सन्दर्भः काम सानो होस् अथवा ठूलो नै किन नहोस् गर्न खोजिएको छ भने त्यसलाई सबै प्रकारले पूरा गर्ने प्रयत्न गर्नु नै उचित हुन्छ। यो गुण सिंहबाट सिक्नुपर्छ अरे। किनकि सिंह सानो होस् या ठूलो आफ्नो पूरा शक्ति लगाएर ज्यानको माया मारेर आफूले आँटेको काम गर्ने गर्दछ, अतः लागि परिरहने यो गुण सिंहबाट लिनु उपयुक्त हुन्छ भनिन्छ। सोही कारण आज पङ्क्तिकारले ज्यानको माया मारेर आँटेको काम गर्ने विचार गरेको छ। जुन काम भनेको पहिलो पटक पढेको मधुपर्क र हालका मधुपर्कको तुलना हो। जान्ने भएदेखि तत्कालिन समय र वर्तमानको पनि प्रतिष्ठित साहित्यिक पत्रिका मधुपर्क अध्ययन गर्दै आइयो। जसको श्रेय जन्मदातालाई नै जान्छ। म मेरी कर्मआमा राममाया जो मेरी आमाकी आमासँग हुर्के। मैले हुर्केकै आमाका मुखबाट पटक–पटक सुनेको कुरा हो,‘बाबु ! दाजुभाइले फाटको खेत बेचेर बजारमा किने, तिम्रो बाबाले यिनै छोरालाई पढाउन सके कमाइहाल्छन् भनेर पढाउनु भएको छ, राम्रो गरेर पढ्नुपर्छ।’ यी शब्दले मलाई कहिल्यै बिझाएनन्, ऊर्जा दिइनै रहे। मेरा सातवटी सानीआमाहरूले पनि मलाई त्यो ऊर्जा दिनका लागि सहयोग गरिरहे। त्यही ऊर्जाले आजसम्म पनि फुर्सदको समय मिल्यो कि पुस्तक, पत्रपत्रिका मेरा प्रिय मित्र बन्न आइहाल्छन्। यसरी अध्यन गर्दै आइरहँदाको सन्दर्भसँग जोडिएको साहित्यिक पत्रिकाको नाम हो, मधुपर्क। पङ्क्तिकारले पहिलो पढेको वि.सं. २०३८ सालको पुस अङ्क हो। पछिल्ला समय यसरी फुर्सदिलो भइन्छ भइदैन समयको खेल कसले जानेको छ र ? यो समय अलि साहित्यिक बनेको र नियमित हप्तामै एक दुई आलेख तयार गर्नुपर्ने भएकाले वि.सं. २०७२ को पुस अङ्ककै बारेमा यहाँ तुलनात्मक अध्ययन गर्न खोज्नु यसका सीमा रहेका छन्।
विषयप्रवेशः पङ्क्तिकारले सबैभन्दा पहिला पढेको मधुपर्कको अङ्क वि.सं. २०३८ वर्ष १४ कात्तिक र मङ्सिरको संयुक्त अङ्क ६ र ७ कविता विशेषाङ्क हो। जुन मेरा अग्रज अभिभावकले नै सङ्गृहीत गरेर राखेका थिए। जसबाट मैले यथेष्ठ साहित्यिक ज्ञान आर्जन गर्ने वातावरण पाएँ। वि.सं. २०५८ को कात्तिक ७ गते पोखरा झरँे। जुन पोखरा झराई मेरो एसएलसी पास गर्नका लागि होस्टल बसाइँका लागि थियो। मेरा ठूला दाजु यामबहादुर कास्की मोर्डनाइज्डमा पढाउनुहुन्थ्यो। त्यो वेलाको नाम चलेको होस्टल बुद्धचोकमा रहेको ब्लुस्काई एसएलसी होस्टल रहेछ। म त्यही बसेर परीक्षा तयारी गर्न लागे। होस्टलका सञ्चालक यामबहादुर ठकुरीको व्यवहार, बोलिचालीबाट मेरो शाह वंशप्रतिको श्रद्धा भाव कति रह्यो भन्ने कुरा थाहै भएन, कालान्तरमा एउटै गाविसका दुर्गाबहादुर शाह बाबा, पितम सेन ठकुरीलगायत शाहवंशका मित्रसँगको मेरो उठबसको एउटा पूर्वाधार ब्लुस्काई होस्टलका सञ्चालक यामबहादुर ठकुरीले देखाएको व्यवहार हो भन्दा फरक पर्दैन। यसरी अध्ययलाई अगाडि बढाउने सन्दर्भमा बजारमा पढ्न पहिला किनेको साहित्यिक पत्रिका मधुपर्क नै हो। जुन पङ्क्तिकारले वर्तमानमा पनि किनेर अध्ययन गरिरहेको छ।मधुपर्कसँगको मेरो यात्राः पङ्क्तिकारले गोरखापत्र संस्थानका लागि भरतप्रसाद कोइरालाद्वारा प्रकाशित वि.सं. २०३८ चैतसम्म का.मु. सम्पादक गोकुलप्रसाद पोखरेल र २०३९ वैशाखबाट सम्पादक बनेका उनै गोकुलप्रसाद पोखरेलले सम्पादन गरेका मधुपर्कका कविता विशेषाङ्क, बालकृष्ण सम स्मृति अङ्कसहित यही अवधिका विभिन्न अङ्क नै मधुपर्कका पहिला अध्ययन गरेका अङ्क हुन्। यसरी मधुपर्कको अध्ययन अगाडि बढ्दै जाने क्रममा वि.सं. २०६१ मा मेरा पिताको उपचारार्थ समय खर्च गर्नुपर्ने, दाजुहरूको विदेश बसाइँ, केही समयको अन्तरालमा बाबाको निधनले गाउँ जानु जस्ता सन्दर्भले मधुपर्कसँगको अध्ययन छुटपुट भए तापनि त्यसपछिका दिनमा अध्ययनका लागि कुनै असहज अवस्था पैदा भएका छैनन्। कहिलेकहीँ विशेष अङ्कहरू प्रकाशन भएका सन्दर्भमा बजारमा आउन नपाउँदै पत्रिकाको खपत हुने कारण केही अङ्क सङ्गृहीत गरेर राख्न नपाए तापनि सोधखोज गर्दै अध्ययन यात्रा अझै बढिरहेको छ।
पत्रिका आकार, पृष्ठ र मूल्यः सुरुवाती चरणमा पङ्क्तिकारको हात परेको पत्रिका २०३८ को कात्तिक÷मङ्सिर संयुक्त रुपमा प्रकाशन भएको थियो। वर्ष १४ अङ्क ६ र ७ कविता विशेषाङ्क। जुन ५÷७ इन्चको आकारमा प्रकाशन भएको थियो। यो समयमा मधुपर्कको साइज यही नै थियो, त्यसको केही समयपछि मधुपर्कका अङ्कहरू १०÷७ इन्चको आकारमा प्रकाशन हुन थाले। २०६० देखि २०६२ को समय अवधि पुनः २०३८ सालकै आकारमा प्रकाशन हुँदै वर्तमानमा १०÷७ इन्च साइजमा प्रकाशन भइरहेका छन्। सुरुवाती चरणमा एकल र संयुक्त अङ्क गरी प्रकाशन हुँदै आएका मधुपर्कका पछिल्ला अङ्कहरू मासिक रुपमै प्रकाशन हुँदै आएका छन्। ०३८ सालमा हात परेको कविता विशेषाङ्क २३४ पृष्ठमा संरचित थियो। यस्तै ०३९ वैशाखसम्मका अङ्कहरू २०३८ पुस अङ्क २०० पृष्ठ, माघ, फागुन अङ्क २३६ र चैत, वैशाख अङ्क १२६ पृष्ठमा संरचित रहेका थिए। यसरी ५÷७ इन्चको आकारमा प्रकाशन हुँदाका समय २०३८ सालमा सामान्य एक अङ्कको ३ रुपैयाँ र विशेष अङ्कको ४ रुपैयाँमा खरिद गरेर मधुपर्कको रसास्वादन गर्दै अगाडि बढेका साहित्यिकारले पछिल्लो समय बढी पृष्ठ रहेका मधुपर्क अध्ययन गर्न पाउन थाले। २०६०÷०६२ को समयअवधिमा उही ०३८ सालकै साइजमा प्रकाशन हुँदै आयो। साइज उही पृष्ठ संख्या उत्ति नै जस्तो भए तापनि ०६०÷६२ मा मल्टी कलरमा प्रकाशन हुँदै जाँदा पत्रिकाको मूल्य पनि आकाशिन पुग्यो। ३ रुपैयाँ हुँदै २०५५ सालमा एकप्रतिको १२ रुपैयाँ खरिद गरेर पढ्न पाएका पाठकले २०६० सालमा आइपुग्दा मल्टी कलरमा छापिदा पत्रिकाको मूल्य १२० देखि १५० सम्म तिर्न प¥यो, तापनि मधुपर्क प्रेमीले किनेर पढे नै। जुन समय पत्रिकाको पृष्ठ संख्या पनि बढेर १२८ पुग्यो। यसरी अगाडि बढ्दै आएको मधुपर्कसँगको मेरो यात्रा पछिल्लो समय केही अपवाद बाहेक ६४ पृष्ठमा संरचित रहेका अङ्क अध्ययन गरेर बित्न थालेका छन्। वर्तमानमा मधुपर्क १०÷७ इन्चको आकारमा निस्कन थालेको छ।
समय र सम्पादक ः यस आलेखमा उल्लेख गर्न खोजिएको मुख्य सन्दर्भ तुलनात्मक अध्ययन हो। यसैले फरक–फरक समयका सम्पादकले पाठकलाई नयाँपन दिने भरमज्दुर प्रयत्न गरेकै छन्। यसर्थ सम्पादकका कुरा पनि छुटाउनु हुँदैन। वि.सं. २०२४ को जेठबाट प्रकाशन थालनी भएको मधुपर्कमा सम्पादकले कम्तीमा पाँच महिनादेखि लगातार बढीमा दुई वर्षे कार्यकालसम्म विभिन्न अङ्कहरू सम्पादन गर्दै आए। यस्तै सम्पादक, प्रधान सम्पादक, नि. सम्पादक हुँदै सोही व्यक्तिले पटक–पटक सम्पादन गर्ने मौका पाए पनि उनीहरूको एकपटकको न्यूक्तिमा दुई वर्ष भन्दा बढीको अवधि अधिकांश सम्पादकको रहन सकेनन्। प्रारम्भिक चरणका सम्पादकको सन्दर्भ आइसकेको छ। यहाँ जोडिरहनु आवश्यक छैन। हालका सम्पादक श्रीओम रोदन वि.सं. २०४८ बाट उपसम्पादकबाट सेवा सुरु गरी २२ वर्षे अवधिमा २० वर्ष मधुपर्कको सम्पादन मण्डलमा रहेर काम गरिसकेका छन्। उनले वि.सं. २०६४ साउनदेखि मङ्सिरसम्म पाँच अङ्क सम्पादन गरेर सम्पादकको जिम्मेवारी वहन गर्दै आएका थिए। पछिल्लो समय वि.सं. २०७० भदौ अङ्कबाट हास्यव्यङ्ग्य विशेषाङ्कसँगै श्रीओम रोदन सम्पादक रहेर मधुपर्कको रथ हाँकिरहेका छन्। वि.सं. २०५५ मा कपिल घिमिरे सम्पादक रहेर बजार निस्केका मधुपर्कका अङ्कहरू वि.सं. २०६० मा आइपुग्दा युवराज गौतम प्रधानसम्पादक र कपिल घिमिरे सम्पादक रहेर मधुपर्कको रथ हाँके। यस्तै २०६२ मा कपिल घिमिरे सम्पादक हुँदै वि.सं. २०६४ पुसदेखि लक्ष्मी गुरागाईको सम्पादन रहन थाल्यो। यस्तै मधुपर्कले वि.सं. २०६५ फागुनमा विजय चालिसे सम्पादक पायो भने रोदन सहसम्पादक। वि.सं. २०६६ साउनसम्म आइपुग्दा उनको पनि पालो सकियो। वि.सं. २०६६ भदौदेखि श्रीओम रोदन नि. सम्पादक भएर मधुपर्क बजारमा जान थाले। वि.सं. २०६६ भदौदेखि २०६८ साउनसम्म वर्तमानका सम्पादक श्रीओम रोदनले नै आफ्नो पदिय दायित्व निभाउँदै आएर वि.सं. २०६८ भदौबाट रोदन बाहिरिए सँगसँगै वि.सं. २०५४ बाट बाहिरिएका वसन्तप्रकाश राम वनवासबाट फर्केजस्तै गरी १४ वर्षपछि वि.सं. २०६८ भदौ अङ्कसहित नि. सम्पादकको रुपमा प्रवेश गरे। वि.सं. २०६८ देखि वि.सं. २०७० साउनसम्म नि. सम्पादक रहेका वसन्तप्रकाश उपाध्याय अन्तत २०७० भाद्रबाट पुनः बाहिरिएसँगै रोदनको आगमन भयो। यी फरक सम्पादक र फरक समयले नयाँ स्वाद दिएर नै आजको प्रतिष्ठित मधुपर्क बनाउन सफल भएको अनुमान गर्न सकिन्छ।
तुलनात्मक अध्ययन ः विगतमा मधुपर्कले पारेको प्रभाव र वर्तमानमा मधुपर्कप्रतिको मोह नेपाली वाङ्मयको क्षेत्रमा उत्तिकै महत्व रहेको छ। कास्कीकी सरस्वती श्रेष्ठ सरु, पर्वतका किशोर मनस्वी, स्याङ्जाका शिव पलाँस ५० को दशकमा मधुपर्कको आँकुरा स्तम्भमा आफ्ना रचना प्रकाशन गरेर आफूलाई प्रेरणा मिलेको बताउँछन् भने स्याङ्जा चित्रेभञ्ज्याङका रिमबाबु राना आफ्नो रचना नछापिएर मधुपर्क पढ्नै छाडेको आफ्नो कृति‘पूर्वाधद्धमा संस्मरण नै लेख्छन्। यस्ता रचना छापिने र नछापिने बीचका आ–आफ्ना गुनासा र खुसी जे जस्ता भए तापनि हिजो मधुपर्कप्रतिको जस्तो आस्था थियो वाङ्मयिक साधकमा वर्तमानमा पनि त्यस्तै रहेको छ। यो ४८ वर्षे मधुपर्कको साहित्यक यात्रामा सुरुवातीदेखि नै नियमित स्तम्भहरू रहदै आएका थिए, पङ्क्तिकारले अध्ययन थालनी गर्दाका समयमा शास्वत चिन्तन, नयाँ प्रकाशन, पत्र–पत्रांश, हाम्रो पृष्ठ जस्ता स्तम्भहरू थिए। पछिल्ला समय पत्र–पत्रांश, समय–सन्दर्भ, यस अङ्कका कवि र कविता, पुस्तक–पत्रिका, विचारमञ्च, प्रसङ्गवस, कला, आँकुरा, सन्दर्भ–सन्दर्भ–सन्दर्भ, परिक्रमा, सार्क साहित्य, भाषा, भेटवार्ता चलिनै रहे। वर्तमानमा भेटवार्ता, उहाँ, पुस्तक परिचय, यसपटक, प्रसङ्गवश जस्ता स्तम्भ रहिरहेका छन्।
पङ्क्तिकारले अध्ययन गरेको प्रथम चरणका लेख रचना र वर्तमानका लेख रचनालाई सरसर्ती हेर्दा एउटा खड्किएको कुरा के भने वि.सं. २०३८ मा प्रकाशन भएका रचना पाठ गरेर पाठकहरूले जुन नयाँ ज्ञान आर्जन गर्थे वर्तमानका रचनामा त्यो भेटिदैन। यो मधुपर्कका रचनाको मात्र होइन, वर्तमानमा देखिएको साझा समस्या नै हो भन्दा अन्यथा हुँदैन। वर्तमानमा निस्केका आख्यानका ठेलीहरू कि जवानीसँग ठोकिन्छन् कि जनयुद्धसँग। अधिकांश लेखकबाट कृतिमा आत्माभिमानी देखाउने बाहेक अर्को काम भएको पाइदैन। वर्तमानमा निस्केका कृति अध्ययन गर्दा केही नयाँ ज्ञान, केही सत्य र तथ्य पाइन्छ भने प्रकाश सायमीका पुस्तकबाट पाइन्छ अरु त्यस्तै हो। हुन त उनका कृति बोझिला भए धेरै तथ्यपरक भए भनेर आरोप लगाउनेहरू छन्। तर समय, श्रम र लगानी भएपछि केही नयाँ ज्ञान आर्जन हुनुपर्छ भन्ने आफ्नो मान्यता हो। मधुपर्कको वि.सं. २०३८ पुसमा प्रकाशन भएको अङ्कमा श्रीप्रसाद गौतमको राष्ट्रनिर्माता पृथ्वी नारायण शाह, सुनील शम्शेर थापाको युगनायक श्री ५ वीरेन्द्र, अच्युतरमण अधिकारीको कवि शिरोमणि लेखनाथका बारेमा व्यक्ति विशेषका लेख रचना समावेश छन् भने। यस्तै कला संस्कृति सम्बन्धी साफल्य अमात्यको हिजो आजको काठमाडौं ः वातावरण र वास्तुकला, सोमदत्त ओझाको डोटी प्रदेशमा सङ्गीतको विकास, मेदिनीप्रसाद शर्माको लिच्छविकालीन नेपालमा परिवार प्रथा, खेकोबको नेपाली वास्तुकला केही विवेचना, देवेन्द्रराज उपाध्यायको नेपालका थारुहरू, सुरेन्द्रराज भट्टराईको सौन्दर्य ः एक विवेचना, चन्द्रप्रसाद त्रिपाठीको नृत्येश्वर शिवमूर्तिहरू, रामचन्द्र गौतमको सङ्गीत सुधा, हरिशरण गौतमको रतेली, तेजरत्न ताम्राकारको ठेचोको नवदुर्गा नाँच, कवितारामको धामीवाद, तेजप्रकाश श्रेष्ठको नेपाली कलामा अमूर्तवाद, पूर्णदास मानन्धरको भैरव ः एक सङ्क्षिप्त चर्चा, प्रचण्ड मल्लको स्त्री पात्रको रुपमा पुरुष, जीतबहादुर मानन्धरको स्वर्गाद्धारी आश्रम र स्वर्गाद्वारी महाप्रभु, विजय चालिसेको डोटी र यस वरिपरिका धार्मिक परम्परा, शारदा कोइरालाको देउडा, बाबुकृष्ण रिजालको नेपालमा इतिहास र पुरातत्वको विकास, केशव दुवाडीको लतिलकलामा नेत्र सौन्दर्य, जनकलाल शर्माको नेपालको नेवारी समाज, रामशरण दर्नालको नेपालमा भक्ति सङ्गीत र मनुजबाबु मिश्रको स्कीब ७१ को दशौं संस्करणलगायतका लेख रचनासहित माथि उल्लेख गरिएका स्थायी स्तम्भहरू समावेश छन्। यस्तै वि.सं.२०७२ पुसको अङ्कमा प्रकाश सिलवालको साझा प्रकाशन ः इतिहासकै गम्भीर मोडमा, डा. तुलसी भट्टराईको भानुभक्तीय यात्रामा मणिपुर, विनोद अश्रुमालीको टान्जानियाँका नब्बे दिन, श्याम रिमालको बसिबियाँलो, डिल्लीराम मिश्रको ओझेलमा परेका मनीषि बदरीनाथ भट्टराई, अमेरिकाका अनौठा संस्कारसहित कविता, गीत, गजल, कथा, व्यङ्ग्य रहेका छन्। नियमित स्तम्भमा आँकुरा, पत्र–पत्रांश, उहाँ, भेटवार्ता, पुस्तक परिचय, यसपटक, प्रसङ्गवस यहाँ उल्लेख गरिएका रचनाका शीर्षकका हिसाबबाट नै मूल्याङ्कन गर्न सकिन्छ मधुपर्कका आम पाठकले के कस्ता लेखरचना पढ्न पाएका छन् भन्ने कुरा।
पत्रिकाका सवल पक्ष ः स्थापनाकालिन समयमा साहित्यिक पत्रिकाको प्रकाशन निकै दुर्लभ थियो, त्यो हिसाबले पत्रिकामा सर्वसाधारणले आफ्ना सामान्य लेख रचना प्रकाशन गर्ने मौका पाउँदैनथे। तर वर्तमान समय त्यस्तो छैन। मधुपर्कमा स्थापित र नवोदित स्रष्टाका रचनाले स्थान ाउन थालेका छन्। नवोदित स्रष्टाका लागि मधुपर्कले हौसला प्रदान गरेको छ। सुरुवाती दिनमा आख्यान विधालाई बढी महत्व दिएको मधुपर्कले पछिल्लो समय वाङ्मयका लघु विधालाई धेरै भन्दा धेरै स्थान दिएर मधुपर्क धेरै स्रष्टाहरूको साझा सम्पत्ति बनाउन सफल भएको छ। यही पुस अङ्कबाट नै अनुमान गर्न सकिन्छ जहाँ २४ जनाका फुटकर कविता, गीत, गजल, मुक्तक प्रकाशन भएका छन् यो निकै खुसीको कुरा हो। बिजुली र इमेलको सुविधा भएका प्रविधिसँग खेल्ने स्रष्टा साधकका लागि अनलाइनमा पत्रिका राखेर हेर्ने र पढ्ने व्यवस्था मिलाएको छ। पछिल्लो समय प्रविधिले गराएको विकास सँगसँगै सामाजिक सञ्जालमार्फत पनि मधुपर्कको बारेमा अग्रिम जानकारी दिन थालिएको छ। पत्रिकामा रचना सँगसँगै लेखकका तस्विर र रचना सुहाउँदा तस्विर समावेश गरी विषयले भन्न खोजेका कुरालाई थप प्रष्ट पार्नुका साथै स्रष्टालाई चिनाउन सघाएको छ। रचनामा प्रयोग गरिएको फन्ट समान रहेकाले पत्रिका पढ्दा कुनै अप्ठ्यारो महशुस हुँदैन। समय समयमा विभिन्न विशेषाङ्कहरू प्रकाशन गरेर विधागत विकास र आम पाठकहरूलाई उत्साह प्रदान गरेको छ यस्ता धेरै सवल पक्षहरू रहेका छन्।
केही सीमाहरू ः नेपाली वाङ्मयको क्षेत्रमा ४८ वर्षे गरिमामय इतिहास बोकेको पत्रिका मधुपर्कका धेरै सवल पक्षहरू हुँदाहुँदै केही सीमाहरू रहेका छन्। वर्तमान समयमा साहित्यकारको कुरा गर्दा नेपालको जनसंख्या जत्तिकै मात्रामा साहित्यकार जन्मिसकेका छन् भनेर खिल्ली उठाउन थालिएको अवस्था छ। यस्तो अवस्थामा पनि वाङ्मयको उत्थानका लागि सङ्घर्षरत मधुपर्कले स्तरिय लेख रचना लेख्ने लेखकलाई समेटन नसकेको हो कि भन्ने भान परिरहेको छ। यस्तै पत्रिकाको एक अङ्कमा सम्पादन मण्डलका एक सदस्यको एक रचना मात्रै समावेश गरे उत्तम हुने देखिन्छ। किनकि पङ्क्तिकार एउटा पत्रिकामा काम गर्छ, आफ्नो पत्रिकामा लेख छाप्दा धेरै पारिश्रमिक पाउछुँ तर अर्काको पत्रिकामा छपाउँछु र थोरै पारिश्रमिक लिन्छुँ। जुन व्यक्तिले सम्पादन गरिरहेको छ उही व्यक्तिका धेरै रचना समावेश हुँदा व्यक्तिवाद हावी भएको आकलन हुन्छ। मधुपर्कको ०३८ पुसमा प्रकाशन भएको अङ्कमा सम्पादकको सम्पादकीय बाहेक अरु केही सामग्री छैन तर ०७२ को पुस अङ्कमा सम्पादक रोदनजीको सम्पादकीय, नियमित स्तम्भ प्रसङ्गवश, पुस्तक परिचयमा सम्बन्ध विच्छेद कृति परिचयसहित तीन स्थानमा उहाँको उपस्थिति देखिन्छ। कुनै अङ्कहरूमा त उहाँ चार ठाउँमा पनि झुल्कनुहुन्छ यस्तै सहसम्पादक तुलसीहरि कोइरालाका पनि दुई तीन स्थानमा नाम छापिएकै हुन्छन्। यस अङ्कमा पनि नियमित स्तम्भ उहाँ र पुस्तक परिचयमा बामियानका चिसा बुद्धहरूको कृति परिचय गरी दुई ठाउँमा उपस्थिति देखिन्छ। यसबाट पाठक वर्गका अवश्य पनि राम्रो सन्देश जादैन। एउटा दीर्ध पाठकका नाता र वर्तमानका सामग्रीहरूको अवस्थाले गर्दा मधुपर्कको प्रकाशन एउटा निरन्तरताका लागि मात्रै भएजस्तो आम पाठकहरूलाई लाग्न थालेको छ। यसर्थ मधुपर्कका पाठकका लागि हरेक अङ्कहरू सङ्ग्रहणीय अङ्क बनाउन सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ। वर्तमानमा स्थानियस्तरमा विभिन्न साप्ताहिकदेखि लिएर आवधिक प्रकाशनहरू चाहे साहित्यिक हुन चाहे गैह्र साहित्यिक सबैले वाङ्मयका विधालाई समावेश गरिरहेका छन्। यसर्थ मधुपर्कमा प्रकाशन हुने रचना उच्च गुणस्तरका हुनु आवश्यक छ। राजधानीबाट निस्कने पत्रिका मोफसलका मुखपत्र जस्ता हुनुहँदैन भन्ने व्यक्तिगत धारणा मात्रै हो।
निष्कर्ष ः भनिन्छ एक पटक आएको मौका, पटक–पटक फर्केर आइराख्दैन। दोस्रो मौका, अझ राम्रो–नराम्रो दुवै हुनसक्ला, पहिलो जस्तो त्यो, कहिल्यै हुँदैन। समयमा नै उचित निर्णय लिनसक्नुको महत्व बेग्लै हुन्छ। बेठीक समयमा लिइएको, सही निर्णय पनि गलत निर्णय बराबर बन्नपुग्छ। यसर्थ नेपाली वाङ्मयको क्षेत्रमा गरिमायम इतिहास बोकेको पत्रिका हो मधुपर्क। यसको गरिमा अझै उचो राख्नका लागि विभिन्न समयका समिकरण सँगसँगै सम्पादन मण्डलमा आउने र जानेहरू जो भए तापनि व्यक्तिवाद हावी हुनुहुँदैन। मधुपर्क भनेपछि सिङ्गो राष्ट्रले नै गर्व गरिरहेको छ। अझै यो भन्दा उत्कृष्ट र गर्व गर्न लायक पत्रिका बनाउने मुख्य जिम्मेवारी भनेकै सम्पादन मण्डलको हो, यसर्थ सम्पादन मण्डलले उत्कृष्ट लेख रचनालाई स्थान दिएर पत्रिकालाई उत्कृष्ट बनाउनुतर्फ लाग्नु नै वर्तमान समयको माग हो।
Post a Comment