शेरबहादुर देउवाको अगुवाईमा कांग्रेसबाट फुटेको समूहले ८ असार ०५९ मा नयाँ बानेश्वरमा ‘प्रजातान्त्रिक कांग्रेस’ पार्टी घोषणाको तयारी गरिरहेको थियो । ६ गतेदेखि सुरु भएको भेलाको अन्तिम दिन बिहान ९ बजे रामचन्द्र पौडेललाई पार्टी सभापति बनाउने पूर्वयोजना थियो । तोकिएको समय घर्की सक्दा पनि उपस्थित नभएपछि देउवा पक्षका नेताले पौडेलको घरमा फोन गरे । उनी हिँडिसकेको खबर आयो । तर न पौडेल आए, न त उनको फोन आयो । भएछ के भने, बानेश्वर जान हिँडेका पौडेललाई बत्तिसपुतली आइनपुग्दै गिरिजा प्रसाद कोइरालाको फोन आयो । उनले ‘एकपटक मलाई भट्नुन्, कांग्रेसकै सभापति बनाउँछु’ भनेर बोलाएछन् । बानेश्वर हिँडेका पौडेलले कोइराला निवासतर्फ गाडी मोडे । निवासमा उनलाई धेरैबेर कुराइयो । यता, बानेश्वरमा पौडेलले धोका दिएको भन्दै देउवालाई नै सभापति घोषणा गरियो । उता, सभापति पाउने लोभमा पौडेल देउवातिर गएनन् । तर, गिरिजाप्रसादले पनि आश्वासन अनुसार उनलाई सभापति बनाएनन् । तीनै पौडेल अहिले कांग्रेसको १३औं महाधिवेशनमा आउँदा गिरिजाका उत्तराधिकारी सुशील कोइराला र प्रतिस्पर्धी देउवालाई चुनौती दिने तयारी गरिरहेका छन् । तर, पौडेलको दुःख यो छ कि गैरकांग्रेस त कुरै छाडौं, कांग्रेसजनले समेत पनि उनी सभापतिमा चुनाव लड्छन् भनेर पत्याएका छैनन् । लगातार भाषण गर्दा र चन्दा संकलन गर्दा समेत उनको उम्मेदवारीलाई गम्भीरता पूर्वक लिइएको छैन । ‘यी बाहुनले बार्गेनिङ मात्र गरेका हुन्’ भन्नेहरू धेरै छन् । यसको मुख्य कारण हो, पौडेलको विरोधाभासपूर्ण राजनीतिक करिअर । पौडेलले सभापति लड्छु भनेर देशभर भ्रमण गरे, भारत गए र अहिले पनि माहोल बनाउन प्रयासरत छन् । सकेसम्म सुशील कोइरालालाई रोकेर आफू संस्थापन पक्षको उम्मेदवार बन्ने र नभए तेस्रो धारको नेतृत्व गरेर चुनाव लड्ने उनको रणनीति छ । तर, पौडेलले सभापतिमा उठ्छु भन्दा कांग्रेसका नेता ‘खुट्टी देख्दै चाल पाइयो’ भन्ने शैलीमा कुरा गर्छन् । पौडेलले अन्तिम समयमा आएर उम्मेदवारीबाट खुट्टो झिक्छन् भन्ने विश्वास आमकांग्रेसीहरूले लिएका छन् । तीन दशकभन्दा बढी समयदेखि कांग्रेसको केन्द्रीय राजनीतिमा रहेका पौडेलको सभापतिमा दाबेदारी अस्वाभाविक होइन । तर, किन उनको उम्मेदवारीमा सन्देह ? पौडेल अहिले कांग्रेसको १३औं महाधिवेशनमा आउँदा गिरिजाका उत्तराधिकारी सुशील कोइराला र प्रतिस्पर्धि देउवालाई चुनौती दिने तयारी गरिरहेका छन् । पुराना र पार्टीप्रति बफादार नेतामाथि नेता–कार्यकर्ताले यति धेरै अविश्वास गर्नुमा उनको विगतको द्विविधाग्रस्त शैली जिम्मेवार देखिन्छ । ०५२ सालमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईमध्ये को प्रधानमन्त्री बन्ने भन्ने विषयमा विवाद चर्किएका बेला उनले दोहोरो भूमिका खेल्दा देउवाले प्रधानमन्त्री पड्काएका थिए । गिरिजाप्रसादको सरकारमा रहँदा उनले होलेरी काण्डमा आफ्नै पार्टीका प्रधानमन्त्रीलाई असहयोग गर्दै राजीनामा दिए । यस्ता दृष्टान्त थुप्रै छन्, जसले उनीमाथि भरोसा गर्न कांग्रेसको एउटा पंक्ति हिच्किचाउने गर्छ । यसपटक पक्का उम्मेदवार ः यस महाधिवेशनमा पौडेलको उम्मेदवारी बार्गेनिङका लागि मात्र होइन । उनले सभापतिमा सुशील र देउवालाई चुनौती दिन सक्नेछन् । तनहुँको अमरापुरीमा जन्मिएका ७१ वर्षीय पौडेल सभामुखदेखि उपप्रधानमन्त्री र पार्टी उपसभापति सम्म भइसके । तर, कतै पनि प्रमुख कार्यकारी पदमा पुग्ने मौका पाएनन्, न पार्टीमा, न त सरकारमा । प्रधानमन्त्रीको निर्वाचनमा १७ पटकसम्म हारेर छाडे । पार्टीको कमान्ड सम्हाल्ने पनि सायद पौडेलका लागि यो नै अन्तिम मौका हुन सक्छ । उमेरका कारण पनि १४औं महाधिवेशनसम्म कुर्ने समय छैन, उनका लागि ।
छोरादेखि ज्वाइँसम्मको दबाब
यसपटकको उम्मेदवारीमा पौडेललाई पारिवारिक दबाब पनि तीव्र छ । उनका छोरा चिन्तन लामो बेलायत बसाइपछि केही समयअघि स्वेदश फर्किए । कांग्रेसको राजनीतिमा धेरै घुलमिल नभए पनि उनी बुबालाई सभापति लड्न लगातार दबाब दिइरहेका छन् । हालै प्रधानमन्त्री निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार बन्न पनि पौडेललाई छोराले निकै घचघच्याएका थिए । यसपटक उनका ज्वाइँहरूले पनि पौडेलमाथि दबाब बढाइरहेका छन् ।
भारत दाहिना बनाउने प्रयास ः कांग्रेसको महाधिवेशन तयारी हुँदै गर्दा पौडेल भारत भ्रमणमा गए । पतञ्जली योगपीठको कार्यक्रमका लागि भारत गए पनि उनले दिल्लीमा केही महत्त्वपूर्ण भेटवार्ता गरे । पौडेलनिकट स्रोतका अनुसार उनले आफूलाई सघाउन भारतीय नेताहरूसित प्रस्ट आग्रह गरेका छन् । दिल्ली शक्तिकेन्द्रले कांग्रेसमा सुशील कोइराला र शेरबहादुर देउवालाई मात्र नोट गर्ने गरेका थिए । योपटक पौडेल ममाथि किन अविश्वास भन्ने शैलीमा प्रस्तुत भएको र उताबाट पनि सकारात्मक जवाफ पाएका छन् ।
भारतबाट फर्किएपछि आफूले भेट्दा पौडेल निकै उत्साहित देखिएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।
बल्ल गुटको अभ्यास ः पार्टीको कमाण्ड सम्हाल्ने पनि शायद पौडेलका लागि यो नै अन्तिम मौका हुनसक्छ । उमेरका कारण पनि १४ औं महाधिवेशनसम्म कुर्ने समय छैन उनको लागि । कांग्रेसका थुप्रै केन्द्रीय नेताका आ–आफ्ना गुट र उपगुट छन् । तर, संस्थापन पक्षभित्रै रहँदै आएका पौडेलले कहिल्यै आफ्नो गुटलाई स्थापित गर्न सकेनन् । यसमा पौडेल नै दोषी रहेका कांग्रेसका एक नेताको भनाइ छ । उनका अनुसार पौडेलले कहिल्यै आफ्नो गुटमा लागेका मान्छेलाई संरक्षण गर्न जानेनन् ।
यतिसम्म कि उनी सुशील कोइरालासँग बार्गेनिङ गर्दा समेत आफ्नै मात्र कुरा गर्छन्, गुट बिर्सन्छन् । आफूलाई सभापति दिनुपर्नेबाहेक उनको अरु कुनै सर्त छैन, पार्टीभित्र । यद्यपि यसपटक उनले सानै भए पनि गुट बनाएका छन्, जसले उनलाई भरथेग गरिरहेको छ । पार्टीको नीति प्रतिष्ठानमा रहेर उनले देशभर कार्यक्रम गरे । यसबाट उनीसँग केही केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापति जोडिएका छन् ।
पौडेलले शेखर कोइराला, रामशरण महतदेखि युवा नेता गगन थापासम्मको विश्वास आर्जन गर्ने प्रयास गरिरहेका छन् । यद्यपि रामशरण सुशीलका विश्वासपात्र हुन् भने गगन स्वतन्त्र रूपमा चुनाव लड्ने तयारीमा छन् । शेखरले पनि आफ्नो कित्ता खुलाइसकेका छैनन् ।
कोइरालाको अर्कै दाउ ः पौडेलले सभापतिको चुनाव लड्छु भने पनि संस्थापन पक्ष छाडेका छैनन् । उनको पहिलो प्रयास संस्थापनको उम्मेदवार हुने नै देखिन्छ । तर, सुशीलले उनलाई छाड्ने छाँटकाँट छैन । उनी विधान संशोधन गरेर पौडेललाई वरिष्ठ उपसभापतिमा चुनाव लडाउने रणनीतिमा छन् । तर, विधान संशोधन गर्न दिन्नौं भनेर देउवा पक्षले भनिसकेको छ ।
यदि विधान संशोधन नहुने हो भने पौडेलसँग उपसभापतिमा ठाउँ सुरक्षित गर्नु वा सभापतिकै उम्मेदवार हुनुबाहेक अरु विकल्प छैन । प्रधानमन्त्री बनाउँछु भनेर पटक–पटक दिएको आश्वासनमा धोका दिएकाले पनि उनी कोइरालामाथि भर गर्न सक्ने अवस्थामा छैनन् । त्यसैले योपटक पौडेलले सभापतिमा सुशील र देउवालाई चुनौती दिन जोखिम मोल्न सक्छन् ।
Post a Comment