0
अमित ढकाल
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण क्रममा दुई देशबीच धेरै महत्वपूर्ण समझदारी र सम्झौता भएका छन्। त्यसमध्ये पनि तीनवटा समझदारी कसरी र कति चाँडो कार्यान्वयन हुन्छ भन्नेले नेपाल र चीनको आपसी सम्बन्ध प्रधानमन्त्री ओलीले भनेजस्तो नयाँ उचाइमा पुगेको हो वा होइन तय गर्नेछ। हुन त प्रत्येक सम्झौता आ–आफ्नो क्षेत्रमा महत्वपूर्ण छन्, तर नेपाल र चीन जोड्ने रेलमार्ग, नेपाल–तिब्बत विद्युतमार्ग 
(ट्रान्समिसन लाइन) र किमाथांका–धनकुटा सडकमार्गका लागि बनेका प्रारम्भिक सहमतिको तुलना अरू सम्झौतासँग हुन सक्दैन। यी सहमतिको सफल कार्यान्वयनमै कतिपय अरू महत्वपूर्ण सम्झौताको सफलता निर्धा्रित हुनेछ। जस्तै, पारवहन सम्झौता र नेपाल–चीन स्वतन्त्र व्यापार क्षेत्र कार्यान्वयन यी दुई देशबीचको ‘कन्नेक्टिभिटी’ मा निर्भर गर्नेछ। यी तीन समझदारी एकैपटक कार्यान्वयनमा गए नेपालको इतिहासमै सबभन्दा ठूलो दुई–तीन अर्ब डलरको लगानी हुनेछ। रेलमार्ग, विद्युतमार्ग र पूर्वी नेपालको किमाथांका–धनकुटा जोड्ने सडकमार्ग निर्माणमा यसपालि ठ्याक्कै भएको सहमति के हो? नेपाल र चीनले जारी गरेको संयुक्त विज्ञप्तिको १३ नम्बर बुँदामा यो विषय यसरी समेटिएको छः ‘नेपालले चीनसँग प्रस्तावित रसुवागढी–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्न आर्थिक र प्राविधिक सहयोगको अनुरोध गरेको छ। त्यस्तै, नेपालले किमाथांका–खाँदबारी–धनकुटा जोड्ने दुई लेनको बाटोका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउन र सडक निर्माण गर्न सहयोग मागेको छ। तेस्रो, रसुवागढी–केरुङ सीमाक्षेत्रमा नेपाल र चीनबीच ४०० केभीको ट्रान्समिसन लाइन बनाइदिन पनि चीनसँग अनुरोध गरेको छ। नेपालले यी परियोजनालाई प्राथमिकतासाथ अघि बढाउन चीनसँग अनुरोध गरेको छ।’ विज्ञप्तिमा थप भनिएको छ– ‘माथि उल्लिखित परियोजनाको विस्तृत प्रस्ताव नेपालबाट प्राप्त भएपछि गम्भीरतासाथ अध्ययन गर्न चीन तयार छ।’
बिज्ञप्तिमा लेखिएको यो भाषाको अर्थ के हो? ःलामो समय चीनसँग ‘डिल’ गरेका परराष्ट्रका एक अधिकारी भन्छन्, ‘यसपालि विज्ञप्तिमा लेखिएको भाषा अत्यन्तै सकारात्मक छ।’ उनले विज्ञप्तिको चार नम्बर बुँदातर्फ पनि ध्यानाकर्षण गराए, जसमा लेखिएको छ, ‘दुवै देशका सम्बन्धित निकायले दुई मुलुकबीच र नेपालभित्र रेल्वे सञ्जाल निर्माण गर्न विचार र प्रस्तावहरू आदानप्रदान गर्नेछन् र यथाशक्य चाँडो तयारीका काम सुरु गर्नेछन्।’ ‘यति जोड दिएर विज्ञप्तिमा उल्लेख गरिनु भनेको दुवै देशको आतुरी प्रतिबिम्बित हुनु हो,’ ती अधिकारीले भने।

Post a Comment

 
Top