0
गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी औपचारिक भ्रमणका क्रममा आइतबार चीनको राजधानी बेइजिङ पुगेका छन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री लि खछयाङको निमन्त्रणामा आजदेखि यही चैत १४ गतेसम्म हुने भ्रमणका क्रममा त्यहाँ पुगेका हुन् । प्रधानमन्त्री ओलीलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विदेश मन्त्रालयका उपमन्त्री लीउ जेन मिन, चीनका लागि नेपाली राजदूत डा. महेशकुमार मास्के, परराष्ट्र मन्त्रालय तथा दूतावासका उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली काठमाडौँबाट बिहान ११ बजे चीनका लागि प्रस्थान गरी पाँच घण्टाको उडानपछि स्थानीय समयअनुसार साँझ ६ः२० मिनेटमा बेइजिङ आइपुगेका हुन् । प्रधानमन्त्री ओलीलगायतको नेपाली भ्रमण टोली हिमालय एअरलाइन्सको विमानबाट बेइजिङ आइपुगेको हो । प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, वाणिज्य मन्त्री दीपक बोहरा, प्र्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, सांसद, व्यापारिक समुदाय, सञ्चारकर्मी लगायत पनि बेइजिङ इपुगेका छन् । प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङस्थित डिआओयुताइ स्टेट गेष्ट हाउसमा रहनेछन् । प्रधानमन्त्री ओलीले सोमबार चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटघाट गर्ने कार्यक्रम छ । ओलीको सोमबार नै ग्रेट हल अफ दि पिपुलमा नेपाल–चीन वार्ता हुने र केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।





Post a Comment

 
Top