0
गोल्डेन न्यूज संवाददाता
साहित्यकार जीवनसागर भण्डारीलाई यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ। गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागर पोखराले एक दशकदेखि प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आएको साहित्यिक अभियान अक्षरयात्रा मार्फत् गरेको साहित्य कर्म र सिर्जनशीलताका आधारमा यो वर्षको प्रतिभा पुरस्कार भण्डारीलाई प्रदान गर्न लागिएको हो। गजलकार प्रकट पङ्गेनी शिव संयोजक र दीपक समीप, ईश्वरमणि अधिकारी र गजल सन्ध्या पोखराका अध्यक्ष बिर्सना बस्नेत तथा नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा सदस्य रहेको प्रतिभा छनौट समितिले भण्डारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।चैत महिनाको तेस्रो शनिबार ढिकुरपोखरी–४ मा हुने एक सय २८औं अक्षरयात्रामा भण्डारीलाई नगद, सम्मानपत्र र दोसल्लासहित पुरस्कृत गरिने सन्ध्याका अध्यक्ष बस्नेतले जानकारी दिइन्। जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा नारा लिएर साहित्यिक पर्यटनको अवधारणालाई आत्मसाथ गर्दै देशका विभिन्न ठाउँमा अक्षरयात्रा हुँदै आएको छ। भरतपोखरीमा जन्मेर पोखरामा लामो समयदेखि साहित्य र गीत–सङ्गीतमा क्रियाशील भण्डारी लामो समयदेखि पोखरेली साहित्यमा क्रियाशील छन्। पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहकार समेत रहेका भण्डारी कविता, गजल, मुक्तक, कथा, गीत लगायतमा कलम चलाउँछन्।
साहित्यकार गोविन्द गिरी र कृष्ण देवकोटाद्वारा स्थापित पुरस्कार गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले सञ्चालन गर्दै आइरहेको छ। यो पुरस्कारद्वारा यसअघि प्रकाश ज्ञवाली, रुपिन्द्र प्रभावी, कपिल शर्मा र सरला लामिछाने पुरस्कृत भइसकेका छन्।


Post a Comment

 
Top