0
राजाराम पौडेल 
कास्की जिल्ला अदालतले न्यायिक तथा अर्धन्यायिक निकायमा लेखापढी गर्ने प्रमाण–पत्र पाउनका लागि निवेदन आव्हान गरेपछि प्रमाण–पत्र पाउनका लागि निवेदन दिनेहरुको भिड लागेको छ । अदालतले लेखापढी व्यवसायीको प्रमाण–पत्र लिनको लागि फागुन ३ गते सूचना प्रकाशित गरेर जानकारी गराएको थियो । निवेदन दिने अन्तिम मिति नजिकिदै गर्दा निवेदकहरुको चाप बढ्दै गएको हो । निवेदन दिने समय आगामि चैत्र २ गतेसम्मका लागि तोकिएको अदालतले जनाएको छ ।  लिखित परिक्षा चैत्र १३ गते हुनेछ । हालसम्म २ सय भन्दा बढिको निवेदन परिसकेको अदालतका सर्वेक्षक बसन्तकेशव भण्डारीले बताए । यसरी फाराम भरी निवेदन दिएका मध्ये लिखित परिक्षा तथा अन्र्तवार्ता उत्तिर्ण हुन सफल निवेदकलाई न्यायिक तथा अर्धन्यायिक निकायमा लेखापढी गर्ने प्रमाण–पत्र प्रदान गरिने भण्डारीले जनाए । 
४० प्रकारको निवेदन निशुल्क वितरण गर्न थालिएपछि अदालतमा लेखापढी गर्नेहरुको व्यवसाय संकटमा परेपनि मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतमा लेखापढी व्यवसाय गर्नेहरुले यो पेशा अपनाएर राम्रोसँग दैनिक गुजारा गर्न सफल भएका छन् । 
यसैबिच अदालतमा मुस्ताङचोक पोखरामा शाखा कार्यालय रहेको संरक्षक समुह नेपाल मार्फत मात्र २५ जनाले फारम भरेका छन् । यो संस्थाले एक महिनाको तालिम र प्रयोगात्मक अभ्यास समेत गरी लेखापढीको प्रमाण–पत्र लिनको लागि भनेर झण्डै ३० जना महिलालाई तयारी अवस्थामा राखेको अदालतमा भेटिएकी संस्थाकी प्यारालिगल संयोजक अस्मिता सापकोटाले बताइन् । संस्थाले महिलालाई निशुल्क तयारीको साथै आउने जाने यातायात खर्च समेत संस्थाले व्यवस्था गर्ने गरेको उनको भनाइ थियो । 
बेरोजगारको संख्या बढि भएकोले निवेदन दिनेहरुको संख्या बढेको अदालतका स्रेस्तेदार दीनबन्धु बरालले बताए । प्रवेशिका परिक्षा उत्र्रिण गरेका, १६ वर्ष उमेर पुगेको नेपाली नागरिकले दुईप्रति पासपोर्ट साइजको फोटो र एक सय रुपैयाँ सहित निवेदन दिन सक्ने बरालले जनाए । 
लेखापढी व्यवसायी सम्बन्धि नियमावली २०५१ अनुसार लेखापढी व्यवसायीले राजीनामा, वकसपत्र लगायतका मालपोत कार्यालयमा पारित हुने लिखत, अदालतमा तारेख थाम्ने, साक्षी हाजिर गराउने, सकारनामा गर्ने जस्ता सामान्य प्रकृतिका लिखतको मस्यौदा गर्न पाउँछन् । यसैगरी अर्धन्यायिक निकायमा दर्ता गर्ने सामान्य खालका निवेदन, दरखास्त, तमसुक भरपाई, बैनापत्र, वारेसनामा जस्ता सामान्य प्रकृतिका घरायसी लिखत मस्यौदा गर्न पनि लेखापढी व्यवसायीले पाउँछन् ।




Post a Comment

 
Top