तारा एयरको विमान म्याग्दीको रुप्से झरना, घोप्टेभीर लगायत स्थानमा दुर्घटना भएको अनुमान गरेपछि हामी बेनीबाट गएका थियौं । झन्डै ३० किलोमिटर गाडीमा गएपछि काब्रे भन्ने ठाउँमा पुग्यौँ । त्यहाँ पुग्दा १ बजेको थियो । जतिबेला विमान केकरबुट्टा भन्ने स्थानमा दुर्घटनाग्रस्त भेटिएको खबर आयो । त्यो निकै विकट र अनकन्टार ठाउँ भएकाले हामी केही स्थानीयलाई साथ लिएर गयौं । काब्रेबाट झन्डै एक घन्टा उकालो हिँडेपछि एउटा खर्कमा पुग्यौं । जहाँ केही गोठ मात्रै थिए । मानवबस्ती काब्रे मात्रै थियो । त्यो खर्कसम्म त हिँड्ने बाटो थियो । त्यसपछिका बाटो निकै अप्ठेरा । कहिलेकाहीँ लेक–बेँसी गर्ने क्रममा भेडा मात्र हिँडाउने गरिएको रहेछ । खर्कबाट झन्डै तीन घन्टा उकालो र जंगलको बाटो हिँडेपछि हामी विमान दुर्घटना भएको स्थानमा पुग्यौं । त्यतिबेला फुसफुस पानी र हिउँ परेको थियो । तारा एयरको विमान पहाडमा ठोक्किएको रहेछ । गुराँसको जंगल भएपनि भिरालो र रुखहरू समेत नभएको उक्त स्थानमा झन्डै एक–दुई सय मिटर वरपर विमानका टुक्रा थिए । केही ठाउँमा आगो समेत बलेको थियो । त्यहाँ पुगेका सुरक्षाकर्मी र हाम्रो अनुमानमा यो झन्डै ३५ सय मिटर उचारमा पर्छ । र, घोडेपानीबाट बाटो बिराएको विमान सीधै पहाडमा गएर ठोक्किएको जस्तो देखिन्छ । स्थानीयवासीका अनुसार विमान आफ्नो उचाइमा त थियो, तर अरु दिन हिँड्ने बाटोमा थिएन । बाक्लो हुस्सु लागेको थियो । सय, दुई सय मिटरअगाडि समेत केही नदेखिने अवस्था थियो । त्यसैले ठोडो भीरमा गएर विमान सीधै जोतिएको सहजै अनुमान लगाउन सकिन्छ । धेरै जाडो भएकाले घटनास्थलमा पुगेका सुरक्षाकर्मी नजिकै आगो बालेर तापिरहेका थिए । पानी परिरहेको र आसपास मानवबस्ती समेत नभएकाले त्यहाँ धेरैबेर बस्न सम्भव पनि भएन । सुरक्षाकर्मीसँग संकलन गरिएका शवलाई ल्याउने कुनै साधन र अवस्था दुवै नभएकाले सहयोगका हामी त्यहाँ बस्नु आवश्यक पनि रहेन । हामी राति ११ बजेतिर भुरुङताल भन्ने ठाउँमा आएर बस्यौं । बाटोमा डीएसपीसहितको टोली भेट भयो । केही सुरक्षाकर्मी चाउचाउ र बिस्कुट खाएर घटनास्थलमा बसे । नेपाली सेनाको टोली भने केही तल क्याम्प बनाएर बसेको थियो । (स्थानीयको कुराकानीमा आधारित)
Subscribe to:
Post Comments (Atom)
Post a Comment