0
गोल्डेन न्यूज संवाददाता
विश्व हिन्दू महासंघ नेपाल पश्चिमाञ्चलस्तरीय क्षेत्रीय भेला पोखरामा आइतबार सम्पन्न भयो । भेलाले लक्ष्मण थापालाई क्षेत्रीय अध्यक्षमा चयन गरेको छ ।  समितिको सदस्यमा रुपन्देहीका अर्जुन गौडेल र अमृत मिश्र, स्याङ्जाका नारायण भट्टराई र पुण्यप्रसाद उपाध्याय, अर्घाखाँचीका टोमबहादुर क्षेत्री र शम्भु केसी, कपिलवस्तुका शिवनारायण गिरी र नुमा बेल्वासे, नवलपरासीका एकमाया ढुंगाना र ईन्द्र क्षेत्री रहेका छन् । 
त्यसैगरी समितिमा पर्वतका गंगाराज पौडेल र मानकुमारी गिरी, बाग्लुङका खुमप्रसाद पराजुली र यामबहादुर चर्माकार, गुल्मीका शंकर भण्डारी र सुवर्ण जुहारचन, पाल्पाका देवराज ढकाल र कृष्णा गिरी, कास्कीका शिवप्रसाद तिमिल्सिना र हरिकृष्ण बराल र गोर्खाका हरि लामिछाने रहेका छन् । बाँकी १२ जना सदस्यहरु मध्ये म्याग्दी, मुस्ताङ, मनाङ र तनहुँ, लमजुङ, गोर्खा जिल्लागत रुपमा मनोनित गरिने बताइन्छ । यसअघि भेलाको उद्घाटन गर्दै विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति बासवारीका अध्यक्ष निलप्रसाद भण्डारीले नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएको विषयलाई सबैले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् । यसलाई सबैले हाम्रो समस्या हो भन्ने अवधारणा राखेर हिन्दूराष्ट्र र हिन्दुत्वको जगेर्नाका लागि सबै सक्रियतापूर्वक आन्दोलित हुनुपर्नेमा भण्डारीले जोड दिएका हुन् । उनले आफू महासंघलाई क्षेत्र, अञ्चल र जिल्ला तहसम्म विस्तार गरि विभिन्न गतिविधि सञ्चालन गर्न प्रयासरत रहेको स्पष्ट पारे । महासंघको विधान र नियमावलीको संशोधन गरि तल्लो तहमा रहेका सर्वसाधारणको अपनत्व हुने गरि समिति विस्तार गर्ने भण्डारीको भनाई थियो । कार्यक्रममा ब्राम्हण समाज नेपालका निवर्तमान अध्यक्ष डा. नारायण अधिकारीले तेस्रो सह श्राव्दीमा दक्षिण एशियाली मुलुकहरुलाई क्रिष्टियन बनाउने अभियान अनुुरुप दक्षिण कोरियामा करिब ८० प्रतिशत र जापानमा करिब ७० प्रतिशत जनसङ्ख्या क्रिश्चियन बनेको बताए । उनले भारतको जम्मु काश्मिरमा हिन्दुहरुलाई विस्थापित गर्न लागिएको चर्चा गर्दै नेपालमा २०१२ सम्ममा २० लाख नेपालीलाई क्रिश्चियन बनाउने र १० हजार चर्च बनाउने गर्ने लक्ष्य राखिएकोमा २२ लाख नेपाली क्रिश्चियन बनेको र ११ हजार चर्च बनिसकेको जानकारी क्रिश्चियन हरुबाट प्राप्त भएको बताए । अधिकारीले नेपाललाई हिन्दूराष्ट्र कामय गर्नका लागि हिन्दू धर्मावलम्वी संघ–संस्थाहरुबीच एकता आवश्यक रहेको भन्दै सनातन धर्म सेवा समिति र विश्वहिन्दू महासंघलाई एक बनाएर सर्वस्वीकार्य नेतृत्व तयार गरि हिन्दू राष्ट्र हिन्दूत्वका लागि आन्दोलन गर्न तयार हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सांसद शारदा पौडेल र कुमार खड्काले हिन्दूराष्ट्र स्थापना गर्ने एजेण्डा सहित निर्वाचित भएका सभाषदहरुले समेत हिन्दू धर्मको बारेमा बोल्न नसकेको बताएका थिए । उनीहरुले हिन्दूहरुको भोटबाटै निर्वाचित एमाले, काङ्ग्रेसका सांसदहरुले हिन्दू आन्दोलनलाई दिग्भ्रमित र खण्डित तुल्याएको र हिन्दूवादीको खोल ओढेर हिंड्ने कमल थापाले समेत धर्मनिरपेक्ष संविधानलाई अनुमोदन गराएको आरोप लगाएका थिए । महासंघका उपाध्यक्ष नवराज केसीले विश्व हिन्दू महासंघको नीति र कार्यक्रमको साथै कार्यक्रमको औचित्यको बारेमा चर्चा गरेका थिए । विश्व हिन्दू महासंघ गण्डकी अञ्चल सभापति पुष्पराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला सभापति सुशिलराज पराजुली, क्षेत्री समाज नेपालका पूर्व केन्द्रीय अध्यक्ष प्रा. डा. डिलबहादुर क्षेत्री, पूर्व मन्त्री एवं विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष दिनवन्दु अर्याल, महासंघका केन्द्रीय सदस्यहरु गुणनिधि पन्थी, भवानीप्रसाद शर्मा, पुष्प भण्डारी, पदम पाण्डे, कल्पना केसी, लेखबहादुर टण्डन, बिष्णु बहादुर कार्की, मधुकला कुँवर, नन्दप्रसाद अर्याल, बिहंगम तिमिल्सिना र लुम्बिनी अञ्चल सभापति बेदराज घिमिरे लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  कार्यक्रममा महासंघका केन्द्रीय सदस्य महेश्वर पौडेल र डा. शास्त्रदत्त पन्तले तयार पारेको महासंघको भावी रणनीति र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।



Post a Comment

 
Top