0
गोल्डेन न्यूज संवाददाता
कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता कटौती गरेको विरोधमा कास्की जिल्ला अदालतका कर्मचारीले आइतबार अदालत बाहिर बसेर धर्ना दिएका छन् । विहान नौ बजेबाट शुरु भएको धर्ना कार्यक्रम दिउँसो १ बजेसम्म चलेको थियो । धर्ना कार्यक्रम चैत्र १२ गतेसम्म निरन्तर जारी रहने बताइएको छ । यस अगाडि सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत पाँचवटा ट्रेड युनियनले गत फागुन २१ गते संयुक्त विज्ञप्ति र फागुन २८ गते संयुक्त अपिल मार्फत माग पुरा गर्न ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षण गर्दा पनि माग सम्बोधन नभएको भन्दै चैत्र ५ गते पाँचवटा ट्रेड युनियनले नयाँ आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका थिए । आन्दोलनको केन्द्रिय कार्यक्रम अनुसार आइतबार देशैभर धर्ना कार्यक्रम भएको हो । फागुन ३० गतेबाट एक हप्तासम्म कालोपट्टी बाँधेर विरोध तथा व्यापक प्रचार–प्रसार गर्दा समेत मागको विषयमा सम्बोधन नभएकोले धर्ना बस्नुपरेको कर्मचारी बताउँछन् । चैत्र १२ गतेसम्म पनि यो मागको सुनुवाइ नभए चैत्र १४ गतेबाट सम्पूर्ण कार्य वहिस्कार गरी अनिश्चित कालसम्म धर्नामा बस्ने उनीहरुको भनाइ छ । यसरी कर्मचारीहरु धर्नामा बस्दा अदालतमा पुग्ने सर्वसाधारण सेवाग्राहीलाइ भने सास्ती भएको छ ।

Post a Comment

 
Top