0
राजाराम पौडेल
पुलिस र प्यास’ नाटक पोखरामा मञ्चन हुने भएको छ । पञ्चामृत नाट्य समूह पोखराको संयोजनमा नाटकको मञ्चन बैशाख तेस्रो साता पोखरामा हुने भएको हो । कृष्ण उदासीको लेखन निर्देशन रहेको नाटकमा परिवर्तन, दिल प्रसाद गुरुङ, सवु पाठक, आशिष अधिकारी, विवश बाबु, मुना गुरुङ, सितल अधिकारी लगायतको अभिनय समावेश हुने छ । नाटकमा चोर, जड्या, जुवाडे, यौन व्यवसायी, पुलिस र पागल चरित्र मार्फत समाजमा भइरहेको विकृती र यस्को निराकरण कसरी गर्ने भन्ने सन्देश दिन खोजिएको नाटककार कृष्ण उदासीले बताए । ‘यस्ता पात्र समाजमा कसरी उत्पन्न हुन्छन् र यस्को निराकरण कसरी गर्ने भन्ने सन्देश नाटकमा दिइने छ ।’ उदासीले भने । उदासीको यो १ सय ३ औँ नाटक हो । यस अगाडी उनले १ सय २ वटा नाटकमा उनले विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन् । नाटकमा परिवर्तन इनिक्स्पेक्टर कालुरामको पात्रमा देखिने छन् । हवल्दार फुलमतीको भूमिका मुना गुरुङ, आस्था नामको पागलको भूमिका शितला अधिकारी, दुक्किलाल जुवाडेको भूमिका दिलप्रसाद गुरुङले निभाउँदै छन् । 
यसैगरी अनुमति मैया यौन व्यवसायीको भूमिका सवु पाठक, नत्थुराम जड्याको भूमिकामा आशिष अधिकारी र टोलप्रसाद चोरको भूमिका विवश बाबु देखिने छन् । पञ्चामृत नाट्य समूहको पहिलो प्रयासमा यो नाटक पोखरामा मञ्चन गरिने संयोजक परिवर्तनले जनाए । यो समूहमा परिवर्तन, प्राञ्जल, दिपक पराजुली, रामचन्द्र आरसी र रविन शर्मा रहेका छन् ।
विषयवस्तुका दृष्टिकोणले आफ्ना अन्य नाटकमा भन्दा फरकपन यसमा पाइने नाटककार उदासी बताउँछन् । नयाँ कलाकार भएपनि उनीहरुको मार्फत अभिनयमा नाटकपारखीहरुको नाटकको तृष्णा सहजै मेटाउन सफल आफूहरु रहने दावी उनको छ । पोखरामा नाटक हेर्ने दर्शक रहेकोले नाटक मार्फत अगाडि बढ्न खोज्नेलाई पोखरा उत्तम रहेको उदासीले बताए । राम्रो व्यस्थापनमा नाटक प्रर्दशन हुने हो भने सजिलै लगानी उठाउन सकिने उनको अनुभव छ । नाटकको मञ्चनको लागि केहि दिनको वर्कसप पश्चात यतिबेला तयारी सुरु भएको हो । नाटकमा आवद्ध कलाकारले आफ्नो अभिनयलाई दमदार बनाउन दैनिक रुपमा पोखराको केसी क्याटरिङ गैह्रापाटनमा रिहर्सल गरिरहेका छन् । यो नाटकका सबै कलाकार आफ्नो प्रस्तुति मार्फत दर्शकको ध्यान केन्द्रित गर्दै नाट्य क्षेत्रमा स्थापित हुने योजनाका साथ तयारीमा व्यस्त छन् । नाटकमा अभिनय गर्नेसवु पाठक, दिल प्रसाद गुरुङ, परिवर्तन, आशिष अधिकारी सुनौलो एफएममा कार्यरत सञ्चारकर्मी हुन् । 
नाटकको रिहर्सल भैरहेको स्थानमा पुगेर नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपसभापति गंगाधर पराजुलीले नयाँ कलाकारलाई लिएर उदासीले निरन्तर नाटकको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे । पुलिस र प्यास नाटकले पोखराको नाट्य क्षेत्रमा नयाँ आयाम थपिदिने पराजुलीको विश्वास थियो । अभिनयलाई शसक्त्त बनाउन कलाकारले मेहनत गरेको खण्डमा यस नाटकले समाजलाई सकारात्मक सन्देश दिन सक्ने उनको भनाइ थियो ।
पोखरामा स्तरीय नाटकको मञ्चन वि. स. २००६ तिरबाट शुरु भएको पाइन्छ । वि.स. २०२० सालसम्म पोखराको रङ्गक्षेत्र अनियमितता जस्तो देखिएपनि २०३० साल पछि भने यो क्षेत्रको विकासले गति लिएको थियो । यहि समयमा रङ्गक्षेत्रसँग सम्बन्धित दर्जनांै संस्थाको स्थापना भइ पोखरेली रङ्गक्षेत्रको महत्व नेपाली रङ्गमञ्चको क्षेत्रमा हुन पुगेको थियो । डाँफेकला मन्दिर, प्रतिबिम्ब, पोखरेली युवा साँस्कृतिक परिवार लगायत संस्थाको स्थापना पछि पोखराको रङ्गक्षेत्र फस्टाएको थियो । पछिल्ला समयमा यो क्षेत्रमा नयाँ युवाहरुको सक्रियता बढ्न थालेको छ । यसरी भएकोे सक्रियताले पोखरेली नाट्य क्षेत्रमा आशा थपिदिएको छ ।




Post a Comment

 
Top