१२औँ महाधिवेशनमा एक पटकका लागि भनेर मत मागेका कोइराला फेरि उम्मेदवार हुने गुप्त तयारीमा छन् । औपचारिक निर्णय यसै साता गर्ने उनको योजना छ । वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गरेर कोइराला १२औँ महाधिवेशनमा सभापति बने । दोस्रो संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री भए । पार्टी र सरकारको नेतृत्व गरिसकेका कोइराला अब फेरि केका लागि सभापति हुने ? पार्टीभित्र गर्माएको यो बहस कोइरालाविरोधी खेमामा मात्रै सीमित छैन, संस्थापन पक्षबाटै सशक्त हुन थालेको छ । तीन वर्षको कार्यकालका लागि निर्वाचित कोइरालाले पाँच वर्ष पार्टीलाई नेतृत्व त दिए । तर, यसबीचमा के गरे उनले र फेरि पार्टी नेतृत्वका दाबी गर्दैछन् ? अरु कोही कांग्रेसका नेता नजन्मेजस्तो पार्टीको बागडोर कोइरालाकै हातमा हुनुपर्ने, रामचन्द्र पौडेल र शेरबहादुर देउवा आजीवन त्यहीँ, आश गरेर झुन्डिरहने । एक से एक आशलाग्दा युवा त्यहीँ बुढिने र आफैँ बूढा भएर फेरि रूँगेर बस्ने, ढुकेर बस्ने ! तर कोइराला जस्तासुकै हुन्, ती चाहे सुशिल कोइरालाजस्तै किन नहून्, नेतृत्व कोइरालालाई नै चाहिने, कार्यकर्तालाई पनि घुमाइफिराइ कोइरालै नभई नहुने । यसपालि तेह्रौँ महाधिवेशनको तयारीका क्रममा पनि उही पुरानै दर्द लिएर बसेका छन्, पौडेल र देउवा अनि ्पछाडि—पछाडि बिचरा उनीहरुका कार्यकर्ता । संस्थापन पक्षका कतिपय नेताहरु कोइराला परिवारको सबभन्दा कमजोर नेतृत्व नै सुशिलकै कार्यकाललाई ठान्छन् र भन्छन्,–‘अब परम्परागत शैलीबाट पार्टी चल्दैन, त्यसैले सुशिलको समय अब समाप्त भयो ।’ पाँच वर्षसम्म केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन नसकेको, महत्वपूर्ण कार्यसम्पादन समिति नबनाई विधानमै व्यवस्था नभएको पदाधिकारी बैठक संस्थागत गरेको, भ्रातृ संस्था विघटन गरी अधिवेशन गर्न नसकेको, पार्टीका ४२ विभाग क्रियाशील बनाउन नसकेकोजस्ता आरोप कोइरालामाथि लागिरहेका छन् । तर, कोइराला परिवारमै नेतृत्व ल्याउन चाहने समूहले यी आरोपको खण्डन गर्छन् । दोस्रो संविधानसभामा कांग्रेसलाई ठूलो पार्टी बनाएको र सुशिलकै नेतृत्वमा संविधान जारी भएको घटनालाई उनीहरु ऐतिहासिक भन्छन् । गिरिजाप्रसादले आफ्नै जीवनकालमा सुजातालाई नेतृत्वमा ल्याउने चाहना राखेका थिए । उनले पार्टीभत्रका वरिष्ठहरु पन्छाएर छोरीलाई उपप्रधानमन्त्री पनि बनाए । तर, उनको कदले सम्भव भएन । गिरिजाप्रसादको चाहनालाई सुशिलले पूरा गर्लान् त ? कोइराला परिवारकै एक सदस्य भन्छन्,–‘सुशिलमा सुजाताप्रति भन्दा बीपीपुत्र शशांकप्रति बढी लगाव र प्रेम छ । उनी सुजातालाई होइन, शशांकलाई कार्यवाहक दिएर नेतृत्वमा स्थापित गर्न चाहन्छन् ।’ यो रोडम्याप लिएर सुशिल मैदानमा उत्रन लागेको सुइँको पाएपछि संस्थापन पक्षभित्रै यतिबेला हल्लीखल्ली छ । उनका निकटमा रहेर काम गरेका महामन्त्री कृष्णप्रसाद सिटौला यही कारण कोइरालासँग टाढिएका छन् । उपसभापति रामचन्द्र पौडेल आफैँ मैदानमा भिड्ने भन्दै प्रचारमा जुटिसकेका छन् । महामन्त्री प्रकाशमान सिंह, रामशरण महत, अर्जुनरसिंह केसीहरुमा आफूहरुभन्दा अघि शशांक नेतृत्वमा आउने भय छ । सुशिललाई साथ दिँदै आएका महेश आचार्य, नरहरि आचार्य पनि भित्रैदेखि सुशिल उम्मेदवार नभइदिए हुन्थ्यो भन्ने पक्षमा छन् । आफ्नो स्वार्थविपरीत सुझाव दिनेलाई सुशिलले टाढा राख्न थालेका छन् । हितअनुकूल सुझाव दिनेलाई उनी आफ्नो ठान्छन् । यतिबेला कोइरालाका साथमा परिवारका सदस्यका अतिरिक्त प्रवक्ता दिलेन्द्र बडु, केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना, दिलबहादुर घर्तीहरु छन् । सुशिल पार्टी नेतृत्व कोइराला परिवारमै राख्नका लागि जस्तो जोखिम पनि मोल्न तयार छन् । गत असोज २५ को प्रधानमन्त्री निर्वाचनमा उम्मेदवार हुनु त्यस्तै जोखिमको एउटा घटना थियो । त्यस्तै अर्को जोखिम लिएर उनले पार्टी सभापतिका लागि तयारी थालेका छन् । कोइरालानिकट रहेका नेता अमरबहादुर पुन सुशिलको उम्मेदवारी कोइराला परिवारमै नेतृत्व राख्ने योजनासँग सम्बिन्धत नभएको तर्क दिन्छन् । ‘सुशिल नहुँदा संस्थापन पक्ष छिन्नभिन्न हुने भएकाले उहाँको उम्मेदवारीको चर्चा आएको हो’, उनले भने,–‘रामचन्द्र दाइलाई वेटिङ प्रधानमन्त्री र कार्यवाहक सभापति दिने गरी मिलाउन सकिने ठाउँ छ ।’ कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार अहिलेको मुख्य टकराव नै पार्टी नेतृत्व कोइराला परिवारमा रहने कि बाहिर आउने भन्नेबीच छ । स्थापनाकालमा बीपीले टंकप्रसाद आचार्यलाई सभापति बनाएर आफू कार्यवाहक सभापति भएका थिए । त्यसपछि सुवर्ण शमशेर जबरा र कृष्णप्रसाद भट्टराईको कार्यकालबाहेक कोइराला परिवारबाट कांग्रेस नेतृत्व बाहिरिएको छैन । सुशिलका परम्परागत प्रतिद्वन्द्वी शेरबहादुर देउवा कोइराला परिवारबाट आफ्नो नेतृत्वमा पार्टीको बागडोर ल्याउन १३औँ महाधिवेशनलाई अन्तिम लडाइँ मान्दै तयारीमा जुटेका छन् । पछिल्लो कालखण्डमा कोइरालाकै सारथि भएका उपसभापति रामचन्द्र पौडेलले पनि कोइराला परिवारबाट नेतृत्व बाहिर आउने अपेक्षा गरेका छन् । पार्टीभित्र आफ्नो छुट्टै समूह नभएकाले पौडेल कोइराला परिवारकै साथ खोजेर आफूमा नेतृत्व ल्याउने प्रयासमा छन् । स्थापनाकालदेखि नै कांग्रेस दुई खेमामा विभाजित छ– कोइराला समर्थक र विरोधी खेमाका रुपमा । कोइरालाविना कांग्रेस हुँदैन भन्ने विचार कोइराला पक्षको रहँदै आएको छ । अर्को पक्ष निरन्तर त्यसको विरोधमा छ । १३औँ महाधिवेशनको पूर्वसन्ध्यामा यो विषय पार्टीभित्र झनै सशक्त बन्दै छ । ‘यो दुई पक्षबीचमा रामचन्द्र दाइ कहाँ पर्नुहुन्छ, मैले बुझ्न सकेको छैन’, केन्द्रीय सदस्य घिमिरे भन्छन्,–‘यसपालिको मुख्य लडाइँ पनि कोइराला समर्थक र विरोधी खेमाको हुने निश्चित छ ।’ पौडेलको राजनीतिक ‘स्कुलिङ’ कृष्णप्रसाद भट्टराईको हो । देउवाको ‘स्कुलिङ’ गिरिजाप्रसादको हो ।
पछिल्लो कालखण्डमा पौडेल गिरिजाप्रसादतिर भए भने देउवा कृष्णप्रसादतिर । गिरिजाप्रसादले ०५७ मा भट्टराईलाई प्रधानमन्त्रीबाट हटाएपछि शेरबहादुरले भट्टराईको विरासत थाम्न पुगे । पार्टीको पोखरामा भएको १०औँ महाधिवेशनमा देउवाले किसुनजीको सम्मानका लागि आफू पार्टी सभापतिमा उम्मेदवार भएको घोषणासमेत गरेका थिए । पौडेल भने संस्थापन पक्षमा रहे । यद्यपि, पौडेलले आफू कुनै पक्षतिर नभई मध्यमार्गी धारको प्रतिनिधित्व गरेको बताउने गर्छन् । तीन शीर्ष नेताका लागि १३औँ महाधिवेशनलाई अन्तिम अवसर ठान्नेहरु पार्टीमा धेरै छन् । त्यही बुझेर अहिल्यै कसले नेतृत्व लिने भन्ने मुख्य प्रतिस्पर्धा नेतात्रयबीचमा मात्र देखिन्छ । नेतात्रयपछि पार्टीमा स्वाभाविक नेतृत्वको विकास हुन सकेको छैन । असोज २५ को प्रधानमन्त्रीय निर्वाचनमा कोइरालाको पराजय नेतात्रयको कमजोर नेतृत्व क्षमताको कारण ठान्नेहरु अहिले नै यी तीनै नेतालाई बिदा गर्न पाए हुन्थ्यो भन्नेमा छन् । तर, नेतृत्व लिनका लागि हिम्मत गर्ने आँट पछिल्लो पुस्ताले गर्न सकेको छैन र गर्न सक्ने सम्भावनासमेत कम छ । तीन जनापछि नेतृत्वका लागि महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि अग्रपंक्तिमा छन् । सिटौला सुशिल नउठेमात्रै आफू प्रतिस्पर्धामा उत्रने बताउँछन् । कोइरालासित उनी लड्ने सम्भावना न्यून छ । गणेशमानको विरासतबाट अघि बढेका महामन्त्री प्रकाशमान सिंह सुशिलले नै आफूलाई अघि सारिदिए हुन्थ्यो भन्ने आशमा छन् । तर, उनको रोडम्याप सिंहलाई प्रस्ट छ । त्यसैले, उनी कोइरालालाई अप्ठ्यारो पारेर भए पनि महत्वपूर्ण भूमिकामा पुग्ने कसरतमा देखिन्छन् ।
कोइराला सभापतिका लागि अघि बढ्दा सिंह र सिटौलाको आश महामन्त्रीमा नभएर उपसभापतिमा छ । अहिले पार्टीमा उपसभापति पद एउटामात्रै भएकाले आकांक्षीहरुलाई चित्त बुझाउन पनि कोइराला पदाधिकारी बढाउने पक्षमा लागेका छन् । केसीले आफ्नो विचारसँग कुनै पक्ष (कोइराला र देउवा) सहमत नभए आफैँ सभापति लड्ने बताएका छन् । उनको पनि गुप्त योजना महामन्त्री बन्ने नै हो । महामन्त्रीमा जसले उम्मेदवार बनाउँछ, केसी उतैतिर ढल्कने सम्भावना छ । कोइरालाले यसअघि ‘धोका’ दिइसकेको बताउँदै केसीले यसपटक देउवातिर बढी झुकाव राखेका छन् । पार्टी सभापति कोइराला नै अघि बढ्ने अवस्थामा महत पनि आँट गर्ने पक्षमा छैनन् । उनी पनि निर्र्वािचत महामन्त्रीका लागि अघि बढेका छन् । बीपीपुत्र शशांक कोइराला र गिरिजा प्रसादपुत्री सुजाता दुवै जना परिवारको विरासतबाट उदाउने दाउमा छन् । त्यसका लागि पार्टी सभापति सुशिललाई प्रयोग गर्ने योजनामा उनीहरु छन् । देउवा पक्षमा रहेका निधि महेन्द्रनारायण निधिको विरासतबाट राजनीतिमा उदाएका हुन् । उनको दाबी पनि महामन्त्रीमै देखिन्छ । केन्द्रीय सदस्य धनराज गुरूङ शशांक र सुजातालाई इंगित गर्दै नेतृत्वमा स्थापित हुन दुईटा बाटो रहेको बताउँछन् । उनका अनुसार एउटा कार्यवाहक र अर्को चुनावी प्रतिस्पर्धाबाट आउने बाटो । ‘सभापतिका लागि अहिल्यै चुनाव लडेर राम्रो मत पाइयो भने अर्कोपटक स्थापित हुन सकिन्छ’, उनी भन्छन्,–‘तर चुनाव लडेरभन्दा कार्यवाहकको बाटोबाटै नेतृत्वमा उदाउने बाटो रोज्नेजस्तो देखिन्छ ।’ तर, अर्का एक युवानेता नेतात्रय पछिका झनै अयोग्य रहेको बताउँछन् । तीन नेताको विकल्प खोज्न देशभरि कार्यकर्ता तयार हुँदा तत्परता नेदखाउनु उनीहरुको अयोग्यता रहेको ती नेताले बताए । ‘गिरिजाप्रसादपछि तीन नेताले जेनतेन चलाए । यी पछिको पुस्ता झनै अयोग्य देखियो, तिनले नेतृत्व लिनका लागि आँटसम्म गर्न सकेनन्’,–ती सदस्यको भनाइ छ, ‘नेतात्रय पछिका नेतृत्वले पार्टीलाई नयाँ ढंगले चलाऊलान् भन्नेमा शंका छ ।’ केन्द्रीय सदस्य प्रदीप पौडेल तीन नेतापछिको दोस्रो पुस्ताले धेरै मौका पाए पनि नेतृत्वमा स्थापित हुन नसक्नुलाई कमजोरी ठान्छन् । ‘तीन नेतापछि कार्यक्षमताबाटै नयाँ नेतृत्वको उदय हुन्छ’–पौडेलले थपे । दोस्रो पुस्ताका नेताहरुमा लडेरभन्दा पदाधिकारी बाट पदोन्नति हुँदै नेतृत्वमा पुग्ने चाहना बढी देखिन्छ । नेतृत्वका लागि सभापति उठ्ने चर्चा पदाधिकारीमा पदोन्नतिका लागि बार्र्गेिनङ ‘टुल्स’ बन्ने गरेको छ । पार्टीमा कृष्णप्रसाद र गिरिजाप्रसादको दबदबा छँदै शेरबहादुरले ५१ वर्षकै उमेरमा आफ्नो पुस्तामा नेतृत्व स्थान्तरण गर्ने आँट देखाएका थिए । त्यत्तिको आँट पनि दोस्रो पुस्ताका नेताहरुले देखाउन नसकेको केन्द्रीय सदस्य घिमिरे बताउँछन् । ‘गिरिजाप्रसाद सक्रिय राजनीतिमा हुँदैमा देउवाले आफ्नो नेतृत्व स्थापित गरेका थिए । उनले कोइरालासँग विद्रोह नै गरेर नेतृत्वमा आए’, केन्द्रीय सदस्य गुरूङ थप्छन्, ‘दोस्रो पुस्तामा त्यो आँट र आत्मविश्वास देखिएको छैन ।’ नेपालको राष्ट्रिय राजनीतिमा शक्तिशाली र प्रभावशाली परिवारका रुपमा लिइने कोइराला परिवार यतिबेला भने पार्टीभित्र नै अस्तित्व बचाउन संघर्षरत छ । पार्टी स्थापनाकालदेखि नै राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आएको कोइराला परिवार अहिले यति कमजोर बनेको छ कि उसलाई पार्टीभित्र नै कसरी आफ्नो पुरानो दबदबामा फर्काउने भन्ने चिन्ता हुन थालेको टीकाटिप्पणी कांग्रेसभित्र नै चल्न थालेको छ ।
पार्टीको आसन्न महाधिवेशन बाट नेतृत्व परिवारबाट बाहिरिने हो कि भन्ने चिन्ता कोइराला परिवारभित्र व्यापक रुपमा उठ्न थालेको छ । सभापति सुशिल कोइरालाले पार्टी नेतृत्व परिवारभन्दा बाहिर जाने डरले सर्वसहमत रुपमा सम्मानित राष्ट्रपतिको पद अस्वीकार गर्नुले पनि यसैको संकेत गर्ने कांग्रेसीहरु बताउँछन् । जीवनको उत्तराद्र्धमा पुगेका बेला राजनीतिक करिअरकै सफलताको शिखरमा पुगेका कोइरालाले सभापति पद जोगाउनकै लागि ठूलो अपमान पनि सहन तयार रहेको टिप्पणीसमेत हुने गरेको छ । कोइरालाकै पालामा कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बनेको र उनकै प्रधानमन्त्रीत्वकालमा देशले संविधान पाएकाले उनको चर्चा चुलिएको थियो । तर, उनै कोइरालाले सो सफलतालाई एक हप्ता पनि टिकाउन सकेनन् । पार्टीभित्र अहिले संस्थापन पक्ष भनिने सभापति सुशिल कोइराला गुट र अर्का नेता शेरबहादुर देउवा गुट छन्, जहाँ यी दुवै गुटहरु आफ्नो नेतृत्वलाई जिताउन सकेसम्मको शक्ति प्रयोग गर्ने रणनीतिमा छन् । संस्थापन पक्षभित्र भने छिन्नभिन्न अवस्था छ । यसले गर्दा कोइराला परिवारका लागि यो महाधिवेशन प्रतिष्ठाको विषय बनेको छ । सभापति सुशिल कोइरालाविरूद्ध यतिबेला उपसभापति रामचन्द्र पौडेल मैदानमा उत्रिसकेका छन् ।
कुनै पनि हालतमा सभापतिको उम्मेदवारी बाट पछाडि नहट्ने उनले बताइसकेका छन् । सभापति कोइराला आफूबाहेक अरु चुनावमा उठे वरिष्ठ नेता देउवाले सहजै जित्ने भन्दै अन्य नेताहरुलाई थुमथुम्याउन खोजिरहेका छन् । तर, अधिकांश नेताहरुको अन्तिम अवसर पनि भएकाले कोइरालाले भनेकै भरमा सजिलै पछाडि हट्ने मनसाय ती नेताहरुले बनाएका छैनन् । यतिबेला सभापति सुशिल कोइरालासँगै बीपीपुत्र शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला कांग्रेसको राजनीतिको केन्द्रमा छन् । सुशिल कोइराला बाहेक अरु नेताहरु पार्टी सभापतिका लागि तयार भइसकेका छैनन् । उनीहरुलाई कार्यकर्ताले पनि पत्याइहाल्ने अवस्था पनि छैन जसले गर्दा सुशिल आफैँ सभापतिमा लड्न चाहन्छन्, ताकि अर्काेपटक अहिलेका दोस्रो तहका कोइरालाहरु सभापतिका लागि तयार बनून् कांग्रेसभित्र पदीय आकांक्षा राख्नेहरुको सूची छिमल्दै जाने हो भने त्यहाँ पार्टीको आन्तरिक जीवनमा पु¥याएको योगदान, भूमिकाभन्दा बढी शक्ति–सन्तुलन र नेतृत्वको सामीप्यका कारण नेताहरुमा लोभ सिर्जना हुँदै गएको प्रस्ट छ । कुनै नेता संस्थापन या अर्को गुटसँग नजिक–टाढा हुने या नयाँ समूह सिर्जना गर्नेतिर लाग्नु यसैको परिणाम हो । एउटा ठूलो प्रजातान्त्रिक पार्टीमा यस्ता प्रक्रिया स्वाभाविक पनि हुन् । मूल्यांकनको परिपाटी परिष्कृत गर्नुपर्छ भन्ने कुरासँग भने सहमत हुन सकिन्छ । पछिल्ला दिनमा सभापति कोइराला प्रधानमन्त्री हुँदा उनलाई नजिकबाट सघाउने नरहरि आचार्य, महेश आचार्य, बाहिरै बसेर पनि सघाउने पार्टी प्रवक्ता दिलेन्द्र बडू र दिलबहादुर घर्तीजस्ता नेतामा पनि अबको महाधिवेशनमा राम्रो स्थान पाइयोस् भन्ने राम्रै तिर्सना जागेको छ । तर, सबैभन्दा नजिकको सहयोगी हुनुको बेफाइदा के हो भने आफूले मानेको नेताले चुप लाग्नुहोस् भन्दा मौन बस्नुपर्ने अवस्था हुन्छ । अर्कोतिर पार्टी सरकारमा जाँदा निरन्तर रुपमा त्यो अवसरको फाइदा लिइरहेका कतिपय नेताले पार्टीभित्र आफ्नो सम्भावना र पहुँचको अभ्यास गर्नु त्यति अनौठो रहेन । जस्तो, ०४६ को परिवर्तनपछि कांग्रेसले बनाएका सरकारमध्ये एउटा छाडेर सबैमा अर्थमन्त्रीको कार्यभार सम्हालेका रामशरण महत यसपटक आफूले सभापति पदमा उठ्ने पार्र्टीिभत्र ‘लबिङ’ गरिरहेका छन् । उनीनिकट स्रोतका अनुसार यदि पार्टी पदाधिकारीमा आफ्नो स्थान सुरक्षित हुन सकेन भने कांग्रेसले आफूलाई अबको प्रधानमन्त्रीका रुपमा अघि सारिदियोस् भन्ने चाहना महतको छ । उनी पार्टीको संस्थापनमै रहेका छन् र रहने देखिन्छन् । राजनीतिमा अवसरले सबैभन्दा महत्वपूर्ण अर्थ राख्छ । तर, कांग्रेसभित्र अवसरलाई दुरूपयोग गरेर पनि पुनः अवसर सिर्जना गर्ने उदाहरण नभएका होइनन् । खासगरी भागबन्डाको राजनीतिका कारण यस्तो गलत प्रवृत्ति पार्र्टीिभत्र मौलाइरहेको छ । अवसरको खोजीमा कांग्रेसबाट पञ्चायतमा समेत प्रवेश गरेका र त्यहाँ खाइखेली गरेर ०४६ पछि पुनः कांग्रेस फर्केका केसी संस्थापनले महामन्त्री पद नदिने संकेत पाएपछि देउवा पक्षले उक्त पदमा उम्मेदवारी ग्यारेन्टी गरिदियोस् भन्ने चाहन्छन् । तर, देउवा खेमामा रहेका सहमहामन्त्री पूर्णबहादुर खड्काले स्वाभाविक रुपमा महामन्त्रीको उम्मेदवारी आफूले पाउनु पर्ने दाबी गरिरहेका छन् । सहमहामन्त्री खड्काले सभापति कोइरालाले दलहरुबीच भएको भद्र सहमति तोडेर प्रधानमन्त्री पदमा पुनः उम्मेदवारी दिएपछि आफ्नो पदबाट राजीनामा गरेका थिए । राजीनामा स्वीकृत भएको छैन, तर उनको राजीनामा प्रकरणलाई आसन्न महाधिवेशनका लागि रणनीतिक कदमका रुपमा पनि लिइन्छ । नेपाली कांग्रेसभित्र प्रभावशाली युवाहरुले यथोचित स्थान पाउन नसकेको उहिल्यैदेखि हो । यससँगै आसन्न महाधिवेशनमा केन्द्रीय सदस्य गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरूङ, गुरू घिमिरे र प्रदीप पौडेलको स्थान कहाँ रहला भन्ने चासो सबैलाई छ । विधान संशोधन भएर सहमहामन्त्री पद थपिएको खण्डमा नेता गगन थापाको चाहना यही पदमा देखिने छ । धनराज गुरूङ, गुरू घिमिरे र प्रदीप पौडेल र विश्वप्रकाश शर्माको हुटहुटी कम्तीमा पनि निर्वाचित केन्द्रीय सदस्य हुनेछ । पाँच वर्षमा एक पटकमात्र हुने महाधिवेशन कांग्रेसका सम्पूर्ण कार्यकर्ताका लागि महापर्व हो । महाधिवेशनको प्रमुख कार्य विगतको समीक्षा, वर्तमान राजनीतिको चुनौती तथा समाधानका बाटो र भविष्यलाई हाँक्न सक्ने सक्षम नेतृत्व चयन गर्नु हुनेछ । यसबेला विगतमा कांग्रेस कहाँनेर चुक्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
१२औँ महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचत भैसकेपछि पार्टी विधिविधान, लोकतान्त्रिक मूल्य मान्यता, मूल्यांकन र न्यायको सिद्धान्तभन्दा पनि सीधै ६० र ४० को भागबन्डाबाट नराम्ररी विभाजित भयो । भागबन्डाको राजनीतिले पार्टीका गतिविधिहरु पूरै गतिहीन बन्न पुगे । पार्टी सभापतिले विभागहरु गठन गरे, तर त्यसमा भाग पुगेन भनी विरोध गरियो र पार्टीका विभागहरु निश्क्रिय बने । संसदीय दलको कार्यसमितिमा पनि भागबन्डा नमिलेर त्यसै थन्किएको छ । ६० र ४० को भागबन्डाका कारण भातृ संस्थाका अधिवेशनहरु विगत आठ वर्षदेखि हुन सकेका छैनन् । संविधानसभाको निर्वाचनमा टिकट बाँड्दा सीधै ६० र ४० को भागबन्डाको आधारमा निर्णय गरियो ।
यतिसम्म कि मन्त्रिपरिषद्बाट मनोनीत गर्ने राष्ट्रिय व्यक्तित्वहरु मा समेत कांग्रेसको तर्फबाट ६० र ४० को भागबन्डा गरेर सिफारिस गरियो । कांग्रेसले पार्टी पद्धति र न्यायसंगत ढंगले भन्दा पनि ६० र ४० को भागबन्डाको आधारमा प्रायः निर्णय गरेको छ । महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा गर्दा हार र जित स्वाभाविक हुन्छ । जित्ने पक्षले सबैलाई मिलाएर लैजानु दायित्व र जिम्मेवारी हुन्छ भने हार्ने पक्षले राम्रो कामको समर्थन र गलत निर्णयको विरोध गर्नु कर्तव्य तथा धर्म हुन्छ । तर, १२औँ महाधिवेशनपछि हाम्रो पार्टीमा पक्ष र विपक्षलाई सहमतिमा ल्याउनु, सही–गलत छुट्याउनुभन्दा पनि पार्टीलाई सीधै ६० र ४० मा भागबन्डा लगाउने काम भयो । यसले एउटै पार्टीमा दुईटा राजनीतिक दल र एउटै पार्टीमा दुईटा नेतृत्व भएजस्तो नयाँ तर खराब परम्परा बस्न गयो । ६० प्रतिशतमा पर्नेहरुले शेरबहादुर देउवालाई चिन्दैनन् र कुनै सरोकार राख्दैनन् । अनि, ४० प्रतिशतमा पर्नेहरुले पार्टी सभापति सुशिल कोइरालासंँग कुनै सम्बन्ध र सम्पर्क गर्दैनन् । ६० र ४० को भागबन्डा भएपछि नेताहरुलाई संयुक्त रुपमा बसेर सही र गलत छुट्याएर कार्यकर्ताको मूल्यांकन गर्न पनि परेन । सिधै दुइटा भाग लगाउने अनि आ–आफ्नो भागको निर्णय स्वयं आफैँ गर्ने परिपाटीले कांग्रेसलाई कमजोरमात्र बनाएन, सिंगो लोकतान्त्रिक पद्धतिको उपहास गरेको छ । एउटा जीवन्त र विशाल पार्टीभित्र फरक मत र विचारहरु हुनु स्वाभाविक हो । लोकतान्त्रिक पार्टीभित्र एजेन्डाको आधारमा विभिन्न समूह हुनुलाई आपत्ति जनाउन सकिन्न । तर, यहाँ विचार र एजेन्डाको कुरा त परै जाओस्, पार्टीभित्र दुईटा गुट होइन कि एउटै पार्टीभित्र दुईटा राजनीतिक दलजस्तो अनौठो परम्परा स्थापित भएको छ ।
स्रोत ः ई चितवन पोष्ट
Post a Comment