0
एकराज पाठक
हुनत मृत्यु कसैको सुखद् हुँदैन । दुःखद नै हुन्छ । तर पनि कतिपय निधनहरु हुनुपर्ने भन्दा पनि बढी नै दुःखद् भइदिन्छन् । ती पनि कतिपय आफ्ना कारणले नभएर अर्काको कारणले मृत्युको रुप धारण गरिदिन्छन् । यस्तै दुःखद् अवसानले मर्माहत बनाएको छ, यतिखेर नेपालीलाई । सुशिल कोइराला हाल नेपालमा उपलब्ध राजनीतिकर्मीहरु को तुलनामा एक सरल र सादगी नेतामा पर्नुहुन्थ्यो । उहाँ अविवाहित र एक्लो जीवन बिताउँदै आउनुभएको थियो । देशको पूर्व प्रधानमन्त्री र अहिलेकै अवस्थामा हेर्दा देशको सबैभन्दा ठूलो पार्टीका सभापति हुनुहुन्थ्यो । स्वभावतः पूर्व प्रधानमन्त्री भइसकेपछि उहाँप्रति राज्यकै दायित्व रहन्छ । सुरक्षा, कर्मचारी चिकित्सक, सहयोगी, सुविधा सबै हुन्छ र हुनुपर्छ । त्यसमा पनि नेपालको राजनीतिक वंश परम्परामा नै अब्बल दर्जामा पर्ने कोइराला परिवारभित्र असुविधामा एवम् अभावको कुरा प्रायः आउँदैनथ्यो । हुनत त्यो सुख सयलमा उहाँले कहिल्यै घमण्ड र विश्वास गर्नुभएन । सादा जीवन र उच्च बिचारकै धनी हुनुहुन्थ्यो उहाँ । राज्यको भिआइपी कोटाभित्र पर्नु अगाडिसम्म नै उहाँले साधारण मानिसको जीवन यापन गर्दै आउनुभएको हो । यस्तो नेताको पीडादायक मृत्युको रहस्यले यतिखेर काँग्रेस पार्टीका कार्यकर्ता, शुभचिन्तक मात्र नभएर समग्र देशवासीकै मुटु घोचिरहेको छ ।
गत सोमबार राति १२ः५० मा उहाँले संसार छोडेको समाचार सार्वजनिक भयो । यो अत्यन्तै अनपेक्षित र कसैको अनुमान बाहिरको खबर थियो । उहाँ बिरामी भएको खबरै थिएन यसअघि । काँग्रेसको १३ आँै महाधिवेशनका लागि देशभरी प्रतिनिधि छनोटको काम भइरहेको थियो । 
हुनत सुशिल कोइराला यसैपनि बिरामी नै हुनुहुन्थ्यो किनभने उहाँलाई क्यान्सरले छोइसकेको थियो । तर पनि अमेरिकामा पछिल्लो पटकको स्वास्थ्य जाँचपछि उहाँ त्यसबाट मुक्त भएको डाक्टरले बताएको र उहाँ आफैले पनि केही सयम अघि आपूmले क्यान्सरलाई खाइसकेको र अब आपूm स्वस्थ भएको बताएपछि त्यति जीर्ण स्वास्थ्य अवस्थाको कल्पना गरिएको थिएन । त्यसै पनि आम नागरिकले उहाँ स्वस्थ नै रहेको बुझेका थिए । तर पनि पछिल्लो केही दिन यतादेखि उहाँ गम्भीर रुपमा अस्वस्थ रहेको कुरा उहाँको रेखदेख गर्न बसेकोले लुकाएको पाइयो । 
उहाँको निधनपछिका समाचारहरु यति क्रुर र गैरजिम्मेवार रुपमा आइरहेका छन् कि यसले उहाँको रेखदेखमा बसेको भनिएका आफन्तले उहाँलाई आफ्नो स्वार्थका लागि अस्पताल नलगीकनै राखेको छर्लङ्ग हुन्छ । उहाँको रेखदेखको जिम्ममा बसेका व्यक्तिले महाधिवेशनमा आफ्नो स्वार्थ अनुरुपको सन्देश नजाने भन्नेसम्को दुरासयले अस्पताल नलगेको स्पष्टै देखिन्छ । यसमा कोइरालाका निजी चिकित्सक पनि कम दोषी देखिँदैनन् । त्यस कमजोर र जीर्ण शरीरलाई ज्वरो र निमोनिया अनि कति दिनदेखि निद्रा नै नपरेको थाहा हुँदा पनि अस्पताल भर्ना गर्नुको सट्टा परिवार राजनीतिक सदस्यको कुरा सुनेर घरमै उपचारका नाममा विविधथरि औषधि दिएर राख्ने उनी पनि गैरजिम्मेवार व्यक्ति हुन् । देशभरि महाधिवेशनका प्रतिनिधि छान्ने मतदान भइरहेको थियो । उहाँ आँफैँले सभापतिमा उठ्न नचाहेको भएपनि कोइराला परिवराको विरासत धान्नुपर्ने घमण्ड लिइरहेका कोइरालाका अरु सदस्यहरुले यस पटक पनि उहाँलाई सभापतिमा अघि सारेका थिए । त्यसैले गर्दा पनि आफ्नो गुट कमजोर हुने ठानेर नै उनीहरुले कम्तीमा पनि जिल्ला सभापतिको निर्वाचनसम्म उहाँ बिरामी भएको नभन्ने राणनीति उनीहरुले बनाएको हुनुपर्छ । यो समग्र स्वार्थले आखिर सुशिल आफैलाई शिकार बनायो ।
देशका यतिठूलो भिआइपी यसरी घरैमा मृत्युभएको धेरै दुर्लभ घटना हो यो । मृत्यु भएपछि सार्वजनिक गरिएको उहाँको तस्वीरको निधारमा चोट लागेको छ । निधारमा लागेको चोटको घाउ पुर्न अनावश्यक रुपमा धेरै नै चन्दन थोपरिएको छ । अनि उहाँलाई ओढाइएको सिरकमा रगतको टाटा देखिन्छ । चोट कसरी लाग्यो ? कोही बोल्दैनन् । सिरकमा रगत कसरी देखियो ? कसैले केही जवाफ दिँदैनन् । बाथरुम जाँदै ढलेको हुनसक्ने अनुमान सर्वत्र गरिन्छ तर त्यसको आधिकारिकता परिवारका कुनैपनि सदस्यले पुष्टि गर्दैनन् । निद्रा लाग्ने औषधि खुवाएर राखिएको जानकारी गराउँदा पनि उहाँका निजी चिकित्सकले अस्पताल भर्ना किन गर्दैनन् ? यसको पनि जवाफ कसैले दिँदैनन् । 
पार्टीमा आफ्नो गुटको पक्षमा परिणाम नआउने स्वार्थगत अनुमानमा उहाँको स्वास्थ्यलाई दाउमा राख्ने काम भएको स्पष्ट देखिन्छ । के उहाँको परिवारका आफ्नै सदस्य भइदिएको भए यस्तो दयनीय अवस्थामा उपचारका लागि अस्पताल जानै नपाई घरैमा घरैमा मृत्यु हुने अवस्था आउथ्यो होल र ?
उहाँ नेपालका एक जना सादगी र त्यागी राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँ निष्ठानवान् राजनीतिक कार्यकर्ता हुनुहुन्थ्यो । उहाँले हामीमाझ बिदा लिएर जानुभएको छ । तर उहाँले राजनीतिमा नाजायज फाइदा उठाएर जोडेका भौतिक, अभौतिक सम्पत्ति केही छैनन् देशमा । उहाँ अविवाहित रुपमै एक्लै जीवन बिताउनुभयो । तर उहाँका नामबाट सान र सम्पत्ति जोड्ने व्यक्ति भने धेरै भए । उहाँको मन्त्रिमण्डलमा बसेर अकुत सम्पत्ति जोड्ने काँग्रेसकै मन्त्री धेरै भए । यो उहाँको इमान्दारिताबाट उठाइएको फाइदा थियो । उहाँले आपूmमाथि धेरै ठूलो दबाब एवम् अप्ठेराहरु हुँदाहुँदै पनि देशलाई संविधान दिएर जानुभएको छ । संविधान कस्तो दिनुभयो भन्ने कुराको लेखाजोखा त हुँदै गर्ला । यदि राम्रो छैन भने हामी जीवित रहेकाले संशोधन गर्न सक्छौँ,। सधार्न पनि सक्छौँ ।
 त्यसैले उहाँको बाँकी सपना पूरा गर्छौँ भन्ने काँग्रेसी हुन् वा जो कोही नेताहरुले पनि उहाँको साधारण जीवनलाई अनुशरण गर्न सक्नुपर्छ । सत्तामा छँदा हेरचाह गर्न खोज्ने र सरकारी सान र भत्ताको लोभमा उहाँको साथ नछोड्ने तर सत्ताबाट निस्किएपछि बेवास्ता गरी हेरचाह नै नपाई मृत्युवरण गर्नुपर्ने अवस्था ल्याउने र सुशिल कोइरालाजस्तो सरल स्वभावका नेताको यो दुःखद मरणसम्मको परिस्थिति ल्याउने ती आफन्ता नामधारीलाई धिक्कार छ । सुशिल दाको आत्माले शान्ति पाओस् १३औं दिनको पुण्य तिथिमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि !

Post a Comment

 
Top