0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा मेट्रो सिटीको आयोजनामा स्याङजा जिल्ला शिर्शेकोट गाबिस स्थित शिर्शेकोटमा  निःशुल्क आँखा तथा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । डिष्ट्रिक्ट मिडिया कमिटी चेयरपर्सन सुदीपराज ढुंगाना र क्लबका अध्यक्ष धर्ममान सिह भण्डारीले हिमालय आँखा अस्पताल पोखराका प्राविधिक रुप सिह बोहोरा र मानसिक रोग बिशेषज्ञ डा. प्रकाश थापालाई पिस्केप्सन कार्ड हस्तान्तरण गरि निःशुल्क आँखा तथा बृहत स्वास्य शिविर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा वोल्दै डिष्ट्रिक्ट मिडिया कमिटी चेयरपर्सन ढुंगानाले नयाँ क्लव भएर पनि लायन्स क्लव अफ पोखरा मेट्रो सिटीले भौगोलिक विकटता रहेको विकट बस्तीसम्म पुगेर आँखाको समस्याबाट ग्रसित सर्व साधारण जनताहरुलाई स्तरीय बिशेषज्ञ सेवा प्रदान गर्न खेलेको भूमिकाको सह्राना गरे । कार्यक्रममा लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष टंकराज अधिकारीले विशुद्ध मानवीय सेवा गर्ने उद्देश्यले विश्वका करिब २ सय १० मुलुकमा आफ्नो संगठन विस्तार गरि शिक्षा, स्वास्थ्य, वातावरण र मानवीय सेवाका कार्य गरेको बताए । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष दानबहादुर गुरुङ र विद्यालयका प्रधानाध्यापक गौमती गुरुङले लायन्स क्लव अफ पोखरा मेट्रो सिटीले भौगोलिक बिकटता रहेको बिकट ठाउँमा आएर समुदायका जनताहरुलाई निःशुल्क स्वास्थ्य शिबिर सञ्चालनका साथै औषधि वितरण गरि आर्थिक भारबाट मुक्ति दिलाएको बताए । 
आँखा तथा स्वास्थ्य शिविरमा ४ सय ७५ जना बिरामीहरुले आँखा तथा स्वास्थ्य जाँच गराएका थिए भने १२ जनामा मोतियाबिन्दु भेटिएकोमा अनम्याचुयल भएकोमा अप्रेशनका लागि लानु नपरेको उपचारमा संलग्न हिमालय आँखा अस्पताल प्राविधिक रुप सि बोहोराले जानकारी दिए । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग र नवज्योति जनसेवा युवा क्लबको स्थानीय ब्यवस्थापनमा संचालित  शिबिरको संयोजन स्थानीय समाजसेवी ध्वज कुमार गुरुङले गरेका थिए भने बिरामीहरुका लागि ४१ वटा चस्माका साथै आबश्यक पर्ने सम्पूर्ण औषधि समेत क्लवले निःशुल्क प्रदान गरेका थिए । 
आँखा शिविरका लागि प्राविधिक रुप सिं वोहोराको नेतृत्वमा कमल शर्मा, विनय बस्नेत र दिपक मल्ल साथै स्वास्थ्य शिविरका लागि डा. प्रकाश थापा, डा. धर्मदेव ठकाल र डा. आशिष भुर्तेल रहेका थिए ।
क्लवका अध्यक्ष धर्ममान सिं भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष कमल पराजुली, प्रथम उपाध्यक्ष आनन्द पौडेल सह–सचिव सचिव सुशिल कुमार नेपाली लगायतले आ–आफ्ना भनाई राखेका थिए ।

Post a Comment

 
Top