0
नेपालमा सांसदका विभिन्न काण्डहरु सार्वजनिक भइरहेका हुन्छन् । भट्टीदेखि सुन्दरी काण्डका फेहरिस्त नेपाली जनतालाई जगजाहेरै छ । सांसदजस्तो सम्मानित पदमा रहेका व्यक्तिले आफ्नो मर्यादाको ख्याल नगर्दा आलोचित बन्ने गरेका छन् । राजनीतिक पार्टीको संरक्षणमा र शक्तिको आडमा रक्षकहरु नै भक्षक भएका दृष्टान्त हामीले सुन्दै र भोग्दै आएका छौँ । सुरुवातदेखि नै विवादित छवि बनाएका एमाओवादीका सांसद ल्हारक्याल लामाले आफ्नो मर्यादा बिर्सेर आपराधिक गतिविधि गरेका छन् । गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्दा दरवारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकरबाट १४ राउण्ड गोली फेला परेपछि उनको अपराधको राज खुलेको हो । अनियमितताबारे छानविन भइरहेका बेला बिनादर्ता गैरकानुनी रुपमा गोली फेला परेकाले लामालाई महानगरीय प्रहरीले हातहतियार तथा खरखजाना ऐनबमोजिम अनुसन्धान गरिरहेको छ । बैंक लकरमा कानूनले वर्जित गरेका सामान राख्न नपाइने कानूनी व्यवस्थाको खिलाफ गर्दै लामाले अवैध रुपमा गोली राखेको भेटिएको हो । फौजदारी अभियोग लागेका कारण लामाको सांसद पद निलम्बनमा परेको छ । सांसदजस्तो मर्यादित पदमा रहेका व्यक्तिले आपराधिक काम गर्नु लज्जास्पद कुरामात्रै होइन, नेपालको कानुनलाई खिल्ली उडाउनु हो । यस्ता अपराधीको आपराधिक गतिविधिबारे विस्तृत अनुसन्धान गरी यर्थार्थ विवरण सार्वजनिक हुनु जरुरी भएको छ । विगतदेखि नै फरक–फरक नाममा नागरिकता लिएको भनी चर्को आलोचना भएको थियो । नागरिकता प्रकरणमा मुछिएका ल्हारक्यालका विविध काण्डको सञ्चारमाध्यमले खुलासा गर्दै आएका थिए । यस्तो विवादास्पद व्यक्तिलाई एमाओवादीले संरक्षण र उन्मुक्ति दिँदै आएको थियो । नेपाली कांग्रेसको आवरणबाट राजनीतिमा छिरेका लामाले शक्तिकेन्द्रमा रहेका व्यक्ति तथा दलहरुलाई समेत भरपूर प्रयोग गर्न भ्याएका थिए । एमाले पार्टीमा छिरेर नेतालाई प्रभावमा पार्दै पहिलो संविधानसभामा उनी सभासद् बनेका थिए । तत्कालीन झलनाथ खनालको मन्त्रिमण्डलमा अर्थराज्यमन्त्री बनेका उनी नागरिकता प्रकरणमा चौतर्फी आलोचना भएपछि राजीनामा दिन बाध्य भएका थिए । एमालेमा राज गरेपछि उनी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग नजिकिए । दाहालको प्रदक्षिणा गरेपछि दोस्रो संविधानसभामा सिन्धुपाल्चोकका सभासद् जिताउन लागिपरेका थिए । लामाको विवादास्पद छविबारे जानकार हुँदाहुँदै दाहालले उनलाई समानुपातिकबाट संविधानसभा सदस्य मनोनित गरेका थिए । एउटा अपराधीलाई सबै पार्टीमा छाउन सक्ने राजनीतिक हैसियत कसरी प्राप्त हुन सक्छ ? यो सवाल आमजनताको हो । आफ्ना काला कर्तुत छोप्न र राजनीतिक आवरणमा आपराधिक कर्म गर्न लामाले सबै पार्टीका नेताहरुको नाडी छामिसकेका छन् । आर्थिक चलखेल नभई उनी पार्टीमा कसरी संरक्षित हुन सक्छन् ? एउटा इमान्दार कार्यकर्ता पार्टीकै लागि आफ्नो सपनालाई तिलाञ्जली दिन विवश हुनुपरेको नेपाली राजनीतिमा ल्हारक्वालजस्ता अपराधी र भ्रष्टहरुको दबदबा हुनु दुर्भाग्य हो । नेपालमा राजनीतिक आवरणमा आपराध बढ्नुमा ल्हारक्यालजस्ता अपराधीलाई प्रश्रय दिनु हो । अकुत सम्पत्ति कमाएको अभियोगमा अनुसन्धान हुँदै गर्दा खरखजाना मुद्दासमेत उनीमाथि लागेको छ । राजनीतिलाई नै फोहोरी बनाउने यस्ता अपराधीको प्रभावबाट पार्टी तथा नेताहरु मुक्त नभएसम्म अपराधको राजनीतिकरण र राजनीतिको आपराधिकरण हुन जान्छ । नागरिकता प्रकरणदेखि लुकेका आपराधिक श्रृंखलाहरुको पर्दाफास गरी विभिन्न कसुरमा अनुसन्धान गरिनुपर्दछ । एउटा अपराधीलाई उन्मुक्ति दिनु भनेको सयौँ अपराधीको जन्म गराउनु हो । यस सत्यलाई मनन् गरी ल्हारक्यालको कसुरबमोजिम कानूनी कारबाही गर्नु जरूरी छ ।

Post a Comment

 
Top