0
गोल्डेन न्यूज संवाददाता
पोखराको हेमजा पनि प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषित भएको छ । पोखराको २७ र २९ वडा हेमजालाई संयुक्त रुपमा बुधवार उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले प्रतिवद्धता व्यानरमा हस्ताक्षर गरि प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरेका हुन् । 
सरोकारवाला विभिन्न निकायहरुसंगको लामो छलफल पश्चात उप–महानगरपालिकाले नगरका सम्पूर्ण वडाहरुलाई पहिलो चरणमा प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषित गर्दैछ । सवै वडाहरुको घोषणा समाप्तिसंगै उप–महानगरपालिकाले बैशाखमा सिङ्गो नगरलाइ नै प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्ने जनाएको छ । पोखराको २७ र २९ लाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्दै कार्यकारी अधिकृत झलकराम अधिकारीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने प्लाष्टिकका काने झोला तथा गिलास निषेधको अभियानलाई केहिले असफल पार्ने तयारी गरिरहेको भएपनि सम्पूर्ण नगरवासीको सहयोगमा अभियान सफल हुने विश्वास व्यक्त गरे । वडा सचिव ईश्वरी बास्तोलाको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा वडास्तरिय राजनैतिक दलको तर्फबाट मधुसुदन त्रिपाठी, मिनबहादुर थापा, मन बहादुर खत्री, लक्ष्मण के.सी. आदीले बोलेका थिए । उनीहरुले नगरपालिकाको यो अभियानलाई आफू र आफ्नो दलको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा वडा स्तरिय राजनैतिक दलका प्रतिनिधि, टोल विकास संस्था वडा समन्वय समितीका अध्यक्ष, वडा महिला समन्वय समिति, आमा समूह लगायतको उपस्थिति रहेको थियो । वडा नं. २९ का सचिव कविन्द्र कुँवरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन चन्द्रावती वाग्लेले गरेकि थिइन् । उप–महानगरपालिकाले यो संगै पोखराका १८ वडालाइ प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

Post a Comment

 
Top