0
गोल्डेन न्यूज संवाददाता
बंगुर ब्यवसायी संघ कास्कीले पोखरामा आयोजना गर्न लागेको दोश्रो राष्ट्रिय पोर्क महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । बंगुर ब्यवसायी किसान संगै बंगुरको मासुबाट बन्ने परिकारको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा नै पहिलो पटक आयोजना गर्न लागिएको पोर्क महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । पत्रकार सम्मेलनमा वोल्दै बंगुर ब्यवसायी संघ कास्कीका अध्यक्ष छ्याम बहादुर थापा मगरले बंगुर ब्यवशाय गर्ने किसान र बंगुरको मासुबाट बन्ने परिकारको प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको पोर्क फेस्टिभलको सम्पूर्ण तयारी पुरा भएको बताए ।
आगामी चैत्र ५ देखि ७ गते सम्म पोर्क स्वस्थ सेतो मासु भन्ने मूल नाराका साथ पोखरा रंगशालामा सञ्चालन हुने महोत्सवमा बंगुर ब्यवसायलाई प्रवद्र्धन गर्ने खालका ५० वटा स्टल रहने छन । स्टलमा विशेष गरी बंगुरको मासुबाट बन्ने परिकारहरु लाई प्राथमिकता दिने उद्देश्यका साथ १० वटा रेष्टुरेन्टहरु रहने महोत्सव संयोजक तथा संघका अध्यक्ष थापाले बताए । बंगुर ब्यवसाय र बंगुरको मासुलाई आम जनमानसमा हेर्ने दृष्टिकोण अझैपनि नकारात्मक रहेको र नेपालका रेष्टुरेन्टहरुमा बंगुरको मासुका परिकारलाई समेटन नसकिरहेको अवस्थामा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने थापाको भनाइ रहेको थियो । 
पोर्क महोत्सवमा पशु चिकित्सक (मासु निरीक्षणको प्रमाणपत्र प्राप्त) डाक्टरद्वारा प्रमाणित गरिएको बंगुरको मासुको बिक्री बितरणका साथै बगुरका परिकारमा समेत प्रमाणित गरिएको मासुको प्रयोग गरिने अध्यक्ष थापाले बताए । 
बंगुरका मासुका पारखीहरुलाई पशु चिकित्सक (मासु निरीक्षणको प्रमाणपत्र प्राप्त) डाक्टरद्वारा प्रमाणित गरिएको स्वस्थ मासुको प्रयोग गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि महोत्सवमा पशु चिकित्सकद्धारा प्रमाणित गरिएको बंगुरको मासुबाट बन्ने परिकारलाई मात्र स्थान दिएको उनको भनाइ रहेको थियो । 
महोत्सवमा बंगुरको मासुबाट बन्ने विभिन्न परिकारहरु बंगुरको मःमः, चाउमिन, सेकुवा, ससेज, अचार विभिन्न विदेशी परिकारहरु चाइनिज र कोरियन परिकारहरुको स्वाद महोत्सवमा आउने दर्शकहरुले लिन पाउनेछन भने महोत्सवको प्रवेश टिकटमा दर्शकहरुले टिकट बरावरको कुनैपनि पोर्क आइटमको स्वाद लिन पाउने छन् ।
महोत्सवमा विशेष गरी बंगुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तीय संस्थाको बारे जानकारी तथा प्राविधिक परामर्श, बंगुरको बधशाला तथा प्रशोधनका वारेमा जानकारीमुलक स्टलहरु, पोर्कका विभिन्न परिकारका स्टलहरु, सेफद्वारा परिकारहरुको तयारीको प्रदर्शन, बंगुर उत्पादनदेखि बजारी करणमा प्रयोग हुने विभिन्न औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको मासुको प्रशोधन तथा परिकार बनाउने सम्बन्धी तालिम, बंगुरपालक किसानहरु बीच अन्तरक्रिया, मासु उत्पादनमा प्रयोग हुने औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको दाना सम्बन्धी जानकारी, बंगुरपालनमा देखिएका संभावना तथा चुनौतीहरुको बारेमा परामर्श तथा छलफल, विभिन्न जातजातिका झाँकी तथा ¥याली प्रतियोगिता विभिन्न जातजातिका नृत्य तथा झाकीहरु, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुद्वारा लोक तथा दोहोरी गीत, नृत्य, संगीत, कन्सर्ट तथा विभिन्न प्रतियोगिताहरु हुनेछन् । त्यस बाहेक महोत्सवले बंगुरपालन क्षेत्र तथा बंगुरजन्य व्यवसायको प्रवद्र्धन र विकास गर्ने, लिन पोर्कको बजारीकरणलाई प्रोत्साहन गर्ने, उपभोक्तालाई स्वच्छ तथा स्वस्थ्य वंगुरको मासु उपलब्ध गराउनको लागि बंगुर काट्न अघि र काटिसकेपछि पशु चिकित्सकद्वारा निरीक्षण गर्ने परिपाटीको विकास गर्ने, बंगुर उत्पादनका लागि आहाराको विकास, गोठ सुधार तथा यान्त्रिकीकरणका लागि प्रोत्साहन गर्न, पोर्कका विभिन्न परिकारहरु रेष्टुरेन्ट तथा होटेलहरुमा समावेश गर्न प्रोत्साहन गर्नका लागि महोत्सवले उल्लेख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ । महोत्सवको उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले उद्घाटन गर्नेछन् ।

Post a Comment

 
Top