिकआवर’को यात्रु चाप ‘अफ पिकआवर’कोभन्दा दोब्बर या अझ बढी हुन्छ। आफिस टाइमको बेलामा काठमाडौंका सडकमा गुड्ने बस भित्रको कोचाकोचको स्थितिले पनि यो कुरा आँकलन गर्न सकिन्छ। त्यसैले शहरी क्षेत्रमा चल्ने सार्वजनिक बसमा सिट कम र उभिने ठाउँ धेरै हुनु पर्दछ। यात्राको दुरी खासै लामो नहुने हुनाले अधिकांश यात्रीलाई सहजसँग उभिने ठाउँ भए पुग्छ। तर काठमाडौंमा सञ्चालित कुनै पनि बसमा यस विषयमा उचित ध्यान पुरÞ्याइएको छैन। उभिने ठाउँको अभावमा बसयात्रा निकै कष्टदायक बन्न पुग्छ। अझ भीडका माझ बस चढ्ने र ओर्लने काम त प्रलय नै हुन्छ। 
९ मिटर लम्बाई रहेका महानगर यातायातका बसमा ढोका बीचतिर छ, जुन सही छ। उभिएर अलि लामो दुरी यात्रा गर्ने यात्रु बसको अगाडि या पछाडिको भागमा उभिन्छन्। जस्ले गर्दा ओर्लने यात्रुको धक्का खेप्नु पर्दैन। तर ढोकालाई चढ्ने र ओर्लने गरी दुई भागमा पार्टेसन गरेको त्यति प्रभावकारी हुने देखिन्न। दुबै तर्फबाट ओर्लने र चढ्ने यात्रु हुन्छन। सिट लेआउटको हकमा अब नयाँ ल्याइने बसमा आवश्यक प्रविधिक गृहकार्यसहित सिट लेआउटको उपयुक्त डिजाइन अपनाउनु वाञ्छनीय हुनेछ। हालका बसमा समेत कमसेकम ढोका सामनेका ४ वटा सिट हटाएमा उभिने यात्रुहरुका लागि ठूलो राहत हुनेछ। साथै हालका बसको सिटको स्वरुप पनि शहरी बसका उपयुक्त छैन। यी सिट अलि लामो दुरीमा चल्ने बसका लागि उपयुक्त देखिन्छन्। शहरी बसमा गद्दावाला सिट आवश्यक हुककदैन। अलि पछि यस्ता सिट मर्मत सम्भार गर्न झन्झटिलो हुन्छ। हाम्रो सन्दर्भमा शहरी बसका लागि प्लास्टिकका सिट सबैभन्दा उपयुक्त सिट हुन्, जुन २०३० को दशकमा साझा यातायातद्वारा सञ्चालित जापानिज् बसमा थिए। हुनसक्छ, भारतीय बस निर्माताले यस्ता सिट बनाउँदैनन्, तर चिनियाँ कम्पनीले प्लास्टिकका स्तरीय सिट बनाउँछन्।
भारतमा निर्मित बसको चेसिसमा बडी बनाउँदा हाम्रो डिजाइन अनुसारको सिट लेआउट र सिटको प्रकार समेत छनौट गर्न सकिन्छ। वास्तवमा सार्वजनिक यातायातले कार र मोटरसाइकल लगायतका निजी सवारी साधनसँग प्रतिष्पर्धा गर्नु पर्दछ। आफ्नो कुनै सवारी साधन नहुनेले बाध्य भएर सार्वजनिक यातायात प्रयोग गर्ने हाम्रो हालको अवस्थाकै निरन्तरताले सार्वजनिक यातायात प्रणालीलाई बचाइराख्न मुस्किल हुन्छ। सार्वजनिक यातायातको गुणस्तर खस्किँदै जाँदा शहरिया मध्यम वर्ग यो सेवा प्रयोग गर्न हिचकिचाउने अवस्था हुन्छ। त्यसैले कतिपय विकासशील शहरका नाजुक सेवास्तरका सार्वजनिक यातायातलाई ‘गरीब वर्गको यातायात’ भनेर समाजले नै लेवल पनि लागाइदिएको हुन्छ। यस्तो यातायात सेवा प्रयोग गर्दा शहरिया मध्यम वर्गमा हिनताबोध हुने भएकोले  निजी सवारी साधन प्रयोग गर्ने प्रवृित ह्वात्तै बढ्छ।  
समाजका सबै वर्ग र समूह आकर्षित हुने सार्वजनिक यातायातको सेवाको विकासका लागि सेवाको गुणस्तरमा उल्लेख्य सुधार गर्नुको कुनै विकल्प छैन। त्यसैले महानगर यातायातले सञ्चालनमा ल्याएका जस्तै आधुनिक प्रविधि सहितका सुविधाजनक ठुला बस तत्कालको आवश्यकता हो। यसका साथै सिटका प्रकार र सिट लेआउट जस्ता मसिना प्राविधिक कुराहरुले सेवाको गुणस्तरमा उल्लेख्य असर पार्ने कुरामा पनि बेलैमा उचित ध्यान पुर्याउन जरुरी छ। दुर्भाग्य नै भनौं, काठमाडौंको बस यातायातको आधुनिकीकरणमा आशलाग्दो पहल लिएको महानगर यातायात प्रालिको बसमा तोडफोड भएको खबर प्रकाशमा आएको छ। समाचारमा जनाइएअनुसार नयाँ र आधुनिक बसले उत्पन्न गर्ने बजार प्रतिष्पर्धाबाट बेखुस यातायात व्यवसायीको सिन्डिकेटमाथि सो घटनाका लागि शंका गरिएको छ। वास्तवमा हालको यातायात नियमनको व्यवस्थामा केही अस्पष्टता छन। तर पनि आधुनिक बससहित स्तरीय सेवा दिने निजी क्षेत्रको कम्पनीलाई बजार प्रवेश निषेध गर्नु यातायात नियमनको आधारभुत सिद्धान्तको बर्खिलापमा हुन्छ। राजधानी शहरको सार्वजनिक यातायातलाई गुणस्तरीय बनाउने पहलमा सिन्डिकेटको एकाधिकार या अरु कुनै बहानामा यातायात व्यवसायीले तगारो हाल्नु न्यायोचित छैन। समाजको विविध तप्कामा सार्वजनिक यातायातको सेवाको स्तरका बारेमा हालै देखिएको गम्भीर चासो र सरोकारलाई दृष्टिगत गर्दा यातायात व्यवसायीका तर्फबाट हुने यस्ता व्यवधानलाई निरन्तरता दिन आउने दिनमा पक्कै सहज हुने छैन।  
राजधानी शहर कै छवि र शहरबासीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सार्वजनिक यातायात सेवालाई आधुनिक र सुविधा सम्पन्न बनाउन अब ढिलो गर्नु हुँदैन। नियमनका व्यवस्थालाई सरकारले कडाईका साथ लागु गर्नै पर्दछ। आधुनिक र विश्वसनीय सार्वजनिक यातायात सेवाका लागि आवश्यक पर्ने नियमनका प्रावधान समेटेर कानुनी व्यवस्थालाई परिष्कृत गर्न जरुरी छ। गुणस्तरीय सेवाका लागि गरिने प्रभावकारी नियमन यातायात व्यवसायीहरुको समेत व्यवसायीक हितमा हुनेछ। सुधारका लागि उपभोक्ता समूह लगायत नागरिक समाज पनि जागरुक हुनु पर्ने खाँचो देखिएको छ। सबैले सकारात्मक सोचसहित आ(आफ्नो भूमिका र कर्तव्य निभाएमा राजधानी शहरको बससेवाको काँचुली फेर्न बिल्कुलै सम्भव छ।
स्रोत ः सेतोपाटी डटकम

Post a Comment

 
Top