0
रोहित थापा
सफल राजनीतिज्ञसँग समयलाई चिनेर जोखिम मोल्न सक्ने क्षमता हुन्छ। उसैले परिवर्तनलाई नेतृत्व दिने अवसर पाउँछ र आफूलाई आफ्नो समयको नेता साबित गर्छ। खुलामञ्चमा कांग्रेस महाधिवेशन उद्घाटन कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालाले मोलेको जोखिमको चर्चा गरेका थिए। कांग्रेसका तत्कालीन सभापति कोइरालाले माओवादीसँग वार्ता गर्ने तथा संविधानसभा र गणतन्त्रमा जानेजस्ता जोखिम उठाएका थिए। उनले नै संघीयतामा जाने जोखिम स्वीकार गरेका थिए।
यही जोखिम उठाउनाले नै इतिहासका तमाम दागका बाबजुद गिरिजाप्रसाद कोइराला शान्ति प्रक्रियाको नेताका रुपमा स्मरणीय र श्रद्धेय हुनपुगे। प्रचण्डले आफ्नो पार्टीलाई हिँडाइरहेको बाटो बदलेर प्रतिस्पर्धात्मक राजनीतिमा आउने जोखिम मोलेका थिए। त्यो आफैंमा सानो जोखिम थिएन।  
१३ औं महाधिवेशनको मतदान सुरु हुनुअघि गगन थापाले भनेका थिए, ‘मैले मेरो राजनीतिक जीवनको सबैभन्दा ठूलो जोखिम उठाएको छु।’ नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा उनले महामन्त्रीमा उमेद्वारी दिने कुरा धेरैलाई ‘गफ’ लागेको थियो। कतिपयले ‘बार्गेनिङ’को रुपमा अर्थ्याएका थिए। कुनै लेनदेनपछि गगन पछि हट्लान भन्ने आंकलन थियो। यो विश्लेषण स्वभाविक थियो। नेपाली कांग्रेसजस्तो ‘म्याच्युर’ पार्टीमा आफ्नो पिढीका कैयन प्रतिभाशाली नेताहरु नेतृत्वतहमा उम्मेदवारी दिने आँट नगरेर त्यतिकै ’बुढा’ भएका छन् वा छायाँ पर्दै हराएर गएका छन्।
केही अपवाद जसले चुनौती स्वरूप उम्मेद्वारी दिए, उनीहरुले अपमानजनक मत मात्र पाएका छन्। चिरन्जीवी वाग्ले, नरहरि आचार्य तथा भीमबहादुर तामाङ त्यस्तै उदारहण हुन्।
यहीकारण हो कांग्रेसमा क्षमता भएका रामशरण महत, महेश आचार्य, शेखर कोइराला, पूर्णबहादुर खड्काजस्ता कैयन नेताले नेतृत्व तहमा आफ्नै बुतामा उठ्ने मन गरेनन् र केहीले तयारी गरेर पनि अन्तिम समयमा आँट गर्न सकेनन्। अन्तिममा आएर आफ्नो सपनालाई कैद बनाएर कैयन वर्षदेखि केन्द्रीय सदस्यमा तर लडिरहेका छन्।
यही पृष्ठभूमिमा चालीस वर्षे  गगन थापाले आफ्नै बुतामा महामन्त्रीमा दाबी गर्नु चानचुने कुरा थिएन। गगनले महामन्त्रीमा उठ्न गरेको तयारीको धेरैपछि कृष्णप्रसाद सिटौलाले सभापतिमा उठ्ने तयारी थालेका हुन्। वर्षौंदेखि जमेर बसेको कोइराला र देउवाको दुई बलियो धारका विरोधमा उभिन दुबैलाई एक–अर्काको साथ चाहिन्थ्यो, एक साथ उम्मेद्वारी घोषणा गरे, चुनाव लडे। 
बीपी पुत्र शशांक र आफ्नै ससुरा अर्जुननरसिंहसँग उनले चुनाव हारे। शशांक महामन्त्री बने।  
गगनले चुनाव हारे तर राजनीति जिते। सबैभन्दा पहिले उनले ल्याएको मतसंख्या हेरौं। उनले ५८४ मत ल्याए, अर्थात् सदर मतको झन्डै २० प्रतिशत। अघिल्लो महाधिवेशनमा दुई शक्तिशाली घटकविरुद्द उठ्ने भीमबहादुर तामाङ र नरहरि आचार्यले क्रमशः ७८ र १५२ मत ल्याएका थिए अर्थात् मतको २.५ प्रतिशत र ५ प्रतिशत।  
यो मत गगनले बीपी वा गणेशमान वा सुवर्ण शम्शेरको पारिवारीक लिगेसी बिनै ल्याएका हुन्। उनले आफ्नो क्षमता, मेहेनतले त्यति मत ल्याएका हुन्। कार्यकर्ताले उनमा सम्भावाना देखेर त्यति मत दिएका हुन्। महाधिवेशनका हरेक पाँच प्रतिनिधिमा एकले मत दिएको उम्मेदवारका नाताले गगन अब जबर्जस्त रुपमा कांग्रेस राजनीतिको केन्द्रमा आइपुगेका छन्।  
उनको उम्मेदवारीले ल्याएको तरङ्गलाई अब कांग्रेसले बाइपास गर्न सक्ने छैन। पोखरी झैं जमेको कांग्रेस राजनीतिको तलाउ बीचैमा उनले ढुंगा फालिदिए। यसले स–साना लहर सिर्जना गरेको छ। १३ औं महाधिवेशन पछिको कांग्रेसमा ती तरङ्गको प्रभाव देखिने नै छ।
तरङ्ग एक, आफूलाई कांग्रेस हाँक्न समर्थ देख्ने युवा पुस्तालाई नेतृत्व दाबी गर्न उत्साह मिलेको छ। कांग्रेसको कुनै पनि समितिको नेतृत्व लिन कपाल फुलुन्जेल किन पर्खिने? भन्ने प्रश्न तलतलसम्म पुगेको छ। एउटा अत्यन्तै ठूलो कांग्रेसी युवापंक्ति किंकर्तव्यविमुढ छ अहिलेसम्म। विशेषगरी नेपाल विद्यार्थी संघले २०४६ सालपछि उत्पादन गरेका जोशिला र क्षमतावान युवा कार्यकर्ताहरुले पार्टीमा उपयुक्त स्पेश पाएका छैनन्। उनीहरुका लागि अब न नेविसंघ वा तरुण दलमा अल्झिरहनु उपयुक्त छ न त पार्टीमा ठाउँ छ। नेविसंघमा छोरा पुस्ताका युवा आइसके भने पार्टी बा पुस्ताकै कब्जामा छ। बीचमा रहेको यो पुस्तामा गगनको ऊर्जा सञ्चार भएको छ। यो पुस्ता अब नेतृत्व लिन जुर्मुराउने छ। ससुरा अर्जुननरसिंह केसी उठेकै पदका लागि उनले दिएको उम्मेदवारीको अर्थ यही हो। यदी यो पुस्ता अब पनि जुर्मुराएन भने भोलि छोरा पुस्ताले उनीहरुलाई ’ओभरटेक’ गर्ने छ। मलाई लाग्छ, अर्को महाधिवेशनसम्ममा युवा मात्र होइन धेरै बुढालाई पनि नेतृत्वका लागि दाबी गर्ने धेरथोर आँट बटुल्न सहज हुनेछ। तरङ्ग दुई, पारिवारिक लिगेसीलाई चुनौती। पारिवारिक ‘लिगेसी’ नबोकेका गगनले त्यही पदमा ‘फाइट’ गरे, जहाँ बीपीपुत्र शशांक थिए।
कोइराला परिवार बाहिरका शेरबहादुर देउवा पार्टी सभापति त भए तर कोइराला परिवारको उपयुक्त उत्तराधिकारी नभएको मौकामा। अर्को महाधिवेशनदेखि नै विरासत फिर्ता गर्ने गरी कोइराला परिवारको अभ्यास सुरु भइसकेको छ। तर गगनको उमेद्वारीले यहाँ तरङ्ग सिर्जना गरेको छ। लोकतान्त्रिक परिपाटी अंगालिसके पछि परिवारको सेन्टिमेन्टमा नेतृत्वमा पुग्न सकिएला तर त्यो चुनौती रहितर प्रतिस्पर्धा रहित नहुने प्रष्ट छ।
परिवारवादको सोच हाम्रो डिएनएमा हजारौं वर्षदेखि सर्दै आइरहेको छ। यो सामन्ती संस्कारबाट हाम्रो समाज त्यति अगाडि बढेकै छैन। राजतन्त्रको धङधङी हाम्रो चेतन, नभए अर्धचेतन मस्तिष्कमा छँदैछ। त्यसैले गगनको यो जोखिमको प्रभाव अहिलेभन्दा धेरै भविष्यमा देखिनेछ। तरङ्ग तीन,  गगनको उम्मेदवारी कांग्रेस रुपान्तरणको बहस सुरुवात हो। पञ्चायतकालीन सन्दर्भमा बनाइएको पार्टीको संरचना बदल्नुपर्ने विषयमा कांग्रेस पञ्चायतपछिको २६ वर्ष चुप बस्यो। कारण जेसुकै हुन् तर अहिलेसम्म कांग्रेसको संरचना बदल्नुपर्ने विषयमा यति बलियोगरी कसैले आवाज उठाउन सकेको थिएन। नरहरि आचार्यलगायतको प्रयासले कुनै प्रभाव सिर्जना गरिरहेको थिएन।
पञ्चायतकालको प्रतिबन्धित सन्दर्भमा नेताले भरपर्दो कार्यकर्ता चुन्ने र कार्यकर्ताले नेतृत्वलाई अनुमोदन गर्ने पद्धति बन्यो। यसले पार्टीलाई क्रियाशील सदस्यबीच सिमित गरिरहेको छ। तर नेपाली कांग्रेसको वर्तमान संरचना असान्दर्भिक भइसकेको महसुस गरिएन। यो संरचना बदल्नु पर्ने आवश्यकता महसुस गरिएन। एकातिर संसदीय राजनीतिको अगुवा दाबी गर्ने, आफूलाई ‘मास बेस्ड’ पार्टी भन्ने तर ’क्याडर बेस्ड’ पार्टीको रुपमा सञ्चालित हुने विरोधाभाषमा कांग्रेस अल्झिरहयो। संसदीय राजनीतिमा पार्टीलाई ‘मास बेस्ड’ बनाउनु र पार्टीमा मतदाताको भूमिका बढाउनु आवश्यक छ।
कांग्रेस सञ्चालनमा आम मतदाताको प्रत्यक्ष सहभागिताको अवसर सिर्जना गर्न पार्टी सञ्चालनको पद्धति र संरचना बदल्ने जोखिम मोल्नु आवश्यक छ। गगनले यो आवश्यकता बोध गरे र पार्टीलाई ‘मास बेस्ड’ बनाउन प्रस्ताव गरे। यो महाधिवेशनले उनको प्रस्तावलाई सम्बोधन गरेन। तर यो हामीले अपनाएको राजनीतिक पद्धतिको आवश्यकता हो, जो कांग्रेसलाई पटकपटक बोध भइरहनेछ। 
पार्टीको संगठानिक पुनर्संरचनाको यो प्रश्न युवा पिढीलाई काँग्रेस पार्टीले आफूतिर आकर्षित गर्ने र राजनीतिप्रति उनीहरुलाई उत्साहित गर्ने कुरा सँग जोडिन्छ। म अहिले २६ वर्षको भएँ। मेरो पुस्ताका धेरै युवालाई अहिलेको राजनीतिप्रति विरक्ति छ। आम नागरिकको चासोभन्दा टाढा नेता र कार्यकर्तामुखी राजनीतिले युवालाई तान्न सकेको छैन।
यसको एउटा ठूलो प्रमाण नेपाली कांग्रेसको घट्दो लोकप्रिय मत हो। २०१५ साल र २०४८ सालका दुवै आम निर्वाचनमा ३७ प्रतिशतभन्दा बढी मत ल्याएको कांग्रेसको ‘पपुलर मत’ अहिले २५ प्रतिशतको हाराहारीमा खुम्चिन थालेको छ। नयाँ थपिने मतदाताको चासो कांग्रेसतिर नभएपछि उसको पपुलर मत घट्ने नै भयो।  
हो, अरु कुनै ठूला पार्टीको पनि पपुलर मत बढेको छैन, चिन्ता यही हो। मेरो पुस्ताको मत ठूला पार्टी छोडेर स–साना पार्टीहरुमा ‘फ्र्यागम्याण्टेड’ हुन थालेको छ, त्यसले थप राजनीतिक अस्थिरता र निराशा बढाउनेछ।
अहिले नै मतदादाको ६० प्रतिशत १८÷४० बर्ष उमेर समूहका छन्। यसको अर्थ उनीहरुले परिवर्तन खोज्छन्– पात्रमा, प्रवृत्तिमा र राजनीतिक तौरतरिकामा। जुन पार्टीहरु बदलिँदैनन् र जुन पार्टीको नेतृत्वमा प्रतिभाशाली युवाहरु पुग्दैनन्, तिनको रबअबाजनीतिक भबिष्य छैन।
त्यसैले सबै ठूला र पुराना पार्टीले युगअनुसार आफूलाई बदल्नै पर्छ। गगनले त्यो परिवर्तनको प्रस्ताव तयार पारिसकेका छन्। गगनको राजनीतिक भविष्य अब कसैका निगाहले निर्धा्रित गर्ने छैन। उनले त्यो प्रास्ताव कांग्रेसका आम कार्यकर्तामाझ कति लैजान सक्छन्, र उनीहरुलाई पार्टीको सुधार र परिवर्तनका लागि कति बुझाउन सक्छन्न् त्यसमा उनको र धेरै हदसम्म कांग्रेस पार्टीको पनि भविष्य निर्भर गर्छ।
स्रोत ः सेतोपाटी डटकम





Post a Comment

 
Top