‘
हाम्रो लागि पाइलट र को–पाइलट भगवान हुनुहुन्छ, उहाँहरू जिउँदै हुनुहुन्छ’, मेघराज गिरीलाई भेटेपछि उनको मुखबाट निस्केको पहिलो वाक्य थियो यो । त्यसो भनिसक्दा उनको आँखामा आँसु भरिएको थियो, बोली अड्किएको थियो । गत शुक्रबार नेपालगञ्ज बाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको ९एनए जेबी जहाज दुर्घटना हुँदा पाइलट र को–पाइलटको ज्यान गयो ।
तर नौ जना यात्रु बाँचे । कालिकोट, चिलखायामा भएको दुर्घटनामा घाइतेमध्ये एक हुन् गिरी । उनीबाहेक सात घाइते जुम्लाका हुन् र एक जना नुवाकोटका । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चन नगरपालिका–६ का गिरीको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीका साथ श्रीमती जगदम्बा र १६ महिने छोरा प्रनिल पनि घाइते छन् र त्यही उपचार भइरहेको छ । जगदम्बाको टाउकोमा र खुट्टामा चोट छ भने प्रनिललाई गालामा र हातमा चोट लागेको छ ।
मेघराजको बोली सुन्दा त्यहाँ उपचार गराइरहेका अरू बिरामीका आँखा पनि रसाएका थिए । घाँटीमा असर परेकाले मेघराजले ठूलो स्वरले बोल्न सकेनन् । तर उनी बोल्न थालेपछि सबै बिरामी शान्त भएका थिए । उनले त्यो कहालीलाग्दो दिनलाई यसरी सम्झिए ः
प्लेन तीन पटक खट्याक–खट्याक गर्यो । पङ्खाको गति कम हुन थाल्यो । त्यसपछि पाइलटले इन्जिन खराब भयो भनेर सूचना दिए । उनले अब ठाउँ हेरेर ‘सेफ ल्यान्ड’ गर्ने जानकारी दिए ।
सूचना सुनेर सबै यात्रु डराए । सिटबेल्ट फुकालेर हाम फाल्न आँटे । म पनि डराएँ र छोरालाई काखी च्यापेँ । सिटबेल्ट फुकालेर हाम फाल्ने सोच बनाएँ । अरू कुरा त मनले सोच्नै सकेन । तर को–पाइलटले भने, ‘सिटबेल्ट नफुकाल्नुस् । बरु मज्जाले कस्नुस् । हामी सेफ ल्यान्ड गर्न खोज्दै छौं ।’ उनको स्वरमा भरोसा मिसिएको थियो । त्यसपछि मन अलि ढुक्क भयो ।
पाइलट ‘सेफ ल्याण्ड’का लागि ठाउँ खोजिरहेका थिए । तर ठाउँ नभेटिँदै प्लेन यताउता ढल्किन थाल्यो । पाइलटले खेतमा प्लेन ल्याण्ड गराए । तर उनले सोचेको ठाउँमा प्लेन ल्याण्ड हुन पाएन सायद । काठको मुढा हुँदै ढिस्कोमा गएर ठोक्कियो । ठोक्किनासाथ म उठें र अगाडि हेरें । पाइलट र को–पाइलट कच्याक–कुचुक्क भएजस्तो दखियो । मभन्दा अगाडिका साथीहरूको हालत पनि उस्तै खराब थियो । हत्तपत्त म बच्चा लिएर ढोकाबाट हाम फाले । म निस्कनासाथ सोनामी भट्टचन पनि बाहिर आइन् । मेरो होस नै गुम् भएजस्तो भयो । अरू मान्छेतिर ध्यान नै गएन । दौडँदै अलि टाढा गएर बसेँ । एकैछिनमा स्थानीयहरू आइपुगे । अरू मान्छे पनि बाहिर निकाल्न पर्यो भन्दै कराएँ । तर त्यहाँ जान कोही पनि मानेनन् । पछि म आफैं गएँ । म गएपछि स्थानीयहरू पनि आए । श्रीमतीले बाबा भन्दै बोलाइन् । स्थानीयको सहयोगमा सबै साथीहरुलाई बाहिर निकाल्यौं । साढे १ घण्टासम्म आफैं खटिएँ ।
त्यतिबेलासम्म क्याप्टेनको सास गइसकेको थियो, तर को–पाइलट जिउँदै हुनुहुन्थ्यो । को–पाइलटलसहित हामी सबैलाई नजिकैको स्वास्थ्य चौकीमा लगेर मल्हमपट्टी गराइयो । तर डेढ घण्टापछि को–पाइलटले पनि संसार छोड्नुभयो । उहाँको मृत्युले त्यहाँ कोलाहल फैलियो ।
गम्भीर अवस्थामा रहेका लक्ष्मण खड्का र लक्ष्मी सुनुवारलाई उपचारको लागि भनेर नयाँ दिल्ली लखनउ लगियो । त्यसपछि मैले आफन्तलाई फोन गरेर आफूहरू बाँचेको जानकारी गराएँ । पछि त धेरैको फोन आउन थाल्यो । दुर्घटना भएको चार घण्टापछि मात्र रेस्क्यु टोली घटनास्थलमा आइपुगेको थियो । यदि समयमा नै रेस्क्यु टोली पुगेको भए को–पाइलट चाहिँ बाँच्नुहुन्थ्यो ।
मलाई को–पाइलट सन्तोस रानाको दिदीले पनि फोन गर्नुभएको थियो । मेरो भाइलाई कस्तो छ भनेर सोध्नुभयो । म भावविह्वल भएँ । ‘उहाँ हाम्रो भगवान हुनुहुन्छ, कहिल्यै मर्नुहुन्न’ भन्दै फोन काटिदिएँ । पछि फेरि फोन आयो, त्यही नै भनिदिएँ ।
क्याप्टेन दिनेशको बुबाले पनि फोन गर्नुभएको थियो । त्यही नै भनें । दिनेशको बुबा अस्पताल आउँदा पनि मैले त्यसै भनिदिएँ । उनी मर्निङवाकपछि सधैं छोरासँग बसेर कफी पिउँदा रहेछन् । तर, शनिबार बिहान ‘आज छोरो आएन’ भन्दै रोएका थिए रे ।
दिनेशका बुबा नेपालगञ्जमा बस्नुहुन्छ । म अब पाइलट र को–पाइलटका दुवै जनाको परिवारलाई भेट्छु । सम्बन्ध गाँस्छु । अनिमात्र उहाँहरूको आत्माले शान्ति पाउनेछ । हामी बाँचेको सार हुन्छ ।
Post a Comment