नेपाली वाङ्मयको क्षेत्रमा जब नयाँ कृतिहरू प्रकाशन हुन्छन्। पङ्क्तिकारलाई त्यसले खुशी निम्त्याइ दिएको ठानेको हुन्छ। साहित्यिक गतिविधिका समाचारहरू प्रसारण र प्रकाशन हुन्छन् ती समय सन्दर्भहरूले ज्यादै हर्षवोध भएको महसूस हुन्छ। हर्षबोध गर्ने अवसर यो पटक पछिल्लो पुस्ताका र वाङ्मयको क्षेत्रमा पाइला टेक्दै गरेका नवोदित गजलकार युवराज सुवेदीले प्रदान गरेका छन्। जुन दिन उनको बादल मडारिएको देशको स्याङ्जामा लोकार्पण भएको थियो। उक्त खबर भोलिपल्टको कान्तिपूर दैनिकबाट जानकारी पाएँ। सोही समय मलाई प्रविधिले धोका दिएको रहेछ। उक्त कुरा पछिल्लो समय थाहा पाए। कार्यक्रमको बारेमा जानकारी पाउन नसकेता पनि समाचारले खुशी दैलोमा निम्त्याइदिएको थियो र आफूलाई भाग्यमानी ठानेको थिए। समाचार पढेपछि खुशी लाग्यो। बादल मडाएिको देश मलाई केही समयपछि उपलब्ध भयो। लेख्न थाले त्यही भित्र मडारिएर। जम्मा ८८ पृष्ठमा फैलिएको कृतिमा प्रयोग गरिएको कागज र कभरको डिजाइनले त्यसको गुणस्तरलाई गह्रुगो बनाएको छ। आकारको हिसाबले सानो भएपनि उठान गरिएका विषयवस्तु साना छैनन् भन्ने प्रमाण कृति अध्ययन गरेपछि आम पाठकहरूले मूल्याङ्कन गर्ने र गरेका छन्। हिजो गरीब, दिनदुःखी र सर्वहारा जनताको मुक्तिका लागि विद्रोहको राँको बालेर हिडेका। अमन, चयन, सुख, शान्ति र सम्वृद्धि पाँच दाजुभाइहरू आज एकै ठाउँमा भेला हुँदा पनि देशमा मडारिएको बादल हट्न नसकेका कारण लेखकले आफ्नो पहिलो कृतिमै निरासा ओकले। कसरी देशको निकास होला भनेर आफूलाई देशभक्त नागरिकको रूपमा उठाएका छन्। उनको गजल सङ्ग्रह भित्रका गजलहरू आयाम, आयतन, संरचना र गुणस्तरका हिसाबले कमजोर भए पनि उनको शीर्षक चयन दमदार छ। सो कारणले उनी र उनको नेपाली साहित्यप्रतिको झुकावलाई आम पाठकहरूले आशालाग्दा गजलकारका रूपमा सकरात्मक सोचले हेर्ने छन्। यो पङ्क्तिकार उनको पुस्तक अध्ययन गरेपछि जागेको विश्वास हो।
चार शेरदेखि बढीमा सात शेरसम्मका ६४ वटा गजलहरू सङ्ग्रहित रहेको छ कृति। उनको कृतिले सिंगो देश बोकेर हिडेको छ। जसलाई छोटो बसाइंँमै गजल सङ्ग्रह भित्रको देश अध्ययन गरेर सकेता पनि त्यहा उठान र बैठान गरिएका विषयवस्तुहरूको गहन अध्ययन र विश्लेषण गर्नका लागि त्यती सहज छैन। उनले त्यो चमत्कार गरेर देखाइदिएका छन् आफ्नो पहिलो सङ्ग्रहमै। हेरौं उनको गजलको एक शेरः
मस्ती छ हार्नेको युद्धको के अर्थ ?
हत्या र हिंसामा बुद्धको के अर्थ ? (पृष्ठ ः९)
साच्चै मस्ती त युद्धमा जित्नेहरूको हुनुपर्ने हो। यहाँ त हार्नेहरूको मस्ती छ। हिजो अहिंसाका पुजारी भनेका गौतम बुद्धको पनि आज अस्तित्व हराएको छ। चारैतिर हत्या र हिंसा मात्र भएपछि बुद्धको पनि के अर्थ भनेर उनलाई उदेक लागेको छ। उनी हार्नेहरूले मस्ती गर्ने चलन देखेर बेचैन भएका छन्। कति दिन यो देशमा यस्तै गरेर हिंसा, हत्या र अराजकता रहने होला भनेर चिन्ता गर्छन्। देशको चिन्ताले मात्र चिन्तित बनेका छैनन्। मायाको विरहले पनि चिन्तित बनेका छन्। लेखकको जिन्दगीमा बल्ल जवानी चढ्दैछ। मन तन्नेरी भएर मुना पलाएको छ। उक्त कुरा उनका गजल भित्रका केही शेरहरूले प्रमाणित गरेका छन्। जहाँ उनी आफ्नो मनमा उर्लेर आएको प्रेमलाई बाढीले बढारिदिएपछि आफूले चुनेको र मनले छामेको मायामा पनि बादल मडारिएको देख्छन्। वितृष्णा भाव जागेर आउछ। मनमा साहै्र विरह लाग्छ र त्यही भाव व्यक्त गर्दै लेख्छन्ः
तिमीप्रति यो मन मेरो म¥यो भन्दिनु
सजाएको एउटा फूल झ¥यो भन्दिनु (पृष्ठ ः १५)
एकातर्फ देशमा हिंसा, हत्या र आतङ्क छदै छ। अर्कोतर्फ माया गरेका र आफूले चुनेका मान्छेले पनि मनको भावनासँग भावना मिलाउन नसकेपछि गजलकार त्यसै विरक्त भएर हिडेका छन्। देशको हालत सम्झयो भने पनि चोट पर्छ। जवानी चढेको बेला त्यो देशको पीडालाई मायालु रङ्ग घोलेर बिर्सु भनेपछि सजाएको फूल भुईंमा झरेपछि मनमा चोट पर्नुपर्छ। अब के गर्ने होला भनेर सोच मग्न हुँदा(हुँदै अगाडिको सुन्दर भविष्यको कल्पना गरेर अगाडि बढ्छन्। जब उनी आफू हुर्केको, पढेको र बढेको गाउँबस्तीमा पुग्छन्। आम मानिसहरूको पुरातन्वादी सोचले पनि चिन्तित बन्छन्। त्यही गाउँ बस्तीको चिन्तालाई व्यक्त गर्न लागि उनी गजल लेख्छन्। गजलकार बन्छन्। अक्षरहरूमा आफूलाई पोख्छन्। दुखेको मनमा मलम लगाउछन् यसरीः
कृषि पेशा गछौं किसानको चेला हजुर
वास्तविकता बुझेपछि नगर्नु है हेला हजुर (पृष्ठ ः २५)
देशमा महङ्गी, बेरोजगारी बढेको बढ्यै छ। शैक्षिक गुणस्तरमा प्रश्न चिन्ह खडा भएकाले वर्तमानका विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरूले बेरोजगारिका प्रमाणपत्रहरू मात्र उत्पादन गरेर छोडेका छन्। तिनीहरू कही पनि बिक्दैनन्। कसैले पनि पत्याउँदैनन्। अब आम्दानीका कुनै स्रोतहरू छैनन्। बिहान बेलुकाको दाल र चामलका लागि भए पनि अब कृषितर्फ लाग्नु बाहेक अर्को विकल्प भएन। कसैले पनि वास्तविकता बुझेपछि केही नभनिदेउ। हेला नगरिदेउ भनेर विनय गर्छन। यसबाट प्रमाणित हुन्छ। जहाँ देश मात्र हैन उनी त्यही आँफू बाचेको समाज गाउँमै पनि बादल मडारिएको छ भन्ने कुरा।
यस्ता सबल पक्ष, सन्दर्भ र प्रसङ्गहरू उनका कृतिमा बग्रेल्ती रहेता पनि केही कमजोर पक्षहरू भेटिन्छन्। कृति अध्ययन गर्दै जाँदा उनमा देखिएको समस्या भनेको काफियाको पुनरावृती र जर्बजस्ती मिलान हो। यी रोग पछिल्लो समय यती डर लाग्दा भएका छन् कसैले पनि अनुमान गर्न सक्दैन। यसरी मिलाइएका गजलहरू उनको सङ्ग्रहमा एक चौथाइ नै भेटिन्छन्। जुन गजलहरूको संरचनासँग नेपाली भाषा, व्याकरण, काल र क्रियापद जस्ता सन्र्दभहरू उठाउने हो भने ती समस्याहरू प्रसस्तै देखिन्छन्। यहाँ मात्र एक(एक उदाहरणका रूपमा प्रस्तुत गरिएको छ, जस्तोः जस्तो लेख्यो उस्तै जीवन रहेनछ खास यहाँ
परीक्षा रहेछ जीवन एउटा भइएन पास यहाँ (पृष्ठः२९)
यो गजलले नेपाली जनजीब्रोमा रहेको उखानलाई पनि चुनौती थपिदिएको छ। बुढापाकाले भन्ने गरेको लेखेको पाइन्छ देखेको पाइदैन भनेर तर उनको यो गजलले त लेखेको नपाएकोमा चिन्ता व्यक्त गरेको छ। हुन त यो समय २१ औ शताब्दिको हो। अब सबै पुराना कुराहरू नयाँ नेपालमा नयाँ बनेका पनि हुन सक्छन्। यस्तै परीक्षा रहेछ जीवन एउटा भइएन पास यहाँ। एक व्यक्तिको जीवन एउटै न हुन्छ दुई वटा त हुन सक्दैन। पास भएर दुई वटा हुने पनि त होइन। यस्ता केही कमजोर पक्षहरूमा ख्याल भने पु¥याउनु पर्ने देखिन्छ। यस्तै काफियाको पुनरावृतिमा एका दुई समस्याहरू देखिएका छन्। जस्तो एउटा उदाहरण पृष्ठ १०, ३४ र ५४ का गजलका काफियाहरू दोहोरिएका छन्।
हुन त उनको यो पहिलो कृति हो त्यस कारण पनि त्यस्ता समस्याहरू केही देखिनु स्वभाविक नै हो। उनी हतोत्साही बनेर मेरा त बग्रेल्ती कमजोरीहरू रहेछन् भन्नु पर्ने अवस्था पनि छैन। उनी माझिने, पखालिने र सफा भएर नेपाली वाङ्मयको क्षेत्रमा चम्किरहने अवसरहरू धेरै छन्। उनको सम्भावनाको क्षितीज सुनौला अक्षरहरूले सजिने छन् भन्ने आशा पङ्क्तिकारले राखको छ। आगामी दिनमा आउने उनका कृतिमा यो भन्दा परिस्कृत, उत्कृष्ट र नेपाली जनवजीवनको वास्तविकताको सिंगो इतिहास बोकेर आउन सकुन मेरो सतत् सतत् शुभकामना !
Post a Comment