साता यता पोखरामा चार महिला फरक फरक परिवेशमा मृत भेटिए । मोरङ घर भएकी ४० वर्षीया सरस्वती लिम्वु माघ १७ गते पोखरा–५ शान्ति नगर चोक प्रगति मार्गमा मृत अवस्थामा फेला परीन् । त्यसको एक दिनपछि मंगलबार पोखरा १५ नयाँ गाउँमा १९ वर्षीय योरुना पुनको शव भेटियो । २६ गते विहान बेगनासमा लेखनाथ १२ की खिम माया पुन मृत फेला परिन् । त्यसैगरी बुधबार विहान पोखराकै सेती नदिको खोँचमा अर्की महिला मृत भेटिइन् । साता यताका यी महिलाका घटना संयोग हुन सक्लान् तर प्रश्न बग्रेल्ती छन् । ती मध्ये निकै चर्चामा रह्यो योरुना हत्याकाण्ड । कामबाट घर जाने क्रममा धर्म दाइ भनिएका सतिशले घरनजिकै लगरे यौन प्रस्ताव राख्दा अस्वीकारेका कारण उनको हत्या गरिएको बयान प्रहरीले सार्वजनिक गरेको छ । बाँकि तीन कसैबाट मारिएका हुन् वा होइन भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । एक होनहार युवा जसका बुबा उनी चार वर्ष हुँदा वितेका थिए । एकल आमाको संरक्षणमा हुँर्कदै आएका उनी २१ वर्षको उमेरमा स्वरोजगार बनिसकेका थिएँ । जीन्दगीको सुखद भविष्य त्यही छोराको आँखामा हेर्दै आफ्नो जीवन समर्पित गरेकी ती आमाको छोराको कुकृत्यका कारण आफ्नो आत्मसम्मान गुमाएर निरिह हुन बाध्य भएकी छिन् । एक अपराधको असर उ स्वयंलाई मात्रै होइन उसका आफन्तलाई समेत प्रत्यक्ष पर्दछ । अपराधी मानसिकताको सुसूप्त पाटो कतिबेला कहाँ सक्रिय हुन्छ र भयंकर रुप लिन्छ भन्न सकिदैन । अझ डरलाग्दो अवस्था यहाँनेर छ, आवरणमा सभ्य, भलाद्मी, निर्दोष देखिने चेहरा भित्र लुकेको अपराध भुसको आगो झै सल्किएको छ । बाहिर सालिन र सौम्य देखिनेहरु अनुसन्धानको घेराबाट पटक–पटक बच्ने गरेका छन् तर त्यस भित्रको अपराधिक मानसिकताको बैज्ञानिक जाँच अझै हुन सकिरहेको छैन । आवरण हेरेर बनाइने धारणाले उसको व्यवहार र चालचलनको पक्षमा दृष्टि गुमाइरहेको देखिन्छ । पछिल्लो क्रममा देशको अवस्था र समाचारको अपडेटलाई हेर्ने हो भने अपराधका घटनाहरु ह्वात्तै बढेका छन् । समाज असुरक्षित बनिरहेको छ । विभिन्न आयामबाट अपराधका घटना बढिरहेको छ । तथ्यांकमा सिमित हाम्रो मानसिकताले यस भित्र मौलाइरहेको अपराधिक मानसिकताको खोजी गर्न नसक्दा घटना हेर्नु सुन्नु र जिब्रो टोक्दै बस्नु नियति बनेको छ । हत्या, बलात्कारबाहेक चोरी डकैती, दुव्यर्सनी, अपहरण लगायतका विभिन्न घटनाहरु पनि हामीले दिनहुँ जसो देख्ने, सुन्ने, पढ्दै आएका छौ । जघन्य बाहेक कतिपय घटनाले त अब हाम्रो संवेदनालाई छुन छाडेको छ । हामी सामान्य रुपमा लिन अभ्यस्त भइसकेका छांै । समाजमा यसरी अपराधहरू बढिरहेका छन् कि, अति सामान्य भन्दा सामान्य घटनाबाट यसको विजारोपण भएर अन्ततस् भयंकर रूप लिदै मौलाइरहेको छ । समाजमा अपराध बढ्नु कुनै एक कारण मात्रै निहित हुदैन । निराशा, बेचैनी, कुण्ठा, आवेश, प्रतिशोध, अज्ञानता, महत्वाकांक्षा सँगसँगै बेरोजगारीका कारण सृर्जित विविध पक्षले सुषुप्त रुपमा मानिसलाई सृजनशील कम र अपराध उन्मुख बढी बनाइरहेको हुन्छ । सभ्य समाज निर्माणका लागि ज्ञान, सिप, नैतिक मूल्य, मान्यतासहितको व्यवहारिक शिक्षाको अभावले पनि अपराधको श्रृखंला बढिरहेको छ । देशको फितलो कानुन र राजनीतिक संरक्षणको आडमा देशका होनहार युवाशक्ति अपराधिक क्रियाकलाप बाट अघि बढिरहेका छन् । यसले देशको आर्थिक सामाजिक तथा बौद्धिक विकासको लागि एउटा प्रश्न खडा गरिदिएको छ । समाज जति विकसित हुँदै गयो, त्यति मानिसका चाहना र आवश्यकताहरू थपिनु स्वभाविक हो । यद्यपि मानिसमा दुख र मेहनतले भन्दा पनि अपराधिक गतिविधिबाट अगाडि बढ्ने मनोकांक्षा बढ्दै गएको देखिन्छ । फलस्वरूप विकाससँगै अपराधले पनि आधुनिक रूप लिन थालेको छ । विज्ञानले भित्राएको प्रविधिको दुरूपयोग गर्दै हत्या, अपहरण गर्ने र करोडौं फिरौती लिएर जीवनलाई मोजमस्तिको धुँवामा उडाउनेहरु नियन्त्रण बाहिर छन् । पृथ्वी नारायण क्याम्पस समाजशास्त्र मानवशास्त्र तथा ग्रामीण विकास विभागीय प्रमुख शान्ति भुषालका अनुसार समाजमा एक वर्गसँग ऐश आराम र विलासी जीवनशैली छ । तर, अर्को वर्ग गरिबबाट अझ गरिब हुँदै गएको छ । यी दुई वर्ग बीच देखिएको असमानताले पनि अपराधलाई प्रश्रय दिइरहेको उनको तर्क छ । मानिसको उग्र स्वभावलाई नियन्त्रण गर्ने दुई कुरा छन् औपचारिक (कानून) र अनौपचारिक (धार्मिक मूल्य मान्यता, नैतिक शिक्षा, संस्कारहरू) नियम । तर, मानिस आफूलाई यीभन्दा माथि राखेर क्रियाकलाप गरिरहेको छ । आफुले आफूलाई केन्द्रविन्दुमा राखेर व्यवहार गर्दै जाँदा अपराधिक मानसिकता बढ्दै गएको छ । ‘तामसी’ प्रवृत्तिको खानपानले पनि मानिसको मानसिकता उग्र बनाइरहेको हुन्छ । मानिसमा हुने ‘इगो’ले पनि अपराधलाई प्रश्रय दिइरहेको भूषाल बताउँछिन् । अर्को पाटो समाज अपराध उन्मुख हुनुमा कामप्रति सम्मान नहुनु पनि हो भन्छन्–बालमनोविश्लेषक धुव्रराज खनाल । उनका अनुसार समाजले पनि काम गर्ने व्यक्ति दुःखी र गरिब भनिदिने र कामको सम्मान नगरिदिँदा लुकिछिपी अपराधिक क्रियाकलापमा युवाहरू लाग्न थालेको बताउँछन । अर्कोतर्फ राजनैतिक दलहरूले राजनीतिक दर्शन, सिद्धान्त, मुल्य र मान्यता विपरीत भूमिगत होस् वा खुला आफ्ना मातहतका कार्यकर्तालाई जबरजस्ती चन्दा असुल्न लगाउने र पारदर्शिता नहुने हुँदा पनि युवाहरू विस्तारै गलत मानसिकताबाट प्रेरित भइरहेको उनको बुझाइ छ । अपराधको स्वरुप बदलिदै गएको बताउँछन् कास्की प्रहरी प्रमुख हरि पाल । ‘समाज जसरी विकसित हुँदै छ, अपराधका घटनाहरू पनि विभिन्न माध्यमबाट बढिरहेका छन् । आज मोबाइल फोन, सामाजिक संजाल लगायतको प्रयोग गरेर अपराधको सांगठनिक संजाल समेत तयार भइरहेको छ । धाकधम्की, त्रासले रातारात मालामाल हुने दुसपना बोकेर कतिपय शिक्षित व्यक्ति समेत अपराधमा संलग्न हुन थालेका देखिन्छ,’ उनी भन्छन् । कानूनी ज्ञानको अभाव, साथी संगतिको प्रभाव र मादक पदार्थको अत्याधिक सेवनले अपराधिक मनोवृत्ति बढ्दै गैरहेको पालको भनाइ छ । अपराध न्युनिकरण कानूनले मात्रै भन्दा पनि व्यवहारिक आचरणको शुद्धिकरणले हुने हुँदा अपराध रहित समाजको पक्षमा प्रहरी प्रशासन मात्रै होइन समाजका हरेक व्यक्तिको भूमिका महत्वपूर्ण हुने धारणा उनको छ । समाजलाई अपराध मुक्त, विकसित र सु–सभ्य बनाई अगाडि बढाउने हो भने समाजमा हुने हरेक कुरालाई नियालेर अपराधलाई निरुत्साहित गर्ने संयत्र निर्माण गर्न जरुरी छ । अपराध भन्ने कुरा सामाजिक प्रक्रिया भएको र अपराध विनाको समाज नहुने हुँदा यसलाई पूर्ण निराकरण गर्न नसके पनि न्यूनिकरण गर्न सकिन्छ भन्नेतर्फ नागरिक समाज र राज्यको विशेष चासो हुनुपर्ने देखिन्छ ।
(पिस पोखरा डटकमबाट)
Post a Comment