0
गोल्डेन न्यूज संवाददाता
एमाले पार्टी विभागमा रहने व्यक्तिहरूको विषयलाई लिएर अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेता माधवकुमार नेपालबीच चर्काचर्की परेको छ । विभागमा रहने व्यक्तिको नाम टुंगो लगाउन बुधबार बिहान बसेको स्थायी समिति बैठकमा दुई नेताबीच विवाद भएको हो । नेता नेपालले एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै ओलीको कार्यशैलीको तीव्र विरोध गरे । संस्थागत गुटबन्दी गर्न खोजेको आरोप लगाउँदै उनले जबर्जस्ती अघि बढ्न खोजे आफ्ना धारणा लिएर देशव्यापी रूपमा कार्यकर्तासमक्ष जाने चेतावनी दिए । महाधिवेशन सकिएको डेढ वर्षसम्म विभाग गठन हुन नसकेपछि उक्त एजेन्डा टुंगो लगाउन मंगलबार दिउँसो स्थायी समिति बैठक बोलाइएको थियो । १८ विभागमा रहने
व्यक्तिका नाम महासचिव ईश्वर पोखरेलले पेस गरेका थिए । पार्टीको सचिवालय बैठकमा छलफल नगरी महासचिवले नाम पेस गरेको भन्दै नेपाल समूहले आपत्ति जनाएपछि स्थायी समिति बैठक बुधबार बिहानसम्मका लागि स्थगन गरी मंगलबार साँझ नै बालुवाटारमा सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकमा संगठन विभागमा रहनेहरूको नाममाथि छलफल भएको थियो । संगठन विभाग महत्वपूर्ण हुने भएकाले त्यहाँ केन्द्रीय सदस्य तहका नेता मात्र राख्ने चलन छ । स्रोतका अनुसार महासचिव पोखरेलले संगठन विभागका लागि प्रस्तुत गरेका १६ मध्ये पशुपति चौंलागाईं, श्रीमाया थकाली र कल्याणी खडका मात्र नेपाल पक्षका हुन् । अन्य १३ ओली पक्षधर परेपछि नेपाल समूहले आपत्ति जनाएको हो । सचिवालय बैठकमा ओली पक्षले नेपाल समूह निकट अन्य ५ जना थप्ने सहमति जनाएको छ । नेपाल पक्षले ती ५ जनामा आफ्नो समूहबाट सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, विजय पौडेल, नागेन्द्र चौधरीलगायत नेता राख्नुपर्ने प्रस्ताव गरेको थियो । तर ओली पक्षले उनीहरूको सट्टा नेपाल समूहकै शत्रुघन महतो, वैजनाथ चौधरी, गरिमा शाह, वेदुराम भुुसाल लगायत नेतालाई राख्ने प्रस्ताव गरेपछि नेपाल पक्षका नेताहरू रुष्ट भएका थिए ।  बुधबार बिहानको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सचिवालयबाट पेस भएका नामहरू नै पारित हुने भन्दै निर्णय गर्न खोजेका थिए । त्यसपछि नेता नेपालले ओलीले जबर्जस्ती गर्न खोजेको भन्दै विरोध जनाए । ‘जबर्जस्ती निर्णय गर्ने हो भने म नोट अफ डिसेन्ट लेख्छु र मेरो कुरा लिएर कार्यकर्तासमक्ष जान्छु,’ बैठकमा नेता नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने,–‘कार्यकर्तामा जान कसले रोक्दो रहेछ अनि हेरौंला । पार्टी अध्यक्ष भएदेखि अहिलेसम्म अध्यक्षका कामकारबाही गुटबन्दी गर्ने खालका भएको भन्दै नेपाल कडकिएका थिए । यसैसाता मदन भण्डारी फाउन्डेसनको ब्यानरमा ओली समूहले राजधानीमा आफू निकट कार्यकर्ता भेला गरेको विषयलाई लिएर असन्तुष्ट नेपालले बैठकमा उक्त विषयलाई पनि प्रवेश गराए । ओली समूहको भेलाले पार्टी्भित्र बहुमत रहेकाले त्यसको बलमा विभाग गठनलगायत काम अघि बढाउनुपर्ने निष्कर्ष निकालेको थियो । त्यही भेलामा सहभागी हुन आएका आफू निकट नेता र कार्यकर्ताले प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट फर्केलगत्तै गत सोमबार बालुवाटारमा भोज गरेका थिए । नेपालले बैठकमै यो विषयलाई समेत उठाए । ‘पार्टीको केन्द्रमा बसेर गुटबन्दी गर्ने ? सरकारी स्रोत दुरुपयोग गर्दै गुटबन्दीका लागि भोजभतेर गर्दै हिँड्ने ?’ नेता नेपालको प्रश्न थियो,–‘जुन दिन हावाहुरीले भूकम्पपीडित लगायतका जनताको बिचल्ली भइरहेको थियो, तपाईंचाहिँ भोज गर्दै हुनुहुन्थ्यो ।’ नेता नेपालले नाकाबन्दी सामना गर्नुपर्ने, संविधान कार्यान्वयन गर्नुपर्नेलगायत महत्त्वपूर्ण काम भएकाले त्यसका लागि पार्टी एकजुट हुनुपर्ने आवश्यकता बोध गरेर आफूहरू चुप लागेर बसेको बताए । तर कुनै पनि सरकारी निर्णयहरूबारे पार्टीमा छलफल नगर्ने, नियुक्तिलगायत विषयहरूमा एकपक्षीय ढंगले अघि बढ्ने र संस्थागत ढंगले पार्टी चलाउन नखोज्ने प्रवृत्ति हाबी भएको भन्दै नेपालले आपत्ति जनाए । नेपालले असन्तुष्टि पोखेपछि बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले समेत सबैलाई मिलाएर जानुपर्ने बताएका थिए । पार्टीलाई एकजुट बनाएर लैजाँदा मात्र सरकार सञ्चालन लगायतमा सहज हुने भएकाले त्यसमा ख्याल गरेर अघि बढ्नुपर्ने उनीहरूको समेत धारणा आएपछि स्थायी समिति बैठक अनिश्चित कालका लागि स्थगन गरिएको छ । एमालेले आउँदो २३ र २४ गतेका लागि पोलिटब्युरो र लगत्तै केन्द्रीय समिति बैठक बोलाएको छ । ती बैठकअगावै विभाग गठनको विषय टुंग्याउने तयारी छ । पार्टीभित्र ओली र नेपाल पक्षको विवादकै कारण डेढ वर्षसम्म विभागले पूर्णता नपाएको हो ।




Post a Comment

 
Top