कुलचन्द्र न्यौपाने
सुशील कोइरालाको आफ्नै सपना राजनीति थिएन । बाबु बोधप्रसाद उनलाई सरकारी जागिर खुवाउन चाहन्थे । उनको आफ्नो सपना भने हिरो बन्ने थियो, त्यो पनि हलिउडको । कोइराला परिवारसँग लामो संगत गरेका कांग्रेस नेता पुरुषोत्तम बस्नेतका अनुसार राजा महेन्द्रले ०१७ साल पुस १ गतेको निरंकुश कदम नचालेको भए ‘सुशील दा’ अमेरिका हानिइसक्थे । ‘त्यसका लागि तारतम्य सबै मिलिसकेको थियो,’ बस्नेत थप्छन्, ‘हिरोका लागि अभिनय तालिम लिन भनेर अमेरिका जाने सबै तयारी भइरहेकै बेला राजा महेन्द्रको कदमले रोकियो ।’ हलिउड सपनामा पूर्ण्विराम लागे पनि नेपाली राजनीतिमा भने उनी हिरो बनेका थिए । दोस्रो संविधानको निर्वाचनपछि दुई तिहाई मतका साथ प्रधानमन्त्री निर्वाचित हुँदा अविवाहित कोइरालाको अनुहार खुशीको भन्दा चिन्ताको मात्रा बढी देखिन्थ्यो । पार्टीको आन्तरिक व्यवस्थापन गर्नेदेखि राजनीतिमा जेलिएका मुद्दाहरुलाई ठीक ढंगले सम्बोधन गरी एक बर्ष्भित्र संविधान जारी गर्ने दायित्व लिएर कोइराला सिंहदरबार पुगेका थिए ।अवसर पाएर पनि राजकाजमा अनुभव नलिई सिधै प्रधानमन्त्री बनेका कोइराला सोचेजस्तै सफल भए । सबै राजनीतिक दललाई समन्वय गरेर अन्ततः कोइराला नेतृत्वमै असोज ३ मा संविधान जारी भयो र कोइरालाको उचाई बढ्यो । कांग्रेस उपसभापति रामचन्द्र पौडेलको भनाईमा कोइरालाको छवि प्रजातान्त्रिक आन्दोलन र सघर्षका प्रतिनिधिको रुपमा छ । ‘उहाँ भद्र, सन्त र निष्ठावान नेता हो,’ पौडेलले भने,–‘थोरै बोल्ने, लामो बक्तव्यबाजीमा विश्वास नगर्ने उहाँको पहिल्यैदेखिको बानी हो ।’ कांग्रेस पार्टीमा नै उनले आफ्नो जीवन विताए । निरन्तर पार्टीमा नै सक्रिय भए । समकालीन नेतामा लोभ, मोह नभएका नेतामा उनी पर्छन् । उनको जीवनशैली सामान्य छ । घररसम्पति छैन । पार्टी सभापति हुनुअघि उनी भान्जाको घरमा बस्थे । १२ औं महाधिवेशन बाट सभापति चुनिएपछि उनी भान्जाको डेराबाट महाराजगञ्ज सरे । प्रधानमन्त्री भएपछि बालुवाटार प्रवेश गरे । बालुवाटार छाडेपछि उनी भतिजा संशाक कोइरालाको महाराजगन्ज स्थित निवासमा बस्दै आएका थिए ।सुशील निकट नेता आनन्द ढुंगानाका अनुसार दाजुभाई छुट्टाभिन्न हुँदा पाएको नेपालगंजको ४ विघा सम्पति पनि बिक्री गरेर सकिसकेकाले अहिले उनीसँग सम्पति केही छैन । वीपीको समाजवादी धारणाबाट प्रभावित सुशील २०१० सालतिरै राजनीतिमा थिए । ०१७ साल पुस १ गते प्रजातन्त्रको अपहरणपछि उनी १६ बर्षसम्म भारत प्रवासमा बसे । प्रवासमा बस्दा कांग्रेसको मुखपत्र तरुणको सम्पादन पनि गरे । नेपालमा करिब पाँच बर्षबन्दी जीवन बिताए । २०३० सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको कमाण्डमा भएको विमान अपहरण कान्डमा संलग्न भएका कारण उनी तीन बर्ष भारतमा जेल परेका थिए ।राजनीतिक संघर्षमा उनको ठूलो योगदान छ । तर, नेपाली समाजका बहुआयामिक पक्ष र खुला राजनीतिसँग भने उनी घुलमिल थिएन । त्यसैले ०३६ सालसम्म कांग्रेसको संगठनमा उनको परिचय सामान्य थियो । ०४६ सालको परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद सँगै बालुवाटार प्रवेश गरेपछि नै उनको राजनीतिक हैसियत बढेको हो । गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा उनको सहयोगीको रुपमा सुशील वालुवाटारमा थिए । गिरिजाप्रसादकै आडमा उनले सत्ता र पार्र्टीिभत्र विस्तारै आफ्नो पकड जमाउन थाले । तर, मन्त्री हुने पटक–पटकको अवसर उनले लिएनन् ।आम कार्यकर्ताको गुनासो सुन्ने र अवसर दिने शक्ति केन्द्रको रुपमा उनी उदाएका हुन् । ०४६ सालपछि पार्टीभित्र गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालापछि नेतात्रय भनेर ‘आरएसएस’ अर्थात् रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्यलाई दोस्रो पुस्ताका नेता मानिन्थ्यो । तर, सुशीलले सबैलाई पछि पार्दै पार्टी र सरकारको नेतृत्व लिन सफल भएका थिए । ०४५ सालमा कोइराला पहिलोपटक पार्टीका केन्द्रीय सदस्य बनेका हुन् । उनलाई त्यतिबेला मध्यपश्चिमको पार्टी संगठन हेर्ने जिम्मा दिइएको थियो । सुशिल सँगै शेरबहादुर देउवालाई सुदरपश्चिम, रामचन्द्र पौडेललाई पश्चिमाञ्चल र शैलजा आचार्यलाई पूर्वाञ्चलको जिम्मा दिईएको थियो । आचार्यको यसअघि नै निधन भईसकेको छ ।सुशील ०४६ सालमा पार्टीको परराष्ट्र सम्बन्ध विभागको प्रमुख थिए । ०४८ र ०५६ सालको संसदीय निर्वाचनमा बाँकेबाट विजयी भएका थिए । ०५७ सालमा पार्टी संसदीय दलको नेतामा देउवासँग हारेका कोइरालाले यसपटकको प्रतिस्पर्धामा भने देउवालाई हराए ।सुशील वीपीका भाई पर्छन् । नाताले वीपी, गिरिजाप्रसाद र सुशीलका आमाहरु दिदीबहिनी हुन् । सिन्धुलीको दुम्जाबाट व्यापार गर्न भनी कृष्णप्रसाद (वीपीका बाबु) मोरङ झरेका थिए । त्यहीबेला सुशीलका बुबा रंगेली झरेका थिए । वीराटनगरमा उनीहरुको स्थायी बसाई भयो । डिएफओको जागिर भएपछि बोधप्रसाद नेपालगन्ज गए । उनले त्यही घरबार बसाले । सुशीलका ६ दाजुभाई मध्ये दुई दाई र एक भाई अरुणको निधन भइसकेको छ । एक भाई अशोक विराटनगरमा छन् भने अर्का भाई विजय नेपालगन्जमा छन् । गिरिजाप्रसादपछि कोइराला परिवारकै विरासतको रुपमा सुशीललाई लिइन्छ । आफूपछिको नेतृत्वमा ल्याउन गिरिजाप्रसादले आफ्नै जीवनकालमै उनलाई पार्टीको महामन्त्री, उपसभापति र कार्यबाहक सभापति बनाएका थिए । १२ औं महाधिवेशनबाट उनले पार्टीको नेतृत्व लिए ।पार्टी नेतृत्वमा आएपछि उनका काम गर्ने शैलीलाई लिएर आलोचना पनि भयो । कतिपयले कोटरीमा रमाउने नेता भनेर उनको आलोचना गर्ने गर्दथे । कोइरालालाई सानैदेखि संगत गरेका कांग्रेस केन्द्रीय सदस्य आनन्द यस्तो आलोचना मान्न तयार छैनन् । ‘अहिलेको जस्तो साधानस्रोतको पहूँच नभएकाका कारण त्यस्तो आलोचना हुने गरेको हो,’ केही समयअघि ढुंगानाले भनेका थिए,–‘तर खुला राजनीतिमा नभिजेको भन्ने तर्क गलत हो, सुशीलदाले सबै जिल्ला घुमेर जनताको समस्या बुझ्नु भएको छ । गाडी नपुगेको ठाउँमा कयौं दिन हिँडेर समेत जानु भएको छ ।’लामो समय गिरिजाप्रसाद कोइरालाको संगतमा हुर्के पनि सुशीलमा उनमा रहेको गुण भने नसरेको ढुंगाना स्वीकार्छन् । भन्छन,–‘गिरिजाप्रसादमा कुनै पनि काममा तुरुन्त एक्सन लिने बानी थियो । त्यसका लागि उहांँ रिस्क पनि लिनुहुुन्थ्यो तर सुशिलदामा विस्तारै काम गर्ने बानी थियो, रिस्क लिन सक्नुहुन्थेन ।’कोइरालामा सबैलाई समन्वय गर्ने क्षमता थियो । तत्कालीन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले समेत ल्याउन नसकेको संविधान उनकै पालामा जारी भयो । कांग्रेस नेताहरु यसलाई वीपीसँग तुलाना गर्ने गर्छन् । ‘वीपीले गर्न पूरा गर्न नसकेको सपना सुशीलकै पालामा पूरा भयो । पार्टीलाई पहिलो स्थानमा ल्याउने काम भयो,’ कांग्रेस नेता पौडेल भन्छन्,–‘उहाँका आदत र शैलीले संविधान ल्याउन सफल भयो भन्ने लाग्छ ।’ राजनीतिमा लागेकै कारण कोइरालाले विवाह गर्ने योजना कहिल्यै बनाएनन् । जवान छँदा हतार गरेनन्, पछि राजनीतिक संघर्षका कारण विवाहतिर ध्यान नदिएको उनी आफंै बताउने गर्थे । आफन्तहरुले उनलाई विवाहको दबाव पनि नदिएका होइनन् । तर, उनी सबैलाई एउटै जवाफ दिन्थे,–‘सबैले बिहे गर्दैछन्, मैले बिहे नगरे केही हुन्न ।’
Post a Comment