0
सन्तोष गौतम
पहाडको टाकुरामा समथर भूगोल । उत्तर र पूर्वतर्फ लहरै हिमाल । बिहानीमा चम्किलो प्रकाश छर्दै उदाउने सूर्य । वसन्त ऋतुमा ढकमक्क फुल्ने लालीगुराँसको पुष्ठभूमिको तल ग्रामीण बस्ती । मगर बाहुल्य गाउँ, परम्परागत कला र संस्कृति, आत्मीय आतिथ्यता, जैविक विविधतामा मात्रै सीमित छैन म्याग्दीको मध्य भागमा पर्ने टोड्के । नेपालकै एक प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रमको शाखाको रूपमा पनि परिचित टोड्केको एकान्त वातावरण अर्को विशेषता हो । ओझेलमा परेको टोड्केको सम्भावनाको घुम्टो विस्तारै खुल्दै जाने छ । पर्यटकीय, प्राकृतिक, धार्मिक र संस्कृतिले भरिपूर्ण भएपनि पूर्वाधार विकास र प्रचारप्रसारको कमीले ओझेलमा परेको टोड्केलाई पर्यटकीयस्थलका रूपमा विकास गराउन सरोकारवालाको सक्रियता बढेको छ । समुद्री सहतदेखि दुई हजार ३८० मिटर उचाइमा कुहुँ, झिँ र पात्लेखेत गाविसको सीमा क्षेत्रमा अवस्थित टोड्केमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पर्यटन महोत्सवमार्फत प्रचारप्रसार र पूर्वाधार निर्माणमा स्थानीय बासिन्दा जुटेका छन् । 
विसं २०६५ मा नेपालमै पहिलोपटक गुराँस महोत्सव आयोजना गरेर टोड्केलाई जनमानसमा परिचित बनाउन सफल रही विसं २०६८ देखि संस्थागत रूपमा टोड्के क्षेत्र विकास कोषले पूर्वाधार विकास र प्रचारप्रसारको काम गर्दै आएको छ । जिविसको सहयोगमा टोड्केमा दुई कोठे कार्यालय भवन बनाएको संस्थाले पर्यटन कार्यालय पोखराको सहयोगमा बनभोज स्थल र टहरा निर्माण गरेको छ । पूर्णगाउँ, वाखेत र झिँ हुँदै कच्ची सडक पुगेको टोड्केमा खानेपानी र इन्टरनेट सेवा उपलब्ध छ । नेपाल सरकारले २०७२ असोज १० गते ३६आँै अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा टोड्केलाई पर्यटकीयस्थल तथा नजिकका पूर्णगाउँ, झिँ र वाखेतलाई होमस्टे गाउँ घोषणा भएको वर्ष मै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन फागुन २५–२९ सम्म दोस्रो टोड्के महोत्सव आयोजना गरिएको थियो । भौगोलिक विकटता र अभावको सामना गर्दै आयोजना भएको महोत्सव टोड्केको प्रचारप्रसारका साथै आन्तरिक पर्यटक भित्र्याउन र सम्भावनाको उजागर गराउन सफल भएको महोत्सव मूल आयोजक समितिका संयोजकसमेत रहेका कोषका अध्यक्ष मोहन खत्रीले बताए । गुर्जा, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्र«े लगायत १५ वटा हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न सकिने टोड्केबाट म्याग्दीका ३८ भन्दा धेरै बस्ती देखिन्छ । 
वसन्त ऋतुमा पाखाभरि राताम्मे भएर ढकमक्क फुल्ने लालीगुराँस टोड्केको अर्को विशेषता हो । टोड्के क्षेत्रमा पाइने जडीबुटी, वन पैदावर र वन्यजन्तु तथा पक्षी थप आकर्षण हुन् । चिसो हावापानीमा रासायनिक मल र विषादीको प्रयोगबिनै टोड्के क्षेत्रमा उत्पादन हुने मूला, धजरा र आलुको स्वादले प्रसिद्धी कमाएको छ । 
प्यूठानको स्वर्गद्वारी आश्रमको शाखा मानिने टोड्केमा स्वर्गद्वारीबाट आएका ऋषिले तपस्या गरेकाले टोड्केको धार्मिक महत्व पनि छ । स्वर्गद्वारी महाप्रभुले प्रयोग गरेको खराउ (काठको चप्पल) अझै रहेकाले महाप्रभु टोड्केमा आएको पुष्टि हुन्छ । 
झिँ र वाखेतमा बसोबास गर्ने मगर समुदायको परम्परागत पुख्यौली नृत्य, सोरठी भाका तथा कुहुँ, पूर्णगाउँ र डडुवाका ब्राह्मण, क्षेत्री समुदायको लोकभजन, संस्कार, संस्कृति, जीवनशैलीले पर्यटकलाई आकर्षण गर्नसक्ने सम्भावना रहेको महेन्द्र मावि झिँका प्रअ यामबहादुर शेरपुञ्जाले बताए । स्थानीय बासिन्दा परम्परा, संस्कार, संस्कृति, वेशभूषाको संरक्षणमा पनि उत्तिकै सक्रिय भएर लागेका छन् ।   बेनी–पछै–ढोलथान–जगन्नाथ हुँदै मालिका मन्दिर जाने धार्मिक पदमार्गअन्तर्गत टोड्के केन्द्र बनाएर मालिका र कुइनेमङ्गले तर्फबाट धौलागिरि आधार शिविर जाने पदमार्गको पनि पहिचान भएको छ । जिविसले तयार पारेको म्याग्दीको पर्यटन गुरुयोजनाले पनि टोड्केलाई प्राथमिकता दिएको छ ।  टोड्केको पर्यटन विकासमा जति सम्भावना छ त्यतिनै चुनौतीका पनि छन् । पूर्वाधारको विकास, प्रचारप्रसारको कमी टोड्केको प्रमुख चुनौती हुन् । कच्ची सडक पुगे पनि सुरक्षित र भरपर्दो नहुँदा टोड्केमा अपेक्षाकृत पर्यटक आगमन हुन नसकेको टोड्के क्षेत्र विकास कोषका सदस्य पुस्कर विकले बताए । 
तीन घरपरिवारको बसोबास रहेको टोड्केमा गाँस, बासको पनि व्यवस्थित सुविधा छैन । सामान्य होटल सरहको कम क्षमताको घरमा बास बस्नुपर्ने अवस्था छ । पूर्णगाउँ, झिँ र वाखेतमा होमस्टे सेवा सुरु भएपनि पर्यटन कार्यालयमा दर्ता छैन । इन्टरनेटको नियमित सुविधा छैन् । टोड्केमा सामुदायिक लज स्थापना र होमस्टेलाई वैधानिकता दिनुपर्ने सदस्य विकले बताए । टोड्के पुग्ने पदमार्ग र सडकलाई व्यवस्थित, नियमित, सुरक्षित र भरपर्दो बनाउनुपर्ने देखिन्छ । जापानी नागरिकले टोड्केबाट दृश्य अवलोकनका लागि उपलब्ध गराएको अत्याधुनिक दुरबिनको नियमित प्रयोग हुन सकेको छैन् । नजिकै प्रहरी चौकी नभएकोले टोड्केमा सुरक्षाको अभाव रहेको छ । गुराँसको जङ्गल संरक्षण गर्न र स्थानीय बासिन्दालाई होटल, होमस्टे तथा पर्यटकलाई स्वागत सत्कार गर्ने विषयमा तालिम दिन आवश्यक छ । म्याग्दीका सांसद नवराज शर्मा जिल्ला पर्यटन गुरुयोजनालाई समयसापेक्ष रूपमा परिमार्जन गरी टोड्केलगायतका सम्भाव्य पर्यटकीयस्थलमा पूर्वाधार विकासमा लगानी बढाउनुपर्ने, धेरै योजनामा थोरै बजेटले पूर्वाधार विकास नहुने र प्राथमिकतामा परेका निश्चित योजना सम्पन्न गरेपछि मात्र अर्को योजना सुरु गनुपर्ने बताउछन् । म्याग्दीको पर्यटकीय सम्भावनाको बारेमा अध्ययन गरेका पर्यटनविद् डा प्रेम शर्माको भनाइमा टोड्केको पर्यटन विकासका लागि अहिलेसम्म प्रवद्र्धनात्मक गतिविधि भए पनि पूर्वाधार विकासमा ध्यान पुगेको छैन । प्रचार गरेर मात्र नहुने र पर्यटक आकर्षण गर्न समुदाय सक्षम र सुविधा दिन तयार हुनुपर्ने शर्माले बताउनुहुन्छ । व्यवस्थित पदमार्ग, सुरक्षित सडक र खानेबस्ने सुविधाको व्यवस्था नै टोड्केको प्रवद्र्धनका लागि ध्यान दिनुपर्ने खास पक्ष हुन् । रासस







Post a Comment

 
Top